
काठमाडौं । गत भदौको जेन–जी आन्दोलनमा ज्यान गुमाएका ४५ सहिदका सालिकसहितको ‘जेन–जी सहिद पार्क’ तयार भएको छ । सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)परिसरमा रहेको पार्कमा बुधबार सालिक अनावरण गरिँदै छ ।
गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीले आज सालिक अनावरण गर्ने कार्यक्रम तय भएको हो । पार्क र सालिक निर्माणमा लागि शिक्षा तथा खेलकुद मन्त्रालयले समन्वय र ग्लोबल आइएमई बैंकले आर्थिक सहयोग गरेको थियो ।
आन्दोलनका क्रममा सहिद भएका ४२ जेन–जी युवा र तीन प्रहरीको सालिक पार्कमा राखिएको छ । जेन–जी आन्दोलनको एक वर्ष पुगेको अवसर पारेर मंगलबार नै पार्क उद्घाटन र सालिक अनावरण गर्ने तयारी थियो । तर, गृहमन्त्री गुरुङको व्यस्तताका कारण एक दिन पछि सारिएको हो । सालिक र पार्क निर्माणमा करिब ६० लाख खर्च भएको छ ।















