
यतिखेर रंगमञ्चमा आफनो भविष्य देख्ने धैरै कलाकारहरू छन् । ती मध्येकी एक हुन् सुजना पाण्डे । थिएटरबाट जीवन देखेकी सुजनाले त्यसलाई नै आफ्नो जीवनकै आधार भएको बताउँछिन् । आफ्नो कलाकारिता जीवनमा रंगमञ्चले नै निखार ल्याएकोमा उनी खुशी छिन् ।
दर्जनांै नाटक गरिसकेकी सुजना पछिल्लो समय फिल्मी दुनियामा प्रवेश गर्दैछिन् । उनको परिचय यतिमा मात्रै सीमित छैन । उनी बेला बेलामा मोडलिङ पनि गर्छिन् । दर्जनांै मोडलिङ गरिसकेकी उनले लामो समयदेखि डान्स स्डुडियो समेत सञ्चालन गरिरहेकी छिन् । सुजनाले ईभेन्टहरू अर्गनाइज पनि गर्ने गर्छिन् । साथै, विभिन्न ईभेन्टहरू पनि उनले होस्ट गर्दैै आईरहेकी छिन् । उनै बहुप्रतिभाशाली कलाकार सुजना पाण्डेसँग रेजिना पाण्डेको जम्काभेटः
तपार्इँको रंगमञ्चको यात्रा कसरी सुरु भयो ?
नाटक, मोडलिङ र कलाकार बन्ने मेरो बाल्यकालदेखिकै रुची पनि हो भन्दा फरक पर्दैन । बाल मष्तिस्कमै नाटक, मोडलिङ र कलाकारिता बन्ने सोच भएकाले नै मलाई यस क्षेत्रमा पुर्यायो । यसैले गर्दा सन् २०१७ मा मैले मिस कलेजमा सहभागी भएर पब्लीक च्वाईस विजेता भएको थिएँ । प्लस टु पछि मैलै व्याचलरमा फिल्म मेकिङ पढेर मण्डला थिएटरमा पनि नाटकको प्रशिक्षण लिएको थिएँ । त्यहीबाट नाटकको यात्रा सुुरु हँुदै मोडलिङ र चलचित्रमा पनि काम गर्ने अवसरहरू आए । यसरी मेरो रहर पूरा हँुदै गएको छ ।
रहरले रोज्नुभएको पेशा रहेछ, काम गर्न कति सहज छ ?
राम्रो छ, सहज पनि भएको छ । यही काममा रमाईरहको छु । कामका अवसरहरू पनि आईरहेका छन् । खाली बस्नु परेको छैन । खुशी छु । यसलाई नै सफलता मान्नुपर्छ ।
आजभोलि थिएटरका कलाकारमा पनि निकै प्रतिस्पर्धा छ नि ?
हो नि, कलाकारहरू बढ्दो छन् । थिएटरमा अभिनय गर्नेको रुची पनि बढ्दो छ । सबै एक से एक हुनुहुन्छ । सबैमा राम्रो काम गर्ने जोस र उसाह छ । साँच्चै भन्ने हो भने प्रतिस्पर्धाले पनि राम्रो गरौं भन्ने हुटहुटी जाग्दोरहेछ ।
अहिले धैरैजसो रंगमञ्चका कलाकारहरू फिल्मतिर आएका छन् नि ?
रंगमञ्चमा आएका कलाकारहरू निखारिएका र माझिएका हुन्छन् । कलालाई बुझेका पात्रमाथि न्याय गर्न सक्ने खुवी भएका कलाकार छन् । अलि ठूलो र फराकिलो ठाउँमा गएर नाम दाम कमाउँदै आफ्नो क्षमता देखाउने होड भएर नै होला ।
तपाईँ पनि यही होडमा लाग्ुनभएको हो ?
हो, थिएटरमा सीमित दशर्कले हेर्नु भन्दा ठूलो पर्दा र सामाजिक सञ्जालमा मेरो काम देखियोस् भन्ने अपेक्षा हुँदोरहेछ । तर यो भनिरहँदा थिएटरलाई माया मारेको भने होइन ।
तपाईँको थिएटरमा यति धैरै लगाव किन ?
जब म मण्डला थिएटरमा नाटकको ट्रेनिङ लिन जाँदा त्यहाँ मैले नाटकमा जीवनकै अनुभूति गर्न पुगे । त्यसले कलाकारितामा जीवन्तता प्रदान गर्यो । नाटकका पात्रहरूमा भिजेर महिनौं दिनसम्म ट्रेनिङ गर्दा साना कुराहरुमा पनि मैले रियल जिन्दगी देखे । सिनेमामा एक्शन–कटको जीवन भन्दा रंगमञ्चले धेरै कुरा मलाई सिकाएको छ ।
तपार्इँ अभिनित पहिलो चलचित्र ‘ए मेरो हजुर–४’ मा तपार्इँको पुरै सिन काटिएको थियो किन ?
हो, त्यतिबेला गायक दुर्गेश थापा र पल शाह प्रकरणले उहाँहरूसँगै जोडिएको मेरो सिन काटियो । धैरै मिहेनत गरेका थियौं । तर विविध कारणबस त्यो काटिएकाले साह्रै दुःख लागेको थियो । एकातिर मिहेनत खेर गयो भने अर्कोतिर समय र लगानी पनि गयो । यसले म लगायत निर्माता र निर्देशकलाई पनि असर पारेको थियो ।
तपाईँ इभेन्ट अर्गनाइजर पनि हुनुहुन्छ, कस्ता इभेन्ट आयोजना गर्नुहुन्छ ?
हो म आफ्नै ब्यूटी इभेन्टहरु गदर्छु । त्योसँगै इभेन्ट होस्ट पनि गर्छु ।
यति धैरै काम गर्न कसरी समय मिलाउनुभएको छ ?
जहाँ ईच्छा, त्यहाँ उपाय भनेझंै सबै कुरा मिलिरहेको छ । काम पनि भइरहेका छन्, मिलाएपछि मिल्दो रहेछ ।
धैरै युवाहरू विदेश पलायन भईरहँदा तपाईँ स्वदेशमै रमाउनुभएको छ, युवालाइै के सन्देश दिन चाहनुहुन्छ ?
सबैको आफ्नो आफ्नो परिस्थिति र बाध्यता हुन्छन् । देशमा रोजगारी र अवसरको कमी छैन म भन्दैन । तर, एक पटक आफ्नो सीप चाहिँ आफ्नै देशमा प्रयोग गरौ भन्न चाहन्छु ।
भविष्यको योजना के छ ?
काम पनि कला क्षेत्र नै भयो पढाई पनि फिल्म मेकिङ नै भएकाले यही क्षेत्रमा केही न केही गर्ने योजना छ । यसबाहेक थप अरु काममा हात हाल्ने योजना पनि बनाएको छु । योसँगै मेकअप आर्टिस्टको पनि ट्रेनिङ लिने मेरो ठूलो रहर छ ।














