Logo
Logo

गरिमा हत्या घटनाः आरोपितको भिडिओ खिच्ने प्रहरी हवल्दार पक्राउ


0
Shares

काठमाडौं ।बाराको जितपुरसिमरा उपमहानगरपालिका १ कि तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका आरोपितको भिडिओ खिच्ने प्रहरी हवल्दार पक्राउ परेका छन् ।

हवल्दार कुमार विकलाई नियन्त्रणमा लिएर फौजदारी असुरमा अनुसन्धान अगाडि बढाइएको बाराका एसपी नरेन्द्र कुँवरले बताए । तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका नाबालकलाई प्रादेशिक अस्पताल कलैया लगिएको थियो । यौन हिंसामा परेका बालबालिकालाई राखिने अस्पतालकै कोठामा प्रहरी र अन्यले समेत भिडिओ खिचेको पाइएको छ ।

सोही भिडिओ खिचेका हवल्दार विकलाई पक्राउ गरेर प्रहरीले बालबालिकासम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको हो । कानुनअनुसार, आरोपित बालबालिकाको पहिचान खुलाउन र फोटो भिडिओ सार्वजनिक गर्न मिल्दैन ।

तर ती बालकले घटनाबारे विस्तृतमा बताएका थिए । जुन भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ । यो विषयमा अनुसन्धान गरी आवश्यक कारबाही गर्न निर्देशन दिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले बताए ।

अहिले घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभु ढकालसहितको टोली बारा पुगेको छ । प्रहरीले बालिकाको बलात्कार र हत्यासम्बन्धी घटनामा ८ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

सार्वजनिक भएको भिडिओमा नाम लिएका व्यक्तिलाई पनि सोमबार पक्राउ गरिएको छ । उनी पनि नाबालक रहेको एसपी कुँवरले बताए । अन्य सात जना पनि मुछिएका छन्। उनीहरूको संलग्नताबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्