
काठमाडौं । बाढीपहिरोका कारण आज देशका विभिन्न स्थानमा मुख्य राजमार्ग प्रभावित भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार रसुवामा त्रिशूली मेलुङ–स्याफ्रुबेँसी सडकखण्डको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ । जिल्लाकै मुख्य राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै नुवाकोटको शिवपुरी–७ घट्टेखोला र बेलकोटगढी–१० सिमटार, धादिङको कृष्णभीर र कुमेशीभीर, रोल्पाको परिवर्तन–३ भालुवोर, मुगुको छायाँनाथ रारा–४ ताल्चा, तथा दैलेखको दुल्लु–१ भत्कुको खोलामा पहिरो र बाढीका कारण सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
यसैगरी, काठमाडौँको चन्द्रागिरि–२ विसापानी, धादिङ र चितवन सीमा क्षेत्रको ज्वालामुखोला तथा चालिसे, र सुर्खेतको बराहताल–७ ओइल्सेमा भने सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेका छन ।
यसबीच, काभ्रेको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा बाढीको सम्भावना रहेकाले १० टनसम्मका मालवाहक सवारीसाधनलाई साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म रोक लगाइएको छ भने दिनको समयमा अवस्था हेरेर मात्र सञ्चालन गर्न सकिने प्रहरीले जनाएको छ ।

















