
तत्कालीन एमाले महासचिव मदन भण्डारी र जीवराज आश्रितको निधन भएको दिन गत जेठ ३ गते अर्थात् यही आइतबार ३३ औं मदन आश्रित स्मृति दिवस मनाइएको छ । २०५० साल जेठ ३ गते पार्टी कार्यक्रममा चितवन जाँदैगर्दा दासढुंगामा रहस्यमय जिप दुर्घटना भएर भण्डारीसहित संगठन विभाग प्रमुख आश्रितको निधन भएको थियो ।
नेपालको कम्युनिष्ट आन्दोलनमा भण्डारीले परम्परागत भाष्य परिवर्तन गर्दै जनताको बहुदलीय जनवाद(जबज)को नयाँ आयाम थपेर नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनले विश्व कम्युनिष्ट आन्दोलनले व्यहोरेको क्षतिबाट गम्भीर पाठ सिक्दै नेपालको कम्युनिष्ट आन्दोलनमा लोकतान्त्रिकरण सहित अघि बढ्ने नयाँ राजनीतिक कार्यक्रम प्रतिपादन गरेका थिए । जबजका प्रणेता जननेता भण्डारीले मुलुकको कम्युनिष्ट आन्दोलनलाई शान्तिपूर्ण मार्गमा हिँडाउन योगदान गरेकै उपज एमालेले संसदीय प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था अंगीकार गरेको थियो ।
सन् १९९०को दशकमा पूर्वी युरोपमा समाजवादी व्यवस्थाको पतन र सोभियत संघ विघटनपछि विश्व कम्युनिष्ट आन्दोलन नै संकटमा पुगेको थियो । त्यस बेला परम्परागत मूल्य मान्यता परिष्कृत गर्दै जबजमार्फत नयाँ राजनीतिक कार्यक्रम ल्याएर कम्युनिष्ट आन्दोलनको रक्षा मात्रै होइन, शिखरमै पुर्याउन योगदान गरेका थिए । जसका कारण कम्युनिष्ट पार्टीले दुई तिहाइ मत ल्याएको थियो । उनले भूमिका नखेलेको भए मुलुक कम्युनिष्टमय हुन मुश्किल थियो । यद्यपि, अहिले नेतृत्वको हठका कारण कम्युनिष्ट आन्दोलनले गम्भीर धक्का व्यहोरेको छ ।
त्यतिबेला विश्व कम्युनिष्ट आन्दोलनमा विघटनको पूर्वसंकेत देखा परिसकेकाले भण्डारीले उचित समयमै वस्तुगत र यथार्थपरक तवरले शान्तिपूर्ण प्रतिस्पर्धाको अवधारणा अघि सारेको आज समयक्रममा पुष्टि भइसकेको छ । अहिले नेपालका बहुसंख्यक कम्युनिष्ट पार्टी शान्तिपूर्ण लोकतान्त्रिक व्यवस्थाबाटै समाजवादको यात्रा तय गर्न सम्भव भएको हो ।
यो कुरा भण्डारीले ३५ वर्षअघि नै पहिल्याएर दुरदर्शिता प्रदर्शन गर्दै परम्परागत कम्युनिष्ट मान्यतालाई प्रतिस्थापन गरेर नयाँ बाटोबाट कम्युनिष्ट आन्दोलनलाई अघि बढाएका थिए । तथापि, सोही बाटोबाट अघि बढ्दै गर्दा मुलुकका कम्युनिष्ट पार्टीहरूले पटक पटक पाएको अवसरको सदुपयोग गर्न नसक्दा अहिले फेरि जनताले मतमार्फत दण्डित गर्दै कम्युनिष्ट पार्टीलाई गम्भीर रुपले पराजित गरेका छन् । अहिले उनै जननेता भण्डारीद्वारा प्रतिपादित मार्गदर्शक सिद्धान्त अंगीकार गरेको एमालेमा जवज विरोधी गतिविधले संकटग्रस्त अवस्था निम्तिएको छ । विगतमा जबजको मूल मर्म अनुरुप आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्वमा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्ण शक्ति आफूमा केन्द्रीकरण गर्दै पार्टीभित्र जबज विरोधी निषेधकारी रणनीति तय गर्दा पार्टीमा चरम असन्तुष्टि बढेको छ । दुई कार्यकाल भन्दा बढी पार्टी नेतृत्वमा बस्न नपाउने पूर्ववत विधान खारेज गर्दै ओली तेस्रो कार्यकाल अध्यक्षमा आसिन छन् । यो जबजको मूल मर्म विपरीत आन्तरिक प्रतिस्पर्धीलाई निषेध गर्ने निरकुंशतावादी प्रवृत्ति हो ।
जननेता मदन भण्डारीको मार्गदर्शनलाई उपेक्षा गर्दै अघि बढ्दा एमालेमा ओलीकै कारण संकट निम्तिएको छ । जबज अवमूल्यन गर्ने ओली प्रवृत्तिकै दुष्परिणाम समग्र एमालेले लज्जास्पद पराजय भोग्दै कम्युनिष्ट आन्दोलनले पनि गम्भीर क्षति व्यहोरिरहेको छ । तर, जननेता भण्डारीको दूरदर्शी सैद्धान्तिक अवधारणाको भने नेपाली राजनीतिमा दिनानुदिन महत्व बढ्दै गएको छ।
यसअघि शसस्त्र संघर्षमार्फत सत्ता प्राप्ति गर्ने महत्वकांक्षाले दश वर्षे जनयुद्ध सुरु गरेको माओवादी पनि शान्तिपूर्ण प्रतिस्पर्धा स्वीकार गर्दैै संसदीय राजनीति अंगीकार गरेको छ । अहिले त्यसकै मूल घटकले पूर्व एमालेकै मुख्य पक्ष माधव कुमार नेपाल, वामदेव गौतम समूहसँग एकता गर्दै शान्तिपूर्ण मार्गबाटै नेपाली राजनीतिमा आमूल परिवर्तन गर्ने निष्कर्षसहित एक अर्कामा समाहित भएका छन् ।
यसरी नेपाली वाम राजनीति अहिले भण्डारीकै पथप्रदर्शक सिद्धान्तमै अघि बढेकाले उनको योगदान नेपालको कम्युनिष्ट आन्दोलनमा अविस्मरणीय छ । भण्डारीकै अवधारणा अनुरुप सबै कम्युनिष्ट पार्टीले आफूलाई रुपान्तरित गर्दै अघि बढे जनताको विश्वास पुनः आर्जन गर्न अवश्य सकिन्छ । एउटा चुनावले मात्रै कम्युनिष्ट पार्टीको दीर्घकालीन भविष्य निर्धारण गर्न सक्दैन । त्यसैले जनतासँग निरन्तर सम्बाद र सहकार्य गर्नुपर्दछ ।
नेपाली समाजमा असमानता र विभेद रहेसम्म कम्युनिष्ट पार्टीको आवश्यकता जनतालाई बोध भइरहन्छ । अहिलेका नेताहरूको क्रियाकलाप जनमुखी नभएर सत्तामुखी भएकै कारण जनताले मतमार्फत सबक सिकाएका मात्रै हुन् । कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ताले जनताको बीचमा विगतका कमी कमजोरी सच्याउने प्रण गर्दै जनतासँग समाहित हुन सके राजनीतिक पुनर्जीवन सम्भव छ ।
जननेता भण्डारीकै जबजको मर्म अनुरुप पार्टीमा प्रतिस्पर्धात्मक वातावरण बनाउँदै नेतृत्वको निषेध र एकाधिकार अन्त्य गर्न सके आम नेता कार्यकर्तादेखि जनतासम्मले अपनत्वबोध कायम गर्ने पार्टी बन्दछ । त्यसका लागि आजको सापेक्षतामा असान्दर्भिक भएका पुराना नेताहरूले मार्ग प्रशस्त गर्दै पार्टी युवा पुस्तामा हस्तान्तरण गरेर अघि बढे मुलुकको कम्युनिष्ट आन्दोलन फेरि बलशाली बन्ने सम्भावना जिवीतै छ ।














