
काठमाडौं । रास्वपा सांसद रञ्जु दर्शनाले कक्षा १ देखि १२ सम्म यौनशिक्षा अनिवार्य गर्न माग गरेकी छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले गरिमा चौधरी बलात्कारको घटनामाथि बोल्दै सो माग राखेकी हुन् ।
दर्शनाले आफू एक सांसदसँगै आमाको हैसियतले बोलिरहेको बताएकी थिइन् । गरिमाको परिवारलाई न्याय दिन सरकारले गरेको पहलप्रति उनले आभार व्यक्त गरिन् । साथै दुईवटा विषयमा सदनको ध्यानाकर्षण गराइन् ।
उनले भनिन्, ‘विषय नम्बर एक, पाठ्यक्रमहरुमा, विद्यालयमा कम्प्रेहेन्सिभ सेक्सुआलिटी एजुकेसन कक्षा १ देखि १२ सम्म अनिवार्य गरियोस् । हामी सधैभरि सेक्स एजुकेसन भन्ने बित्तिकै मुख फर्काउँछौँ, त्यो हटाइयोस् ।’
दोस्रो माग राख्दै भनिन्, ‘हाम्रो फरेन्सिक क्यापासिटी कति छ, त्यसलाई वृद्धि गरियोस् । घटनास्थलमा जो प्रहरीहरु पुग्नुहुन्छ, उहाँहरुको क्यापासिटी बिल्डिङमा नेपाल सरकारले काम गरोस् ।’
महिलालाई, छोरीलाई जबसम्म ‘सेक्स अबजेक्ट’ को रुपमा एडभरटाइजमेन्टमा, स्टोरीमा, फिल्ममा दर्शाइन्छ तबसम्म कोही पनि सुरक्षित नरहेको उनले टिप्पणी गरिन् ।













