
काठमाडौं । मनाङको तातोपानी क्षेत्रमा थुनिएको मस्र्याङ्दी नदी सोमबार बिहानबाट ओभरफ्लो भएर बग्न थालेको छ । नासोँ गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार नदी थुनिएर बनेको तालबाट आंशिक रुपमा पानी बग्न थालेको हो ।
मनाङ सदरमुकाम चामेबजार नकजिकैको घट्टेखोलामा आएको पहिरोका कारण नदी थुनिएको थियो । नदी थुनिँदा चामे बजार डुवानमा परेको छ । बजार आसपासका मानिस नयाँ भैरवी दल गुल्ममा गएर बसेका छन् ।
बाढी आउने क्रम घटेपछि नेपाली सेनाको ब्यारेक, सामुदायिक भवनलगायतका सार्वजनिक भवन र स्थलमा आश्रय लिएका स्थानीयबासी आज बिहानै आआफ्नो घर तथा गाउँमा भएको क्षतिकाबारे जानकारी लिन थालेका छन् ।
प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले थुनिएको मस्र्याङ्दी नदीको पानीका बहाब क्रमश खुल्दै गएको बताए । उनले स्काभेटर लगेर पानीको बहावलाई सुचारु गर्ने सन्दर्भमा छलफल भइरहेको जानकारी दिए ।
बाढीले लमजुङ र मनाङको सीमा क्षेत्रमा रहेको ताल बजारमा क्षति पुर्याएको छ । मस्र्याङ्दीको नदी तटीय क्षेत्रका बासिन्दालाई अझै सचेत रहन आग्रह गरिएको छ ।
निरन्तरको वर्षाका कारण ठाडो खोला र खट्टे खोलाको बाढीले त्यस क्षेत्रमा कटान गरी घर, पुल, सडकमा क्षति पुर्याएको छ ।














