Logo
Logo

पूर्वप्रधानन्यायाधीश पक्राउ प्रकरणमा नेकपाको आपत्ति


126
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ र रिहाइ प्रकरणले देशमा गैरकानुनी राज्यको अभ्यास भइरहेको आरोप लगाएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक युवराज दुलालले सरकारको पछिल्लो कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका हुन् ।

प्रमुख सचेतक दुलालले पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा पक्राउ गर्ने र बिनाकारण छाड्ने सरकारको कदमले लोकतन्त्रको उपहास गरेको बताए । उनले भने, ‘बिना पक्राउ पुर्जी, बिना कारण मध्यरातमा पक्राउ गर्ने अनि १२ घण्टा नबित्दै छोड्ने ? यो कस्तो कानुनी राज्य हो ? सरकारले कुन स्टन्ट देखाउन खोजेको हो ?’

उनले थप प्रश्न गर्दै भने– ‘यो सरकार कानुनी बाटोमा हिँड्दै छ कि अराजकताको ? गिरफ्तार गर्ने र सुरक्षा थ्रेट छ भन्दै बहाना बनाउने कामले देशको न्याय प्रणालीमाथि गम्भीर प्रश्न उब्जाएको छ ।’ उनले सरकारलाई यस्तो ‘दादागिरी’ र ‘पागलपन’ बन्द गर्न चेतावनी दिए ।

प्राकृतिक विपद्को समयमा सरकारको उपस्थिति फितलो रहेको भन्दै दुलालले दुःख व्यक्त गरे । देशैभर बाढी–पहिरोबाट जनधनको क्षति भएको उल्लेख गर्दै उनले भने, ‘विपद्मा परेका नागरिकलाई राहत दिनुको साटो सरकारको ध्यान अर्कैतिर मोडियो । राहत, उद्धार र अस्थायी व्यवस्थापनको काम तत्काल अगाडि बढाउन सरकारसँग जोडदार माग गर्दछु ।’

प्रमुख सचेतक दुलालले राज्य संयन्त्रको दुरुपयोग गरेर राजनीतिक स्टन्ट देखाउनु भन्दा कानुनी प्रक्रियामा स्पष्ट हुन सरकारलाई आग्रह गरे । ‘मध्यरातमा जोस र दिउँसो होस हराउने सरकारको कार्यशैलीले जनतालाई निराश बनाएको छ । उनले भने, ‘के खाएपछि यस्तो मध्यरातमा जोस र दिउँसो होस हराउँछ, सरकारले यसको जवाफ दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्