Logo
Logo

कोलकाताबाट गुडेको कार्गो रेल विराटनगर आइपुग्यो


315
Shares

काठमाडौँ । भारतको कोलकातास्थित हल्दिया बन्दरगाहबाट छुटेको मालवाहक (कार्गो) रेल विराटनगर कस्टम यार्ड आइपुगेको छ। दुई दिनअघि नेपाली उद्योगका सामान बोकेर गुडेको उक्त रेल सोमबार दिउँसो बथनाहा हुँदै विराटनगर आइपुगेको हो।

रेल आइपुग्नुअघि विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) भित्र रहेको कस्टम यार्डमा पूजाआजा गरिएको थियो।

विराटनगरको स्वस्तिक आयल इन्डस्ट्रिजले ‘क्यानोलाग्रेन’ कच्चा पदार्थ आयातका लागि उक्त रेल कार्गो प्रयोग गरेको हो। रेलले ४० फिटका ४० वटा भारतीय कन्टेनरमा सामान ल्याएको छ। सुरक्षा र पारदर्शिताका लागि यी कन्टेनरहरूमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (ईसीटीएस) जडान गरिएको छ।

भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणालीसम्बन्धी व्यवस्थामा संशोधन गर्दै सन् २०२५ नोभेम्बर ४ मा सूचना प्रकाशित गरेको थियो। उक्त संशोधनसँगै भारतका कोलकाता, हल्दिया र विशाखापटनम बन्दरगाहबाट विराटनगरसम्म रेलमार्ग मार्फत कार्गो ढुवानी गर्ने बाटो खुलेको हो।

यसअघि कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले पनि सूचना जारी गर्दै रेलमार्फत ढुवानी गर्न सकिने जानकारी दिएको थियो। सोही व्यवस्थापछि विराटनगरका व्यवसायीले रेलमार्फत सामान मगाउन थालेका हुन्। सोमबार आइपुगेको रेललाई स्वागत गर्न नेपाल र भारतका भन्सार अधिकारीका साथै उद्योगी-व्यवसायीहरू आईसीपी पुगेका थिए।

रेल सेवा सञ्चालनमा आएपछि डिमेरेज शुल्क, कन्टेनर डिटेन्सन र अतिरिक्त ढुवानी खर्च घट्ने उद्योगीहरूले बताएका छन्। उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले भने, “रेलबाट औद्योगिक कच्चा पदार्थ आउन थालेपछि उत्पादन लागत घट्नेछ। हामी यस क्षणको लामो समयदेखि पर्खाइमा थियौँ।”

विराटनगरको बुधनगरस्थित कस्टम यार्डमा धेरैअघि नै रेल्वे स्टेसन तयार भइसकेको थियो। तर, परीक्षणका क्रममा बथनाहाबाट रेल आएयता कुनै पनि व्यावसायिक कार्गो रेल यहाँ आइपुगेको थिएन।

यसअघि कोलकाता बन्दरगाहमा आयोजित एक कार्यक्रममा नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेड (कोनकर) का अधिकारीहरूले संयुक्त रूपमा हरियो झण्डा देखाएर उक्त कार्गो रेलको शुभारम्भ गरेका थिए।

प्रतिक्रिया दिनुहोस्