
काठमाडौं । मनाङ नार्फाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा आइतबार गएको हिम पहिरोमा परेर हराइरहेकामध्ये थप दुई जनाको शव फेला परेको छ । हिमलुङ क्षेत्रमा उद्धार टोलीले खोजतलासको क्रमममा आज थप दुई जनाको शव फेला पारेको हो ।
आइतबार बिहान हिमलुङ बेसक्याम्पमा हिम पहिरो जाँदा १४ जना बेपत्ता भएका थिए । जसमध्ये २ जना वीरेन्द्र गुरुङ र घनश्याम राईको शव आज भेटिएको नेपाल राष्ट्रिय पर्वतीय गाइड संघले जनाएको छ । यसअघि आइतबारै साँझ भेटिएको छेवी भोटे र पासाङ भोटेको शव हिजै सदरमुकाम ल्याइएको थियो । उनीहरूको शव आज पोस्टमार्टमका लागि काठमाडौँ ल्याइएको छ ।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले दुईवटा टुरिस्ट कम्पनीबाट त्यहाँ वेसक्याम्प निर्माणका लागि गएका २७ जना कामदार हिमपहिरोमा परेको जानकारी दिए । त्यसमध्ये ११ जना हिजै सकुशल सदरमुकाम फर्किएका छन् । बाँकी १२ जनाको अवस्था भने अझै अज्ञात रहेको छ । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले खोज तथा उद्धारको काम निरन्तर जारी राख्ने समेत बताएको छ ।














