
काठमाडौं । नेकपा एमालेले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनाको स्मरण गर्दै लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षाका लागि हिंसा, अराजकता र दण्डहीनताको अन्त्य हुनु पर्ने बताएको छ ।
भदौ २४ गतेको विध्वंसको एक वर्ष पूरा भएको दिन पारेर विज्ञप्ति जारी गर्दै एमालेले घटनालाई राज्यका आधारस्तम्भ, लोकतन्त्रका धरोहर र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डमाथि भएको ‘सर्वाधिक ठूलो आक्रमण र विध्वंस’ भनेको छ ।
गतवर्ष भदौ २३ गतेको प्रदर्शनक्रममा गोली लागेर ज्यान गुमाएका युवा तथा कर्तव्य पालनाका क्रममा मारिएका प्रहरीप्रति एमालेले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
एमालेले उपचाररत घाइतेको पूर्ण स्वास्थ्यलाभको कामना गर्दै विध्वंसपछि पुनर्निर्माणको प्रयासमा रहेका राजनीतिक–सामाजिक व्यक्तित्व तथा व्यवसायीप्रति पुनरुत्थानको शुभेच्छा व्यक्त गरेको छ ।
लोकतन्त्रमा नागरिकले सरकारसमक्ष आफ्ना अपेक्षा, असन्तुष्टि र माग प्रस्तुत गर्नु स्वाभाविक भएको भन्दै एमालेले नेपालको संविधानले नागरिकका वाक् तथा अभिव्यक्ति स्वतन्त्रतासहित शान्तिपूर्ण रूपमा भेला हुने, विरोध गर्ने र लोकतान्त्रिक माध्यमबाट सरकार गठन, पुनर्गठन तथा परिवर्तन गर्ने अधिकार सुनिश्चित गरेको उल्लेख गरेको छ ।















