
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढी प्रभावितको उद्धारमा विदेशी सहयोग लिन भएको ढिलाइबारे प्रस्टीकरण दिएका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकलाई रसुवा बाढीबारे जानकारी गराउँदै प्रधानमन्त्री शाहले ठूलो विपद्का बेला अन्तर्राष्ट्रिय सहयोग नलिने नीति नरहेको बताएका हुन् ।
‘प्रभावित क्षेत्रमा आवश्यकता अनुसार सहयोग लिन सुरूदेखि नै हामीले अन्तर्राष्ट्रिय मुलुकहरूसँग समन्वय गरेकै थियौँ । प्रक्रिया समेत छोटो गराएर हामीले अन्तर्राष्ट्रिय सहयोग लिने प्रयास गरेका थियौँ,’ उनले भने, ‘मित्रराष्ट्र चीन र भारतबाट उहाँहरूले टेक्निसियनहरू पठाउनुभएकै थियो । उहाँहरूले सुरूकै दिनदेखि (पहिलो दिन, दोस्रो दिन) पनि रेकी गरिराख्नुभाको थियो ।’
शाहले लेदो सहितको बाढी भएकाले सुरूआतमै उद्धारकर्ता विदेशबाटै आएको भए पनि उक्त स्थानमा ओर्लन सक्ने अवस्था नरहेको बताए ।
‘त्यहाँ पुग्न सकिन्छ कि सकिँदैन भन्ने कुरा उहाँहरूले रेकी गरिसकेर, अनुगमन गरेर अहिले तत्काल ओर्लिन सक्ने अवस्था छैन, तुरून्तै ओर्लिन सक्दैनौँ, जुन बेला ओर्लिन सकिनेछ त्यतिबेला नै भारतको अथवा चीनको टेक्निसियनहरू, नेपाली टेक्निसियन, आर्मी उहाँहरू चाहिँ पुग्ने अवस्था भएपछि मात्रै पुग्नुभएको हो’, शाहले भने, ‘यो चाहिँ विशेष अवस्था हो ।’
प्रधानमन्त्री शाहले हिलो र लेदोमा एक्साभेटर सुरूआतमै लैजाने अवस्था नरहेको पनि बताए । ‘हिलो–लेदोमा एक्साभेटर मात्रै नभएर आर्मी, सशस्त्र प्रहरीका व्यक्तिहरू पनि अडिने ठाउँ थिएन, त्यही भएर उहाँहरूले सम्भव भएसम्म सुतेर त्यहाँसम्म पुग्ने प्रयास गर्नुभएको थियो,’ उनले भने, ‘एक्साभेटरलाई अडिने ठाउँ, हेलिकप्टरलाई ल्यान्ड हुने ठाउँ भएपछि मात्रै त्यहाँनिर उद्धार कार्यहरू सुरू गरिएको हो ।’














