काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर ढकालले मानव-वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि विज्ञ टोलीले तयार पारेको प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लैजान माग गरेका छन् ।

सोमवार आयोजित कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सांसद ढकालले वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै यस समस्यालाई सरकारको उच्च प्राथमिकतामा राख्न आग्रह गरेका हुन् । विज्ञ टोलीले बाँदर, बँदेल, हात्ती र नीलगाई लगायतका वन्यजन्तुबाट हुने क्षति र त्यसको समाधानका उपायबारे तयार पारेको विस्तृत प्रतिवेदनलाई ‘ऐतिहासिक’ संज्ञा दिँदै उहाँले यसको शिघ्र कार्यान्वयनमा जोड दिए । सांसद ढकालले प्रतिवेदनमा समेटिएको ‘हेरालो प्रणाली’ लाई प्रभावकारी बनाउन पूर्वप्रहरी वा पूर्व सैनिकहरूलाई परिचालन गर्न सुझाव दिए ।
उनकाअनुसार, पूर्वसुरक्षाकर्मीहरू पहिले नै तालिमप्राप्त हुने भएकाले उनीहरूलाई सङ्गठित रूपमा जिम्मेवारी दिँदा कार्यसम्पादन प्रभावकारी हुनेछ । साथै, वन्यजन्तुको प्रतिकार गर्दा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उनीहरूका लागि आत्मरक्षाका सामग्री (सेफ्टी गियर) को व्यवस्था गर्नुपर्ने उनको माग छ ।
गुल्मीमा हालै वन्यजन्तुको आक्रमणबाट दुई जनाको मृत्यु भएको घटनालाई स्मरण गर्दै उनलेनले भने, ‘मानव र वन्यजन्तुको सहअस्तित्वको चर्चा गरिरहँदा अहिले मानिस नै असुरक्षित हुने अवस्था सिर्जना भएको छ । त्यसैले यो प्रतिवेदनलाई ढिलाइ नगरी भोलि नै सम्बन्धित मन्त्रीलाई बुझाएर बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग समन्वय गर्नुपर्छ ।’ सांसद ढकालले प्रतिवेदनलाई मन्त्रालयमा बुझाएर मात्र नरोकी प्रत्येक पालिका तहसम्म पु¥याउनुपर्ने र आवश्यक बजेटका लागि संसद्का अन्य सदस्यहरूसहित आफूले पनि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।













