
बा ! आफैँमा एउटा गर्विलो नाम हो, बा हुनु, बाको छहारीमा जिउनुको मज्जा नै बेग्लै हुन्छ । बा परिवारका आकाश हुन्, बाको उपस्थितिमा छोराछोरीहरू कहिल्यै ठूलो हुँदैनन् । जब बाको छहारी रहन्न तत्पश्चात् उहाँको अभाव महसुस हुन्छ । बा ईश्वरीय अवतार हुन् ।
भनिन्छ, आमा धर्ती हुन्, बा आकाश । आकाश हामी निलै देख्छौँ, हामीलाई चाहिएको बेलामा कहिले पानी पार्छ, कहिले घाम, कहिले झलमल तारा, त कहिले जूनको शीतलता । बालाई मैले पनि देखेको रूप यही हो ।
म तीस वर्षको उमेरसम्म बाकासाथै थिएँ । जब म बुझ्ने भएँ, बाका दुःखसुखका पाटाहरूमा सहभागी भएँ । बाले एउटा आशा र भरोसाका रूपमा मलाई हेर्नु भएको थियो । भाइहरू साना थिए । बा बित्दा दुई भाइको बिहे भएको थिएन, अन्तिम अवस्थामा बाले केही जिम्मेवारीहरू मलाई सुटुक्क सुम्पिनु भएको थियो ।
मलाई लाग्छ मैले पनि बाका ती जिम्मेवारीहरू सुटुक्क पुरा गरेँ । अहिले यो संस्मरण लेखिरहँदा बा बित्नु भएको तेइस वर्ष भएको छ, र पनि बा हाम्रै वरिपरि नै हुनुभएको आभास हुन्छ हामीलाई । बासँगका तीस वर्ष अत्यन्त सफल रहेको मैले पाएको छु । त्यसबेला र अहिलेको समय धेरै परिवर्तन भएको छ, तर बाको सम्मान र मायामा अलिकति पनि कमी भएको छैन । बाका आफ्नै दुःख थिए, हामी सानासाना थियौँ । दुई परिवार हुनुको दुःख बाले राम्ररी बुझे पनि सबैलाई साक्षर तथा आ–आफ्नो व्यवहारमा सक्षम गराउनु भएको थियो ।
अहिले एउटा बच्चा पढाउन हुर्काउन निकै कठिन छ, त्यो बेला एक दर्जन सन्तानको लालन पालन शिक्षादीक्षा तथा बिहे–बर्तमन सबै गर्न बालाई कठिन नै थियो । तर उहाँले ती सबैको व्यवस्थापन राम्रैसँग गर्नुभयो । अहिले हेर्ने हो भने उहाँका सबै सन्तानको निकै राम्रो भएको छ । उहाँ भन्नुहुन्थ्यो, ‘बाबुबाजेको धर्मले सन्तान सुखी रहन्छन् ।’
मान्छेले आफ्नो धर्म छोड्नु हुँदैन, मानव धर्म भन्दा ठूलो अरू केही छैन । उहाँका यी र यस्तै मन छुने वाणीहरूले आज पनि मलाई छुन्छ, अनि उहाँको सत्मार्गमा हिँड्ने प्रयास गर्छु ।
मान्छेहरू अरूका कुरा काटेर बस्छन्, आफू उँचो देखाउनलाई अर्कालाई होच्याउँछन् । यो मामलामा हाम्रो बा फरक हुनुहुन्थ्यो । अरूको कुरा काट्नुभन्दा घाँस काट्यो भने बस्तुभाउले खान पाउँछन्, मान्छे जाबाले होच्याउँदैमा आफू सानो हुने होइन, हामी आफ्नै कर्मले अगाडि बढिरहनु पर्छ भन्ने ज्ञान हामीलाई बाँड्नु हुन्थ्यो । यस्ता धेरै कुराहरू छन्, बासँगका अनुभूतिहरू ती बिस्तारै शब्दमार्फत उतार्नेछु ।
धेरै समयसम्म मैले बाका अनुभूतिलाई लेख्न सकिन, जब लेख्न बस्थेँ गह भरिन्थ्यो, गह भरिएपछि किबोर्डमा औला चल्न सक्दैनथे । मैले सोचे अब लेख्छु बासँगका अमूल्य क्षणका कथाहरू । र, लेखे केही कविता र केही संस्मरण । अहिले अनुभूत हुन्छ मलाई लेख्ने शक्त्ति बाले नै दिइरहनु भएको छ ।
अहिले धरै प्रसङ्ग मध्ये थोरै तर रमाइलो प्रसङ्ग लेखिरहेको छु, बा, फूल र गाँजा । बाको फूल र गाँजाका बारेमा मैले देखेका तथा उहाँको त्यो क्षण सम्झँदा निकै रमाइलो अनुभूति हुन्छ, अहिले पनि । फूल बालाई असाध्यै मन पर्दथ्यो । उहाँले एउटा फूलबारी नै बनाउनु भएको थियो ।
घरै अगाडि त्यहाँ सयपत्रीका विभिन्न जातका हुन्थे । मखमली, घण्टी फूल, पारिजात, चोयाफूल, रातो खुर्सानी फूल, लाहुरी, ढुङ्रीफूल, जाई, चमेली लगायत धेरै प्रजातिका फूलहरू थिए । कहीँ कतै राम्रा फूल देख्योकी त्यो बाले ल्याएकै हुन्थ्यो ।
पूजा गर्नको लागि कहीँ कतै अर्काको बारीमा जानु पर्ने आवश्यक थिएन । आँप, खनिउँ, तिमिला, बडहर, अम्बा, स्याउ, नास्पाती खाएरै नसकिनेगरि फल्थे । फलफूल आफूलेमात्र होइन सबैलाई बाँडेर खानु पर्छ भन्ने उहाँको मान्यता थियो । अहिले त्यो समय सम्झँदा मनै आनन्द हुन्छ ।
उहाँ भन्नुहुन्थ्यो– ‘बाबू, रूखहरू पनि बोल्छन्, उनीहरूलाई हामीले मायाले सुमसुम्यायो भने हामीलाई मिठो फल दिन्छन् ।’ बाका यस्ता सुमधुर वाणीहरू सुनिरहेझैँ लाग्थे । तर त्यो समयमा यस्ता कुरा सुन्ने हाम्रो अस्थिर बालपनले एक कानले सुन्यो अर्को कानले उडायोजस्तै हुन्थ्यो । अहिले मनन गर्दा अर्कै आनन्द आउँछ ।
हाम्रा बाले ढुङ्गा माटोसँग जीवन बिताए, मैले जागिर, व्यापार र शब्दहरूसँग जीवनमा खेल्दै छु । यो समयको खेल नै हो । बाले छोडेर गएका ती खेतबारीहरू आज जस्ताको तस्तै छन्, मात्र मूल्य फेरिएका छन् । अहिले खेती गर्ने फाँटमा घर फलेका छन् । त्यो गाउँ अहिले सहर बनेको छ । पैदलै हिँड्ने ती बाटाहरूमा अहिले मोटर गुड्ने भएका छन् । परिवर्तनको स्वरूप निकै बदलिएको छ । पहिलेको स्कुल अहिले अर्कै भएको छ । गाउँमै अहिले अस्पताल बनेको छ ।
समय जति दौडन्छ त्यति नै आफ्नो स्वरूप परिवर्तन हुने रहेछ । अहिले बा हुनु भएको भए, यो सबै देखेर खुसीले नाच्नु हुन्थ्यो होला । त्यहीँ आकाश म बालाई आकाश भन्ने गर्थेँ, हो त्यहीँ आकाशमा तारा बनेर अहिले यी सब हेरिरहनु भएको होला, भन्ने मलाई लागेको छ । त्यहीँ भएर नै म गाउँको खेतबारी बाँझो राखेर सहरमा गमलामा फूल रोपिरहेको छु, किनकि ती फूलहरूमा बुबाका प्रतिछाया देख्छु । जब फूल फुल्छन्, बुबा हाँस्नु भएझैँ लाग्छ । जब मलाई बाका यादहरू आउँछन्, फूलहरूलाई सुमसुम्याउँछु, फूलको स्पर्शले बाले नै मलाई सुम्सुम्याएझैँ लाग्छ ।
बासँग जोडिएको अर्को सन्दर्भ गाँजाको पनि हो । करेसाबारीमा केही गाँजा र सुर्तीका बोटहरू हुन्थे । तिनलाई बाले निकै नै स्याहार सुसार गरेको मैले देखेको छु । थोरै बोटहरू भएपनि निकै सप्रन्थे गाँजा र सुर्तीका बोट । सुर्तीका पात छिप्पिएपछि सुकाएर राख्ने र अलिअलि चुँडेर भोटोको खल्तीमा राख्नुहुन्थ्यो । तलतल लागेको बेलामा थोरै चुँडेर मुखमा हाल्ने बानी थियो बाको । म भन्थेँ– ‘किन खाएको बा यो सुर्ती ?’ बा भन्नुहुन्थ्यो– ‘यसले पेटको कीरा मार्छ, तँ पनि चाख्छस् ?’ भन्दै सानो टुक्रा दिनुहुन्थ्यो । म ‘हैट ! कस्तो तितो रहेछ’ भनेर थुकिदिन्थे ।
मलाई कहिल्यै कुनै अम्मलको लत भएन । चुरोट, सुर्ती, खैनी, मदिरा र कँकटमा कुनै दिलचस्पी भएन मलाई । तर अरूले खाएकोमा भने मान्छेले किन आफैँलाई खाइरहेजस्तो लाग्थ्यो । शरीरलाई नै क्षीण बनाउने यस्ता अम्मलहरू उपयोग नगरेकै राम्रो भन्ने लाग्छ मलाई त । कुण्डकुण्ड पानी मुण्डमुण्ड बुद्धि भनेझैँ सबैका आ–आफ्ना पीडा हुन्छन्, त्यहीँ पीडा शान्त गर्न पिउने गरेका अम्मलले मान्छेहरूलाई नै पिइरहेको छन्, भन्ने बुझेर पनि बुझ पचाइरहेका देखिन्छन् ।
यहाँ मैलै लामो सन्दर्भ उल्लेख गर्नुको कारण यी सबै भनाई बाकै हुन् । सबै कुरा थाहा पाएर पनि अरूलाई अर्तिबुद्धी दिन मजा हुन्छ भन्नु हुन्थ्यो बा । उहाँको यस सन्दर्भ कसै न कसैलाई राम्रो लाग्ला भन्ने लागेर नै मैले यी प्रसङ्ग उल्लेख गरेको हुँ । मलाई लाग्थ्यो हाम्रा बा कहिल्यै बुढो हुँदैनन्, कहिल्यै मर्दैनन् । तर २०५७ सालको मङ्सिर महिना हाम्रो लागि दुःखद बनेर आयो । त्यो मंसिरले हाम्रो बाको भौतिक शरीरलाई लिएर गयो हामीबाट टाढा कहिल्यै भेट नहुने मार्गमा ।
लाग्छ, जीवन केही होइन रहेछ, आफूले जस्तो कर्म ग¥यो त्यस्तै फल प्राप्त हुने हो । हाम्रो बा कुनै चर्चित व्यक्ति त हुनुहुन्थेन्, तर उहाँका जीवनका पाटाहरू जोड्दै जाने हो भने एउटा बृहत् ग्रन्थ नै तयार हुन्छ । यी प्रसङ्ग त केही बाछिटा मात्र हुन् । हाम्रो समाजमा बलेको आगो ताप्ने परम्परा व्याप्त छ । निभेको आगोलाई बाल्ने कोसिस गर्न खोजेको मात्र हुँ ।
मलाई चासो हुन्थ्यो, बाले यसलाई के गर्नु हुन्छ होला ? गाँजा खाएपछि मान्छे बौलाउँछ भनेर हामीलाई सर्तक बनाउनुहुन्थ्यो । आफै गाँजाका बोट करेसाबारीमा लगाउनु हुन्थ्यो । यो किन होला भनेर मलाई उत्सुकता जागिरहन्थ्यो । जब गाँजा फुलिसकेपछि बाँसका ढुङ्गामा गाँजाका फूलहरूलाई खाँदेर माथिबाट कपडा कोचेर बन्द गर्नुहुन्थ्यो, र, त्यसलाई एकवर्षसम्म जमिनमुनि गाडेर राख्नुहुन्थ्यो । यो के गरेको होला ? झन् मलाई उत्सुकता हुन्थ्यो ?
एकवर्ष पछि निकालेर दलिनमा सिउरेर राख्नुहुन्थ्यो । अनि कोही माग्न आएमा दिई पठाउनुहुन्थ्यो । म ठान्थे त्यो मान्छे अब बौलाउँछ, तर गाँजा लैजाने मान्छे कहिल्यै बौलाएको देखिन मैले । आखिर किन लैजान्छन् त यो गाँजा ? एक दिन मैले बालाई सोधेँ– ‘बा यी बाँसका ढुङ्ग्रामा राखेका गाँजा कहिले काममा आउँछन् ? र, किन जमिनमा गाड्नु भएको ?’ बाले भन्नुभयो– ‘जमिनमा गाडेको गाँजा अत्यन्त कडा हुन्छ, र, यी गाँजा औषधीको रूपमा प्रयोग हुन्छ ।’
‘कुन औषधी बा ?’ बाले जवाफ दिनुभयो– ‘गाईबस्तु बिरामी भएको बेलामा यो खुवायो भने निको हुन्छ । वस्तुलाई नाम्ले परेको रहेछ भने पनि यसले ठिक गर्छ । केही समयको अन्तरालमा थोरै खुवायो भने वस्तुहरू रोगबाट बच्न सक्छन् ।’
ओहो ! यो त जड औषधी पो रहेछ । मैले बालाई पुनः सोधे– ‘मान्छेले खाए भने चाहिँ के हुन्छ नि ?’
‘के हुनु नि, मान्छे बौलाउँछ ।’
‘अनि तपाईँले गाँजा दिएर पठाको मान्छे बौलाएको छैन त ।’
‘ए उसको वस्तुलाई नाम्ले प¥यो भनेर लगेको अनि कसरी ऊ बौलाओस् त ।’
हामी बाल्यकालबाट उकालो चढ्दै गर्दा हाम्रा अनेकौँ जिज्ञासालाई बाले सजिलै समाधान गर्नु हुन्थ्यो । हामी फुरुङ्ग हुनुहुथ्यो । गाईवस्तुको कुरा गर्दा त्यसबेला अठारओटा गाईबस्तु थिए । चरनमा लगेका धेरै अनुभवहरू मेरो मानसपटलमा घुमिरहेका छन् । यो लेखमार्फत दुई प्रसङ्गलाई उजागर गरेको छु । अन्य प्रसङ्गहरू क्रमशः जोड्दै जानेछु ।











