Logo
Logo

प्रधानमन्त्रीले भने- सुरूङमा फसेकाको उद्धार तत्काल सम्भव छैन


0
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन शाहले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण लेदोले थुनिएका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा तत्काल उद्धार सम्भव नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा भोटेकोशी बाढीबारे सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री बालेनले बाढीले सुरुङ पूर्ण रूपमा थुनिएकाले उद्धारका लागि अनुकूल अवस्था पर्खनुपर्ने बताए ।

उनका अनुसार भोटेकोशी र त्रिशूली क्षेत्रमा थुनिएका सुरुङ पहिरोका कारण नभई बाढीसँगै आएको लेदोले भरिएका छन् । यस्तो प्रकृतिको घटना विश्वमै नयाँ भएकाले तत्काल उद्धार गर्न सक्ने प्रविधि नेपालसँग मात्रै नभई विश्वमै नरहेको उनको भनाइ छ ।

‘हामीसँग ती बाढी पसेर थुनिएका सुरुङबाट तत्कालै उद्धार गर्न सक्ने प्रविधि छैन,’ उनले भने, जतिबेला मौसमले साथ दिन्छ र सुरुङमा पसेको हिलो सुक्ने अवस्था बन्छ, त्यहाँ पस्न र अडिन सक्ने अवस्था हुन्छ, त्यसबेला मात्रै उद्धार सम्भव हुन्छ ।’

उनले यसअघि विश्वका विभिन्न स्थानमा भएका सुरुङ तथा पहिरो उद्धारका घटनासँग अहिलेको अवस्था तुलना गर्न नमिल्ने बताए । उनका अनुसार अन्य देशमा भएका अधिकांश उद्धार पहिरोमा परेकाहरूको उद्धारसँग सम्बन्धित थिए ।

प्रधानमन्त्री शाहले सुरुङको मुखमा ठूलो संख्यामा डोजर तथा अन्य उपकरण परिचालन गर्नसमेत भौगोलिक अवस्थाका कारण सम्भव नरहेको बताए । ‘बाढीले थुनिएका ती सुरुङको मुखमा ८/१० वटा डोजर उतार्ने अवस्था छैन । त्यहाँको भूगोलले पनि त्यो सम्भव छैन,’ उनले भने।

उद्धारका लागि नेपालसँगै चीन, कोरिया र भारतका विज्ञहरू समेत परिचालन गरिएको उनले जानकारी दिए । घरमा बसेर वा घटनास्थलको बाहिरी अवस्था हेरेर उद्धार किन भएन भन्ने प्रश्न उठे पनि सुरुङभित्रको वास्तविक अवस्था फरक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्