
जब मान्छेले आफ्नै आत्मालाई
सस्तो मूल्यमा बेच्न थाल्छ,
त्यहीँबाट सुरु हुन्छ
नैतिकताको अन्तिम पतन।
देश अझै जिउँदो देखिन्छ,
तर उसको आत्मा
धेरै पहिले मरिसकेको छ।
गल्लीहरूमा भीड छ,
नारा छन्, झण्डा छन्,
तर आँखाभित्र विश्वास बाँकी छैन।
क्रान्तिका गीतहरू अझै गाइन्छन्,
तर ती गीतभित्र
जनताको भविष्य होइन,
सत्ताको सौदाबाजी लुकेको छ।
मुलुकले धेरै आन्दोलन देख्यो
राणाविरोधी संघर्ष,
पञ्चायतविरुद्धको विद्रोह,
जनयुद्ध, जनआन्दोलन,
सडकमा बगेका रगतका खोलाहरू,
आमाका रित्तिएका काखहरू,
युवाका अधुरा सपनाहरू।
तर हरेक क्रान्तिपछि
सिंहासन मात्रै फेरियो,
जनताको भाग्य फेरिएन।
हिजो
त्याग, तपस्या र बलिदानको भाषण गर्नेहरू
आज सत्ताको सिंहासन कुरिरहेछन्।
जनताको घाउमाथि नुनचुक छर्कि रहेछन्।
क्रान्ति अब विचार होइन,
पद प्राप्तिको भ¥याङ बनेको छ।
राजनीति सेवा होइन,
सत्ताको व्यापार भएको छ।
संसद अब
जनताको आवाज बोल्ने ठाउँ होइन,
दलहरूको मोलतोल गर्ने बजार बनेको छ।
जहाँ राष्ट्रभन्दा ठूलो
गुटको स्वार्थ हुन्छ,
जहाँ विचारभन्दा महत्त्वपूर्ण
भागबन्डाको अंकगणित हुन्छ।
विद्यालयहरूमा चेतना हराउँदैछ,
विश्वविद्यालयहरू
विचार जन्माउने थलो होइन,
दलका कार्यकर्ता उत्पादन गर्ने कारखाना भएका छन्।
युवाहरूको आँखाबाट
देश हराइसकेको छ,
अब उनीहरूका सपनामा
विदेशका विमानस्थलहरू मात्रै आउँछन्।
यही चिहानमा आज मलामी छैनन् ,
विचारको एउटा प्रेतआत्मा चिच्याइ रहेछ,
अधुरो क्रान्तिको पीडा बोकेर,
विश्वासघातको मसाल बोकेर,
इतिहाससँग न्याय माग्दै।
त्यो प्रेतले
हरेक रात सोधिरहेको छ
“जनताको रगत किन बेचियो?”
“बलिदानको सपना किन लुटियो?”
“किन हरेक आन्दोलनपछि
सत्ता फेरिन्छ,
तर जनताको दुःख फेरिँदैन?”
इतिहास संधै मौन रहँदैन।
जनताको सहनशीलता
सधैं कायर हुँदैन।
जब भोक विद्रोह बन्छ,
जब अपमान आगो बन्छ,
तब
सिंहदरबारको भन्दा ठूलो आवाज
सडकले निकाल्नेछ।
र त्यो दिन–
नक्कली क्रान्तिकारीहरूको मुखौटा च्यातिनेछ,
सत्ताका तस्करहरूको इतिहास जल्नेछ,
फेरि जनताले आफ्नो भविष्य
आफ्नै हातले लेख्नेछन्।














