काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज । केही दिनअघिसम्म यो एउटा सामान्य सीमावर्ती बजारका रूपमा चिनिन्थ्यो । भारतको सीमाबाट डेढ–दुई किलोमिटरको दूरीमा रहेको यो बजारमा दैनिक किनमेल हुन्थ्यो, मानिसहरूबीच भेटघाट हुन्थ्यो । हिन्दु–मुस्लिम समुदाय वर्षौंदेखि सँगै बस्दै आएका थिए । तर अहिले यही कप्तानगञ्ज देशभर चर्चाको केन्द्र बनेको छ । एउटा सामान्य देखिएको विवादले एक जनाको ज्यान लियो, दर्जनौं घाइते भए, घरमा आगजनी भयो, कफ्र्यु लाग्यो, नेपाली सेना परिचालन गर्नुप¥यो, सिंहदरबारमा सर्वदलीय बैठक बस्नुप¥यो । यसको असर सुनसरीबाट जनकपुर, वीरगञ्ज हुँदै काठमाडौंसम्म पुग्यो । तर प्रश्न उठ्छ– के यो केवल डिजे साउन्डको विवाद थियो ? कि त्यो त एउटा बहाना मात्रै थियो ?
घटनाको सुरुवात हेर्दा सबै कुरा सामान्य देखिन्छ । साउनको बोलबम यात्रा थियो । गत आइतबार साँझ शिवभक्तहरू सप्तकोशीको जल लिन जाने तयारीमा थिए । त्यसका लागि डिजे र हर्न स्पिकर बजाइँदै थियो । उखरमैलो गर्मी थियो । त्यसमाथि बत्ती पनि गएको थियो । त्यही बेला अर्को समुदायका केही युवाले ठूलो आवाजले घरपरिवारलाई समस्या भएको भन्दै साउन्ड बन्द गर्न आग्रह गरे ।
यदि यहीँसम्म कुरा सीमित भएको भए, सायद आज देशभर यसको चर्चा हुने थिएन । तर सामान्य भनाभन केही मिनेटमै हात हालाहालमा बदलियो । प्रहरीकै अगाडि दुई पक्षबीच झडप भयो । सुरुमा सामान्य देखिएको विवाद विस्तारै नियन्त्रणबाहिर गयो । प्रहरीमाथि पनि ढुंगामुढा सुरु भयो । त्यसपछि प्रहरीले गोली चलायो । रात सकिँदासम्म २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भइसकेको थियो भने नौ जना सर्वसाधारण गोली लागेर अस्पताल पुगेका थिए ।
यही घटनाले अर्को दिनदेखि सुनसरीलाई अशान्त बनायो । तर यो घटनालाई केवल ‘डिजे बजेकाले मात्रै निम्तिएको थिएन । किनभने स्थानीय जनप्रतिनिधि, प्रशासनसँग नजिक रहेका व्यक्तिहरू र घटनाको पृष्ठभूमि हेर्दा यो तनाव धेरै अघिदेखि जमिरहेको देखिन्छ । स्थानीयका अनुसार केही महिनादेखि धार्मिक प्रतीक, झण्डा र सार्वजनिक स्थानको प्रयोगलाई लिएर दुई समुदायबीच पटक–पटक विवाद हुँदै आएको थियो । मोहरमपछि हटाइने सहमति भएका झण्डा नहटाइएको विषयले असन्तुष्टि बढाएको थियो । यो विवाद वडा, गाउँपालिका र स्थानीय नेतृत्वसम्म पुगेको थियो । सहमति भएपनि विवादको जरो भने उखेलिएन । आइतबार साँझ झडप हुनुअघि पनि यही विषयलाई लिएर फेरि भनाभन भएको बताइन्छ । त्यसैले डिजे साउन्ड त तत्कालको कारण मात्रै बन्यो, वास्तविक तनाव भने पहिल्यैदेखि जमिरहेको थियो ।
अर्को गम्भीर प्रश्न सुरक्षा संयन्त्रमाथि उठेको छ । घटना भएको जिल्ला उच्च सुरक्षा जोखिमयुक्त सीमावर्ती क्षेत्र हो । तर त्यही बेला नेपाल प्रहरीका जिल्ला प्रमुख एसपी केशव थेवे बिदामा थिए । कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी विनोद घिमिरे पनि बिदामा थिए । सशस्त्र प्रहरीका जिल्लास्तरीय कमान्डरको पद दुई सातादेखि रिक्त थियो । अर्थात्, संवेदनशील जिल्लामा तीनवटै सुरक्षा नेतृत्व कमजोर अवस्थामा थियो । यस्तो अवस्थामा एउटा सामान्य विवाद बढ्दै जाँदा कसले नेतृत्व लिने ? कसले तत्काल निर्णय गर्ने ? कसले दुवै समुदायसँग संवाद गर्ने ? यी प्रश्नको जवाफ घटनाले नै दिएको छ ।
झडप नियन्त्रण गर्न प्रहरी पुग्यो । तर स्थिति शान्त पार्नुको सट्टा अवस्था झन् बिग्रियो । प्रत्यक्षदर्शीका अनुसार डिजे साउन्डको विरोध गर्न आएको समूह फर्किन थाले पनि त्यसपछि प्रहरी र अर्को समूहबीच नै विवाद चर्कियो । प्रहरीमाथि ढुंगामुढा भयो । इलाका प्रहरी कार्यालय देवानगञ्जका इन्स्पेक्टर राकेश राईको टाउकोमा चिर्पट प्रहार हुँदा पाँच वटा टाँका लगाउनुपर्ने अवस्था आयो । उनीसहित आठ जना नेपाल प्रहरी र पाँच जना सशस्त्र प्रहरी घाइते भए । त्यसपछि स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले बल प्रयोग गर्ने निर्णय लियो ।
तत्कालीन प्रमुख जिल्ला अधिकारीका अनुसार सुरुमा हवाई फायर गरेर भीड तितरबितर पार्ने प्रयास गरिएको थियो । नेपाल प्रहरीले तीन राउन्ड र सशस्त्र प्रहरीले २२ राउन्ड गरी कुल २५ राउन्ड गोली चलाएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । प्रहरीले हवाई फायर गरेको दाबी गरेको छ । तर गोली लागेका अधिकांश घाइतेको शरीरको कम्मरभन्दा माथिल्लो भागमा चोट देखिएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । मृतकको पेटमा गोली लागेको थियो । यसले प्रश्न उठाएको छ– यदि हवाई फायर थियो भने गोली मानिसको शरीरमा कसरी लाग्यो ? यदि आत्मरक्षाका लागि गोली चलाइएको थियो भने किन यति धेरै राउन्ड फायर गर्नुप¥यो ?
घटनाको अर्को रहस्यमय पक्ष विद्युत् आपूर्ति पनि बन्यो । झडप भइरहेका बेला कप्तानगञ्ज क्षेत्रमा बत्ती गएको थियो र तनाव सुरु भएको झन्डै दुई घण्टापछि मात्रै विद्युत् आएको बताइएको छ । त्यसैले विद्युत् कटौती संयोग मात्रै थियो कि त्यसमा पनि कुनै अर्को कारण थियो भन्ने विषयमा समेत निष्पक्ष छानबिन हुनुपर्ने आवाज उठिरहेको छ । यी प्रश्नको उत्तर अहिले गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले दिनुपर्नेछ । तर प्रहरीमाथि मात्रै दोष थोपरेर पनि यो घटनाको पूर्ण चित्र देखिँदैन ।
किनकि घटनापछि सामाजिक सञ्जालमा फैलिएको अफवाह, उत्तेजक अभिव्यक्ति र गलत सूचनाले तनावलाई अझ धेरै बढायो । सुनसरीमा भएको घटना केही घण्टामै देशका अन्य जिल्लामा फरक–फरक व्याख्यासहित फैलियो । त्यसपछि जनकपुर, वीरगञ्ज र काठमाडौंसम्म प्रदर्शन भए । कतिपय ठाउँमा उत्तेजक नाराबाजी भयो ।
यसले अहिलेको समाजको अर्को ठूलो चुनौती देखाएको छ– सूचना भन्दा अफवाह छिटो फैलिन्छ । यस्तो अवस्थामा प्रशासनले तथ्य सार्वजनिक गर्न ढिलाइ ग¥यो भने त्यसको ठाउँ हल्ला, प्रचार र घृणाले भरिदिन्छ । त्यसको परिणाम कस्तो हुन्छ भन्ने त कप्तानगञ्जकै घटनाले देखाइदिहालेको छ ।
सीमावर्ती क्षेत्र भएकाले कप्तानगञ्जको संवेदनशीलता अझ बढी छ । भारतसँग खुला सीमा भएकाले मानिसको आवतजावत सहज छ । व्यापार, धार्मिक गतिविधि र सांस्कृतिक सम्बन्ध पनि गहिरो छन् । सुरक्षा निकायले पनि यस क्षेत्रलाई पहिलेदेखि नै संवेदनशील क्षेत्र मान्दै आएको थियो । त्यसैले प्रश्न उठ्छ– यदि यो क्षेत्र पहिलेदेखि संवेदनशील थियो भने सुरक्षा तयारी किन पर्याप्त भएन ? किन स्थानीय तह, प्रशासन, प्रहरी र समुदायबीच नियमित संवाद हुन सकेन ? किन विवाद बढ्दै गएको संकेतलाई समयमै गम्भीर रूपमा लिइएन ?
सुरक्षा निकायकै प्रारम्भिक समीक्षाले पनि समन्वयमा कमजोरी भएको संकेत गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र गुप्तचर संयन्त्रबीच सूचना आदानप्रदान तथा जोखिमको पूर्वआकलन प्रभावकारी हुन नसकेको प्रारम्भिक निष्कर्ष सार्वजनिक भएको छ । सानो विवादलाई सुरुमै नियन्त्रण गर्न नसक्दा त्यसले हिंसात्मक रूप लिएको देखिन्छ ।
घटनापछि सरकारले तीव्र प्रशासनिक निर्णय ग¥यो । प्रमुख जिल्ला अधिकारी फिर्ता बोलाइए । प्रहरी प्रमुख सरुवा भए । कोशी प्रदेशका डीआईजी परिवर्तन भए । सशस्त्र प्रहरीका अधिकारी पनि हटाइए । नयाँ नेतृत्व पठाइयो । तर यहाँ अर्को बहस पनि उठेको छ । के सरुवा मात्रै समाधान हो ? यदि प्रणालीगत कमजोरी थियो भने केवल व्यक्ति परिवर्तनले समस्या समाधान हुन्छ ? दोषी जोसुकै होस्, कानुनअनुसार कारबाही हुनुपर्छ । तर हरेक घटनापछि केवल सरुवा गरेर मात्रै प्रणाली सुधारिँदैन । प्रणालीभित्रका कमजोरी सच्याउन नसके यस्ता घटना फेरि दोहोरिन सक्छन् ।
यस घटनाले अर्को महत्वपूर्ण पाठ पनि दिएको छ । नेपाल विविध धर्म, भाषा, संस्कृति र समुदायको साझा देश हो । देवानगञ्ज गाउँपालिकामै करिब १० वटा भाषा बोलिन्छन् । विभिन्न धर्मका मानिस एउटै बजार, एउटै विद्यालय र एउटै समाजमा बस्छन् । यस्तो समाजमा धार्मिक कार्यक्रम, सांस्कृतिक गतिविधि र सार्वजनिक स्थानको प्रयोग गर्दा एकअर्काको संवेदनशीलतालाई सम्मान गर्नु अत्यन्त आवश्यक हुन्छ । त्यस्तै प्रशासन पनि निष्पक्ष, छिटो र विश्वासयोग्य देखिनुपर्छ । एउटा पक्षले राज्य आफूविरुद्ध छ भन्ने महसुस ग¥यो भने तनाव झन् बढ्छ ।
त्यसैले अबको आवश्यकता केवल दोषी खोज्नु मात्रै होइन, भविष्यमा यस्ता घटना दोहोरिन नदिन स्थायी संयन्त्र निर्माण गर्नु हो । स्थानीय तहमा नियमित अन्तरसमुदाय संवाद, धार्मिक अगुवाबीच समन्वय, संवेदनशील क्षेत्रको जोखिम मूल्यांकन, सामाजिक सञ्जालमा फैलिने अफवाहको तत्काल खण्डन र सुरक्षाकर्मीलाई भीड व्यवस्थापनसम्बन्धी आधुनिक तालिम अहिलेको आवश्यकता बनेको छ ।
एउटा कुरा भने सबैले बुझ्नुपर्छ– कुनै पनि अपराधीको धर्म हुँदैन, कुनै पनि समुदाय दोषी हुँदैन । कानुन तोड्ने व्यक्ति मात्रै दोषी हुन्छ । त्यसैले यो घटनालाई धार्मिक वा साम्प्रदायिक चस्माबाट होइन, कानुनी र मानवीय दृष्टिकोणबाट हेर्न सक्नुपर्छ । यदि आक्रोशले विवेकलाई जित्यो भने त्यसको मूल्य पूरै समाजले चुकाउनुपर्छ । कप्तानगञ्जको घटना एउटा जिल्लाको मात्र घटना होइन । यसले हाम्रो समाज, प्रशासन र सुरक्षा संयन्त्रलाई एउटै प्रश्न सोधेको छ– हामी विवाद भएपछि मात्रै जाग्ने हो कि विवाद हुनुअघि नै समाधान खोज्ने हो ?
एउटा डिजे साउन्डले कसैको ज्यान लिनु हुँदैन । एउटा धार्मिक कार्यक्रममा सहभागी भएकै कारण कसैले मृत्यु भोग्नुपर्ने अवस्था आउनु हुँदैन । त्यसैले यो घटनाको निष्पक्ष छानबिन होस् । दोषीमाथि कानुनी कारबाही होस् । पीडित परिवारले न्याय पाऊन् । तर त्यससँगै सबैभन्दा महत्वपूर्ण कुरा यो घटनालाई कुनै धर्म, जाति वा समुदायबीचको विभाजनको आधार बन्न दिनु हुँदैन ।
नेपालको शक्ति विविधतामा छ । वर्षौंदेखि सँगै बसेका समुदायबीच अविश्वासको पर्खाल उठ्यो भने हार सबैको हुन्छ । त्यसैले अहिले सबैभन्दा आवश्यक कुरा संवाद र सद्भाव हो । अफवाह होइन, तथ्यमा विश्वास गरौं । आक्रोश होइन, कानुनी प्रक्रियामा भरोसा गरौं । सबै मिलेर यस्तो वातावरण बनाऔँ, जहाँ कुनै पनि सानो विवाद फेरि कहिल्यै कप्तानगञ्जजस्तो ठूलो दुःखद घटनामा रूपान्तरण नहोस् ।














