
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपद्को बेलामा सरकार सामाजिक सञ्जालमै अल्झिएको आरोप लगाएको छ ।
प्रतिनिधिसभा बैठकमा पार्टीको तर्फबाट सम्बोधन गर्दै सांसद भीष्मराज आङ्देम्बेले सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा सामाजिक सञ्जालबाट प्रचार मिलाउन लागेको बताए ।
‘स्थलगत अवलोकन र उद्धारको पर्खाइमा पीडित परिवारका गन्थन सुनेपछि आज यो संसद्मा भन्न बाध्य भएको छु, सरकार सामाजिक सञ्जालमा अल्झियो,’ उनले भने, ‘जोखिम समुदायमा समयमा पुग्न सकेन । सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो । फिल्डमा भन्दा फेसबुकको हल्लामा लाग्यो ।’
उनले बाढी प्रभावित क्षेत्रका विभिन्न जलविद्यत आयोजनाका सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय भएको बताए ।
उनले थपे, ‘मलाई एउटा प्रश्नले घोचिरहेको छ । यदि मन्त्रिपरिषद्का सदस्यहरूकै कोही परिवार वा आफन्तको सदस्य कोही भएको भए, परेको भए मन्त्रीज्यूले प्राविधिक, विज्ञ र साधन खोजेर उद्धारमा जुट्नुहुन्थ्यो कि मन्त्रीले माटो खोस्रेको फोटो, भिडियो वाह मन्त्रीजी भन्न पोस्ट गरिराख्नुहुन्थ्यो ?’














