Logo
Logo

स्मार्ट टेलिकम प्रकरणमा जोडिएको आरोप प्रमाणित भए राजनीतिबाट सन्यास लिन्छु: सांसद खरेल


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद जगदीश खरेलले स्मार्ट टेलिकमको कथित ३० अर्ब रुपैयाँ ठगी प्रकरणमा आफूलाई जोडिएको आरोप पूर्ण रूपमा भ्रामक र निराधार भएको बताएका छन् । उनले आरोप पुष्टि गर्न खुला चुनौती दिँदै प्रमाणित भए राजनीतिक जीवनबाट सधैंका लागि बिदा लिने घोषणा गरेका छन् ।

The current image has no alternative text. The file name is: jagdish.jpg

सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद खरेलले केही सञ्चारमाध्यममा आफू स्वीट्जरल्याण्ड भागेको लगायतका समाचार प्रकाशित गरिएकोप्रति आपत्ति जनाए । उनले ती समाचारलाई गैरजिम्मेवार, भ्रामक र पत्रकारिताको मर्यादाविपरीत भएको टिप्पणी गरे ।

खरेलले स्मार्ट टेलिकम प्रकरणसँग सम्बन्धित कुनै बैठक, फाइल पारित वा मन्त्रालय तथा सम्बन्धित निकायसँग कुनै प्रकारको संलग्नता नरहेको स्पष्ट पारे । उनले आफ्नो नाम जोडेर प्रकाशित समाचारले व्यक्तिगत प्रतिष्ठा, राजनीतिक जीवन, संसद् र पार्टीको छविमाथि आघात पुगेको बताए ।

उनले भने, “यदि स्मार्ट टेलिकम प्रकरणमा मैले कुनै बैठक गरेको, फाइल पारित गरेको वा सम्बन्धित निकायसँग कुनै समन्वय गरेको प्रमाणित हुन्छ भने म मेरो राजनीतिक जीवनबाट सधैंका लागि बिदा लिन तयार छु।”

साथै उनले आरोप पुष्टि गर्न नसक्ने भए त्यस्ता समाचार प्रकाशित गर्ने सञ्चारमाध्यमले पनि आत्मसमिक्षा गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्