
आधा दशकको समयलाई मान्छेको जीवनमा लामो भनेपनि हुन्छ, छोटो भनेपनि । मेरो चीन बसाईको समय जीवनको महत्वपूर्ण कालखण्ड थियो । त्यो बसाई सिद्धिने बेला तिर देश फर्कन मन हतारिरहेको थियो । छोरी, आमा र सबै आफन्तहरुलाई कहिले भेटुँला जस्तो लागिरहेको थियो ।
फर्किनु अघि चीनमा प्राप्त गरेका उपलब्धि, खुसी, दुःख … सबै भोगाइलाई एकपल्ट फर्केर हेर्न मन लाग्यो । बितेका पाँच वर्षमा आफ्नै रूप–रङ्ग, सोच–विचार, प्राथमिकता, जीवन शैली आदि धेरै कुरामा परिवर्तन आइसकेको थियो । चीन जानु अघि र पछिकी ममा धेरै अन्तर आईसकेको आफैलाई थाहा थियो । पहिले गरेको मिहिनेत समाज र देशको निम्ति मात्र पुरै समर्पित थियो, उद्देश्य स्पष्ट थियो, एकोहोरो थियो । आफ्नै भविष्यको बारेमा केही सोच्न भ्याएकै थिएन । त्यो सबलाई पनि फर्केर हेर्न मन लाग्यो ।
शुरुशुरुमा साथीहरूको जमातमा मिस्सिन पुग्दा जुन सम्मान, विश्वास र स्नेह पाएकी थिएँ, त्यसले धेरै उत्साह थपेको थियो । तर त्यसबेलासम्म मैले अनित्यताको सत्य बुझिसकेकी थिइन । पछि गएर कुनैबेला तिनै साथीहरुले समेत आफ्नो सोझोपनको फाइदा उठाइरहेका त छैनन् भन्ने लाग्न पनि थाल्यो । म साथीहरूकै स्कूलमा काम गर्थेँ । त्यहाँ पनि ज्यालादारी मजदुरको रूपमा काम गर्नुपरेको थियो ।
छोरीको बाबु सरोज एक वर्ष अघि नै चीन गइसकेका थिए । बाँदरले बच्चा च्यापेजस्तै म एक्लै बच्चा च्यापेर यताउता हिंड्थेँ । न कहिल्यै सुकिलो लुगा लगाएर हिंड्न पाउँथें, न हामी आमाछोरीको निम्ति आवश्यक खुराक नै पुग्थ्यो । मन पर्ने खाने कुरा किन्न सक्नु त टाढाकै कुरा थियो । बस्न त आमाको घरमा गएर बसेँ त्यो एक वर्ष, तर सजिलो थिएन । म झन् झन् दुब्लाउँदै गएकी थिएँ त्यतिबेला । कहिले कहिले सरोजको घरमा बुवा आमालाई भेट्न जाँदा बुवाले समेत ’कति दुब्लाएकी, घाँटी छिन्न लागिसक्यो’ भनेर स्नेहले भन्नु भएको थियो । चीन जानको निम्ति यताउता दौडधुप आदिले त झन् चीन पुग्ने बेलासम्ममा सारै दुब्लाई सकेकी थिएँ । मानसिक तनाव समेत थपिएपछि त उमेरभन्दा बुढी देखिनु पनि स्वाभाविकै थियो । चीन जानुअघि खिचेको एउटा तस्बिर हेर्दा अहिलेपनि आफैप्रति दया लाग्छ ।
नेपाल हुन्जेल प्रायः सारी नै लगाउँथेँ । हङकङ पुगेपछि बल्ल लुगा फेरेँ । बुढाले चिठीमा “ठाउँ सुहाउँदो कपडा लिएर आउनु“ भनेका थिए । ठाउँ सुहाउदो होस् भनेर केही लुगा किनेकी थिएँ – तर दुब्लाएर फुकीढल भएको त्यो अवस्थामा जे लगाएपनि सुहाए जस्तो लाग्दैनथ्यो ।
हङकङबाट शाङहाइसम्म प्लेनमा जान पैसा थिएन । बच्चालाई लिएर दुईदिन ट्रेनको थर्ड क्लास सिटमा बसेर शाङ्हाई पुगेकी थिएँ । शाङहाई पुगुन्जेल त मेरो रूप रङ्ग बिग्रेर कस्तो पो भइसकेको थियो ! बल्ल चीन पुगेर आफ्नो मान्छे भेट्दा खुसी त अवश्य लाग्यो । तर बस्ने कोठाको अवस्था देख्दा भने सुरुमै दिक्क लाग्यो । मेरो सरोज पनि त्यो बेला कहाँ अहिलेजस्तो थियो र ! अत्यन्त अव्यावहारिक– सानो कोठामा मैला कपडाहरु यताउता छरेको, बुढी आउँदै छ उसैले नै धोओस भनेर राखेको पो हो कि जस्तो पनि लाग्यो । थाहा थियो, उनी मलाई धेरै माया गर्छन् भन्ने कुरा । एकदमै व्यस्त विद्यार्थीको जीवन बाँचिरहेको पनि थाहा थियो । म बच्चा लिएर शाङहाइ पुगेपछि एकजनाको छात्रवृत्तिले तीनजनालाई पु¥याउनु पर्नेभयो । तर आफै त्यसरी थाकेर पुगेको बेला कोठाको त्यो हालत देख्दा भने दिक्क लाग्नु पनि स्वाभाविकै थियो ।
अनेक गरेर मुश्किलले चीन पुग्ने पैसा जुराएकी थिएँ । त्यो बेला मलाई आर्थिक सहयोग गर्ने सबै प्रति अझैसम्म कृतज्ञ छु । शाड्हाइ नै पुगिसकेपछि पनि आर्थिक समस्याले भने त्यो सानो कोठासम्मै जिस्क्याउन आइसकेको थियो ।
तर पनि एउटा ढोका खुले पछि अरु ढोका खुल्दै जान थाले । चीनकै एउटा राम्रो युनिभर्सिटीमा मैले पनि छात्रवृत्ति पाएँ । चीनका असल मान्छेको मन जित्न सक्ने भएँ । छोरी पनि मायालु र ज्ञानी थिई, उसलाई पनि राम्रो स्कूलमा राख्न पाएँ । उसको पढाइको जग पनि राम्रो भयो । पछिसम्म नै ऊ अब्बल विद्यार्थी, असल डाक्टर हुँदै जनस्वास्थ्य अनुसन्धाताका रूपमा कार्यरत छ ।
सरोजकै जीवनमा पनि ठूलै परिवर्तन आयो । कुनै बेला भावुकतामा बगेर आफ्नो चिकित्सकीय ज्ञान र सीपलाई एकातिर थन्क्याएर राजनीतिक कार्यकर्ताको रूपमा अदृश्य भइसकेको मान्छे असल र सक्षम सर्जनको रुपमा फर्कने तयारीमा देख्दा आफैलाई गर्व महशुस भयो । त्यसबेलासम्मको जीवनमा धेरैजसो बिहे भएको दश बर्ष भइसकदा पनि हामी बुढाबुढी छुट्टिएरै बस्नुपर्ने बाध्यता भयो । पढाई सकेपछि भने बल्ल सँगै बस्ने सम्भावना भयो ।
उनकै सोच अनुसारको एउटा अर्को राम्रो अस्पताल पनि देशमा बन्दै छ भन्ने कल्पना गर्दा पनि मनमा एक किसिमको सन्तोष लाग्ने नै भयो । पछि साँच्चै नै त्यो अस्पताल स्थापित भयो । एकजनाको मात्र योगदान भन्न मिल्दैन । असल साथीहरुको पनि साथ, प्रयास र विभिन्न संयोग नमिलेको भए त्यो सम्भव हुने थिएन । अहिले त किर्तिपुरमा पनि अर्को ठुलो अस्पताल छ । एउटा असल कर्मले अरु सुकर्मलाई डो¥याउँदो रहेछ । धेरै विरामीहरुले उपचार पाए । धेरैले काम पाए । कति राम्रो भयो !
मेरै व्यक्तिगत जीवन बारे हेर्दा पनि आधा दशक चीनमा बसेर फर्किने बेलाकी ममा धैरै भिन्नता आइसकेको थियो । अनपेक्षित रूपमा चीन पुगेर एउटा राम्रो युनिभर्सिटीमा पढ्न पाउनु ठुलै कुरा थियो । त्यहीँबाट मैले अनेक देशका असल साथीहरु पाएँ । फेरि लेख्न थालेँ । लेखेका कुरा अरु देशमा पुगे । कति सुन्दर ठाउँहरुको भ्रमण पनि गर्न पाएँ । त्यहाँ बस्दाबस्दै नै मनमा आएको विचार हो आफ्नो देशमा पनि ज्येष्ठ नागरिकको निम्ति केही गरौँ भन्ने । देश फर्केर यो सामाजिक कर्ममा लाग्न पाउनु उतैबाट सिकेको पाठ हो ।
जीवनमा सङ्घर्षको नयाँ सिलसिला शुरु गर्ने आँटपनि थपियो । त्यसैको फलस्वरूप जीवनका अनेक आयाम खुल्दै गए । दुःख त संसारको नियम रहेछ । तर एउटै दुःखको बन्दी भएर बस्नुको सट्टा नयाँ चुनौति स्वीकार गर्ने आँट पलायो । त्यसबेलाको समाजमा आफू जतिसुकै परिवर्तनकामी भएपनि, त्यसबेलाको क्रान्तिकारी भनेपनि, परिवेश र आफ्नै सोचाईमा पनि थुप्रै साँघुरोपन रहेछ । मुख्य त बाहिरी दुनियाको अनुभव भएपछि आफ्नै देशको बारे नयाँ ढंगले सोच्नु पर्छ भन्ने सोचले ठाउँ लियो । हृदय खुला भयो ।
संक्षिप्तमा भन्नु पर्दा जीवनलाई नयाँ ढंगले हेर्ने सक्ने भएँ, जीवनको महत्वपूर्ण अनुभव भयो चीन बसाइ ।














