Logo
Logo

जापानबाट चीन फर्केको समय


882
Shares

जापानको पहिलो अविस्मरणीय भ्रमणपछि नेपाल फर्किनुअघि एकपटक चीन फर्किनैपर्ने थियो । चीनमा मेरो पढाई सकिएको भए पनि सरोजको विद्यावारिधिको निम्ति थेसिस डिफेन्स गर्ने अन्तिम काम बाँकी थियो । म जापानमा हुँदा उनी नेपाल फर्केका थिए केही समयको निम्ति ।

घरमा बुवाको आग्रह अनुसार छोरीलाई नेपालमै पढाउनको निम्ति घर पु¥याउन गएका थिए । त्यही मौकामा छ्यालिसको आन्दोलनपछिको नेपालमा नयाँ सम्भावनाको खोजी र आफ्नो सपना अनुसारको एउटा अस्पताल निर्माण गर्न सम्भावित सहकर्मीहरुसँग भेटघाट गर्ने इच्छा पनि थियो । त्यो युवा उमेरमा देशको निम्ति गर्ने धेरै कामहरूको फेहरिस्त बोकेरै नेपाल पुगेका थिए । साथीहरूसँगको भेटघाट पछि अझै धेरै आशावादी भएर चीन फर्केका थिए । थेसिस त प्रोफेसरहरुलाई बुझाइसकेको हुनाले फर्केपछी केही परिमार्जन गरेर प्रस्तुत गर्नु र औपचारिक रुपमा सर्जरीमा डक्टरेटको उपाधि लिनु मात्र बाँकी थियो ।

म जापानमा हुँदा परिस्थिति मिलेको बेला अलि समय बढाएर थोरै काम पनि गरी अलि पैसा बोकेर फर्कने योजनालाई बुढाले पटक्कै मन पराएनन् । उनी अधैर्यपूर्वक मलाई पर्खिरहेको मात्रै होइन, घुक्र्याएरै चिठी लेख्न थालेपछि मैले आफ्नो योजना र इच्छालाई पनि विश्राम दिएर साथीहरूसँग विदा लिएर फर्केकी थिएँ ।

चीनमा फेरि सरोजकै होस्टलमा फर्केँ । जापानको निम्ति नियमित लेख्ने दुईवर्षको योजना पनि सकिसकेको थियो । म एक किसिमले खाली जस्तै भएँ । अरु काम गर्ने स्थिति थिएन । मेरो सीप भनेको पढाउने र लेख्ने मात्र थियो । चीनमा पढाउनलाई मेरो योग्यता पुगेको थिएन । लेख्ने कामले पनि विश्राम लिँदा बानी नै नपरेर मलाई खाली समय त्यत्तिकै बिताउन पनि सजिलो भएन ।

पैसाको अभाव त सधैँ भइरन्थ्यो तर कमाउन सक्ने अवस्था नहुँदा झनै गाह्रै भयो । धन्न अरु देशका मित्रहरूले मेरा केही लेखहरूलाई आफ्नै देशमा लगेर छापिदिएका थिए । मैले आशा गरेको भन्दा राम्रो पैसा पनि पाएकी थिएँ । त्यो बेला एकजना मेरी आमा भन्न सुहाउने उमेरकी नेदरलायण्ड्सकी महिलासँग मेरो राम्रो सम्बन्ध भयो । मारियन नामकी ती महिला असाध्यै सहयोगी थिइन् । मलाई कसरी मद्दत गर्ने भनी सोचि रहेकी रहिछन् । उनका श्रीमान चीनको एउटा हवाइजहाज कारखानामा बिजिनेस पार्टनरका रूपमा काम गर्दा रहेछन् । मारियन चीनियाँ भाषा पढ्न भनेर म पढेकै युनिभर्सिटीमा आउँथिन् – प्राइभेट कारमा ।

उनीसंगको सम्बन्धले नै हो मेरो लेखहरु डच भाषामा युनिसेफमा छापिन थालेको । केही अंक नै लगातार छापिए । उनीप्रति अझै अत्यन्त कृतज्ञ छु । त्यसबेला उनले पनि झण्डै आमासरहकै भूमिका निभाएकी थिइन् मेरो निम्ति । उनीहरु शाङ्हाईमा अत्यन्त विशिष्ट व्यक्तिहरु बस्ने ठाउँमा बस्थे ।

एकदिन सँगै खान भनेर शाङ्हाईको हिल्टन होटलमा बोलाएका थिए हामी बुढाबुढीलाई । उनको श्रीमानको नाम त बिर्सें – तर ज्यादै भद्र मान्छे थिए । हामीसँग एकदमै खुलेर कुरा गरेका थिए । नेपालबारे पनि अनेक प्रश्न गरेका थिए । हामीले पनि खुलेरै कुरा ग¥यौं त्यतिबेला । हाम्रो सम्बन्ध अझै नजिक भयो । मलाई भविष्यमा लेखेरै अगाडि बढ्नु भनेर प्रोत्साहन दिएका थिए ती जोडीले ।

जीवनको विभिन्न मोडमा अनेक मान्छेहरुसँग भेट हुन्छ । आफ्नो रगतसँग वा विचार, संस्कारसँग बिल्कुलै सम्बन्ध नभए पनि ती मध्ये कोही प्रिय भइदिन्छन् ! यति लामो समयपछि पुरानो चीनको संस्मरण लेखिरहँदा यी प्रिय जोडीलाई सम्झिन पुगेकी छु । र मारियनको गुन सम्झेर कृतज्ञता व्यक्त गरिरहेकी छु । तर अहिले प्रत्यक्ष रुपमा कुनै सम्बन्ध छैन ।

अहिले कहाँ के गरिरहेका छन्, अझै जीवितै छन् कि छैनन्, केही थाहा छैन । उनैको मद्दतले मेरो लेखनमा पहिले भन्दा आत्मविश्वास बढेको थियो र एउटा लेखकै दुईसय डलर देखि चारसय डलरसम्म पाएकी थिएँ । त्यसले गर्दा हामीलाई देश फर्किने टिकट खर्च पनि सजिलै पुगेको थियो । दैवले जुराएको मित्र भन्छु म उनलाई । उनले एकपल्ट भनेको कुरा सम्झँदा अहिलेपनि मेरो मन छुन्छ – ‘तिमीहरुले जीवनको सुरुमै धेरै असल काम ग¥यौ समाजको निम्ति । हामी त उत्तरार्धमा पुगिसक्दा पनि तिमीहरुले जति केही काम गर्न सकेका छैनौँ … त्यतिकै बुढो भइएछ जस्तो लाग्छ…।’

त्यतिबेला मलाई प्रेरणा दिन मात्र भनेको होला भन्ने ठानेको थिएँ । अहिले सम्झँदा लाग्छ उनको त्यो अभिव्यक्ति कति सरल र इमान्दार थियो ! उनीप्रतिको आदर भाव त्यसै उर्लेर आउँछ । तर भेट्नलाई उनको कुनै सम्पर्क ठेगाना पनि छैन । उनकै कारणले मेरो लेखहरु उनको देशमा छापियो, त्यो पनि त्यति धेरै पारिश्रमिकमा ! नेदेरलायण्सको पत्रिकामा छापिएको मात्र नभएर एकपल्ट न्यूयोर्कमा भएको बाल सम्मेलनमा समेत त्यो लेखले चर्चा पाएछ । उनीहरुले कपिराइट पनि किनेका थिए । कतै न कतै त्यो लेखको महत्व होला नै ।

हाम्रो चीन बसाईको अन्तिम समयमा सरोजको थेसिसको अन्तिम तयारी हुँदै गर्दा नेपालमा बन्न लागेको नयाँ अस्पताल र जनस्वास्थ्य सरोकार केन्द्रको काम अगाडि बढाउन उनी जापान जानु पर्ने भयो । जापान जान–आउन उनलाई निमन्त्रणा पठाउने र खर्च समेत ब्यहोरिदिने नेपालका असल मित्र कुराउची सान थिए । जापानमा हुँदा म पनि उनको घरसम्म नै पुगेकी थिएँ, भेट्न । हाम्रो पुरानो साथी सुमनले सरोजसँग उनको चिनापर्ची गराइदिएका थिए ।

सरोज जापान जानुपर्ने कुराले मेरो मन पुनः हतास भयो – छोरी उता नेपालमा एक्लै बस्नुपर्ने अवधि बढ्ने भयो भनेर म आत्तिन थालेँ । छोरी पनि आतिदै थिई । सुरुमा हजुरबुवा हजुरआमा फुपुहरुसँग बस्दा नौलो भएर रमाइरहेको खबर सुने पनि मेरो मनमा धैर्य कम भईसकेको थियो । छिटो भन्दा छिटो देश फर्किन मन लागिरहेको थियो । तर सरोजलाई जापान जान दिनै पथ्र्यो । फर्केपछि थेसिसको काम पनि सिध्याउनै पथ्र्यो । धैर्यको विकल्प थिएन । चीनले मलाई धेरै कुरा सिकायो पनि ।

देश फर्केपछि सबैकुरा फेरियो । चीनमा हुँदै म फेरि दुई जिउकी भइसकेकी थिएँ । धेरै कुरामा परिवर्तन भयो । मेरो सपना र इच्छा अनुसार जीवन चलाउन सकिनँ । लेखनमा पनि निरन्तरता दिन सकिनँ ।

यता नेपालमा अन्तरिम सरकार पछि नयाँ चुनाव भयो । कम्युनिष्ट पार्टी अगाडि बढेको खबर पढ्दै थियौं । युवा नेता मदन भण्डारीले कृष्णप्रसाद भट्टराईलाई हराएको कुरा बिबिसिले समाचारसँगै कृष्णप्रसाद भट्टराईसँगको अन्तर्वार्ता पनि सुनेको थिएँ । देशको अवस्था, अन्तर्राष्ट्रिय माहोल, आफ्नै स्वास्थ्य र लेखनवृत्तिको अवस्था … सबै नै संक्रमणमा थिए । जीवन फरक ढङ्गले अगाडि बढ्न थाल्यो … ।

प्रतिक्रिया दिनुहोस्