काठमाडौं । यतिबेला पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालिन सभापति शेरबहादुर देउवा परिवारसहित विदेशमा रहेका छन । उनी नेपाल कहिले आउने हुन भन्ने केही जानकारी छैन । उनी विदेशमा भएका बेला सरकारले उनीहरुमाथि सम्पत्ति शुद्धिकरण अन्र्तगत अनुसन्धान अघि बढाएको छ । साथै, उनको परिवारको सम्पत्ति छानबिन थालेको छ ।

अचल सम्पत्ति प्रायः देउवापत्नी आरजु राणा र छोरा जयवीर सिंह देउवाको नाममा रहेकाले उनीहरू पनि छानबिनको दायरामा छन् । पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । यस्तो अवस्थामा उनीहरुको परिवारमा रहेको हदभन्दा बढी जग्गा भेटिएको हो ।
गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिइसकेको छ। २१ फागुनको चुनाव अघि १३ फागुनमा उनीहरु स्वास्थ्य उपचार गराउन भन्दै देउवा सिंगापुर गएका थिए । उनीहरु त्यहाँबाट हङकङ तर्फ घुमफीरमा रहेको तस्बिर सामाजिक सञ्जालमा देखिएको थियो । देउवा परिवार कहिले नेपाल फर्कने हुन् भन्ने जानकारी नभएका बेला उनी र उनको परिवारको नाममा रहेको जग्गा खोजबिनमा सरकार लागेको हो ।
सरकारी स्रोतका अनुसार पूर्वप्रधानमन्त्री देउवाको नाममा काठमाडौंमा घरजग्गा छैन । उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा र छोरा जयवीरसिंह देउवाको नाममा देशका विभिन्न स्थानमा जग्गा रहेको पाइएको छ । सरकारी स्रोतले दिएको जनाकारी अनुसार दुई जनाको नाममा देशभर ५८ हजार ७८६.३६ वर्गमिटर अर्थात् ११५ रोपनी ८ आना ३ पैसा ३ दाम रोपनी जग्गा रहेको देखिन्छ ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौंको बूढानीलकण्ठ नगरपालिकास्थित ९६६ वर्गमिटर क्षेत्रफलको जग्गामा बनेको देउवा निवास प्रदर्शनकारीले जलाइदिएका थिए । जलेको घर भत्काउन ठेक्का लागेर काम समेत शुरू भइसकेको थियो । विनोद महर्जन नामक ठेकेदारले त्यहाँको भौतिक संरचना हटाउनको लागि ३७ लाख दिनेगरी ठेक्का लिएका थिए ।
प्रहरी उच्च स्रोतका अनुसार सरकारले उक्त घर भत्काउने कार्यमा रोक लगाउन निर्देशन दिएको छ । सम्पत्ति शुद्धीकरणको छानबिनकै लागि घर भत्काउन रोक लगाइएको हो । तर घर भत्काउन रोक लगाएको विषयमा देउवा परिवारले केही बताएको छैन । त्यो घर विक्री गर्न लागेको हल्लालाई चाहि चिरेको छ । घर जग्गा विक्री गर्न नलागिएको जानकारी दिइएको छ ।
यही क्रममा सरकारी निकायहरुले पूर्व परराष्ट्रमन्त्री आरजु राणाको नाममा विभिन्न ठाउँमा ७ कित्ता जग्गा रहेको पाइएको छ । आरजुको नाममा मात्र २० हजार ३४०.९४ वर्गमिटर अर्थात ३९ रोपनी १५ आना ३ पैसा जग्गा रहेको देखिन्छ ।
२०७४ असोज ६ गते डडेलधुराको खलंगा ६ (ग) को कित्ता नम्बर ७५ को जग्गा उनको नाममा आएको देखिन्छ । डडेल्धुराको २ आना १ पैसा १ दाम (०–२–१–१) अर्थात् ७३.५२ वर्गमिटर जग्गा कायम भएको देखिन्छ ।नारायण दत्त जैशीको नामको कित्ता नम्बर ७५को उक्त जग्गा आरजुको नाममा कायम भएको देखिन्छ ।
त्यसैगरी, २०७४ पुस ३ गते आरजुको नाममा कैलालीको धनगढी नगरपालिकाको १ हजार १० वर्ग मिटर जग्गा पारित भएको देखिन्छ । धनगढी नगरपालिका वडा नम्बर ४ को कित्ता नम्बर १११ को १ हजार १० वर्गमिटर जग्गा शारदा हमालबाट आरजुको नाममा पारित भएको हो ।
त्यसैगरी, मकवानपुरको हेटौँडा नगरपालिकाको ३३८.६३ वर्गमिटर क्षेत्रफलसहितको जग्गा आरजुको नाममा पारित भएको देखिन्छ । २०६० असार २७ गते सनउड डेभलपर्सबाट साविक हेटौँडा नगरपालिकाको वडा नम्बर ८ को कित्ता नम्बर १० हजार ३०० को जग्गा आरजुको नाममा भेटिएको पनि स्रोतले जनाएको छ ।
सोही डेभलपर्सबाट सोही मितिमा साविक हेटौँडा वडा नम्बर ८ कै कित्ता नम्बर १० हजार ३०१ को ३३८.६३ वर्गमिटर क्षेत्रफल जग्गा पनि आरजुको नाममा पास भएको थियो । त्यसैगरी, २०७१ वैशाख १६ गते बर्दियाको ढोडरीको वडा नम्बर ७ को कित्ता नम्बर २०८ को ६ हजार ८३५ वर्गमिटर जग्गा आरजुको नाममा कायम भएको छ ।
गीता शर्माको नाममा रहेको उक्त जग्गा आरजुको नाममा पारित भएको देखिन्छ । त्यसैगरी, साविक ढोडरीकै कित्ता नम्बर १९१ को ३ हजार ३८० वर्गमिटर जग्गा २०५७ मंसिर २९ गते आरजुको नाममा पारित भएको देखिन्छ । त्यसैगरी, २०७६ मंसिर १६ गते पनि साविक ढोडरीकै कित्ता नम्बर ४९१ को ८ हजार ४३८.६ वर्गमिटर क्षेत्रफल सहितको जग्गा आरजुको नाममा कायम गरेको देखिन्छ ।
त्यसैगरी, शेरबहादुर देउवा र आरजुका छोरा जयवीर सिंह देउवाको नाममा विभिन्न कित्तामा ३८ हजार ४४५.४२ वर्गमिटर अर्थात ७५ रोपनी ९ आना १ पैसा १ दाम जग्गा रहेको पाइएको छ । जयवीरको नाममा २०७६ पुस ३ गते काठमाडौंको साविक चपलीको वडा नम्बर ७ को कित्ता नम्बर ४४ को ९६६ वर्गमिटर जग्गा हालसाविक गरेको पाइएको हो ।
त्यसैगरी, २०७७ चैत ४ गते कास्कीको साविक ढिकुरपोखरी वडा नम्बर ९ को कित्ता नम्बर १९१८ को १ हजार ४३ वर्गमिटर जग्गा पारित भएको देखिन्छ । साविक देवका अधिकारी समेत १ जनाको कित्ता नम्बर १९१८ पूरै जयवीरको नाममा पारित भएको देखिन्छ । त्यसैगरी, २०७७ चैत ४ गते नै कास्की ढिकुरपोखरीकै कित्ता नम्बर १ हजार ९१९ को ३ रोपनी अर्थात १ हजार ५२६.२२ वर्गमिटर जग्गा पनि उनको नाममा पारित भएको देखिन्छ । त्यसपछि २०७८ मंसिर १२ गते कास्कीकै ढिकुरपोखरीकै कित्ता नम्बर १ हजार ९२० को ३ रोपनी अर्थात १ हजार ५२६.२२ वर्गमिटर जग्गा जयवीरको नाममा आएको देखिन्छ ।
नारायणप्रसाद अधिकारीसमेत १ जनाको नाममा रहेको अर्को कित्ता नम्बर १ हजार ९२१ को ३ रोपनी जग्गा पनि २०७८ चैत २४ गते जयवीरको नाममा पास भएको थियो । त्यसैगरी, कञ्चनपुरको कृष्णपुरको वडा नम्बर ५ को कित्ता नम्बर ३ हजार ६२० को ४ हजार ६२१ वर्गमिटर क्षेत्रफलसहितको जग्गा उनको नाममा पारित भएको देखिन्छ ।
बलबहादुर देउवा समेत १ जनाको नाममा रहेको उक्त जग्गा २०८१ माघ ८ गते जयवीरको नाममा पारित भएको हो । त्यसैगरी, २०८१ माघ ८ गते कृष्णपुरकै वडा नम्बर ५ को अर्को कित्ता नम्बर ३ हजार ६२२ को २ हजार १५२ वर्गमिटर जग्गा पनि जयवीरको नाममा पारित भएको देखिन्छ ।
त्यसैगरी, २०७५ चैत ६ गते बर्दिया ढोडरीको वडा नम्बर ७ को कित्ता नम्बर २०८ को ६ हजार ८३५ वर्गमिटर क्षेत्रफलको जग्गा जयवीरको नाममा पारित भएको देखिन्छ । सोही मितिमा सोही ठाउँको कित्ता नम्बर ३११ को १८ हजार २४९.४४ वर्गमिटर जग्गा पनि जयवीरको नाममा पारित भएको देखिन्छ ।
यसरी आमा छोराको नाममा देशका विभिन्न भागमा जग्गा रहेको र त्यो जग्गा एकाघर परिवारको भएकाले हदबन्दीभन्दा माथि भएको सरकारी अधिकारीहरुको दावी छ ।
सरकारी जग्गाको विवरण संकलन
गृह मन्त्रालयले मुलुकभर अतिक्रमित तथा कानून विपरीत भोगचलन भइरहेका सरकारी, सार्वजनिक जग्गाको विवरण माग गरेको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई सरकारी, सार्वजनिक जग्गा अतिक्रमण, कब्जा र कानून विपरीत भोगचलन गर्नेमाथि कारबाहीको प्रक्रिया अघि बढाउने प्रयोजनको निम्ति विवरण पठाउन निर्देशन दिएको छ ।
पछिल्लो समय सरकारी, सार्वजनिक वा निश्चित प्रयोजनका लागि उपभोग गर्न दिइएका जग्गा गैरकानूनी वा अनाधिकृत रुपमा दर्ता वा दाखिल खारेज गरी अतिक्रमण, कब्जा एवम् तोकिएको उद्देश्यभन्दा फरक प्रयोजनका लागि प्रयोग भएको देखिएका छन् ।
त्यसरी अतिक्रमित वा कब्जा गरिएका जग्गा फिर्ता ल्याउने, गैरकानूनी रुपमा जग्गा अतिक्रमण वा कब्जा गर्ने व्यक्तिलाई प्रचलित कानूनबमोजिम कारबाही गर्ने कार्यलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको मन्त्रालयको भनाइ छ ।












