
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनअन्तर्गत हुने विभिन्न तहका अधिवेशनका लागि उम्मेदवारको मनोनयन शुल्क निर्धारण गरेको छ । केन्द्रीय निर्वाचन समितिले तयार गरेको निर्वाचन निर्देशिकामा केन्द्रदेखी वडा तहसम्मका विभिन्न कार्यसमितिमा उम्मेदवार बन्ने आकांक्षीका लागि मनोनयन शुल्क तोकिएको छ ।
निर्देशिकामा केन्द्रीय कार्यसमिति सभापतिको निर्वाचनका लागि ३० हजार, केन्द्रीय उपसभापति र महामन्त्रीको निर्वाचनका लागि २५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यस्तै सहमहामन्त्रीका आकांक्षीका लागि २० हजार र केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि १० हजार रुपैयाँ मनोनयन शुल्क तोकिएको छ ।
केन्द्रीय कार्यसमिति चयनका लागि मतदाता मानिने केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूका लागि दुई हजार पाँच सय रुपैयाँ मनोनयन शुल्क निर्धारण गरिएको निर्देशिकामा उल्लेख छ । महाधिवेशन प्रतिनिधिमध्येबाट निर्वाचित हुन केन्द्रीय महासमिति सदस्य पदका आकांक्षीका लागि तीन हजार रुपैयाँ मनोनयन शुल्क तय गरिएको छ ।
यस्तै प्रदेशसभा क्षेत्रीय प्रतिनिधि पदको निर्वाचनका लागि पाँच सय र प्रदेश महाधिवेशन प्रतिनिधि पदको निर्वाचनको लागि एक हजार रुपैयाँ शुल्क राखिएको छ । इतर समूहको महाधिवेशनअन्तर्गत हुने प्रदेश अधिवेशनमा प्रदेश कार्यसमिति सभापतिका लागि १० हजार, उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि ६ हजार र सदस्य पदका लागि तीन हजार रुपैयाँ मनोनयन शुल्क तय गरिएको छ ।
यस्तै जिल्ला सभापतिका लागि पाँच हजार, उपसभापति र सचिवका लागि साढे तीन हजार, सहसचिवका लागि तीन हजार र सदस्यका लागि १५ सय रुपैयाँ शुल्क तोकिएको छ । निर्वाचन समितिले गाउँ–नगर वडा सभापतिका लागि २५०, गाउँपालिका र नगरपालिका सभापतिका लागि क्रमशः एक हजार र दुई हजार तथा उपमहानगर–महानगरपालिका सभापतिका लागि दुई हजार पाँच सय रुपैयाँ मनोनयन शुल्क तोकेको छ ।
त्यसैगरी प्रदेशसभा क्षेत्रीय कार्यसमिति सभापतिका आकांक्षीले दुई हजार पाँच सय र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति सभापतिका आकांक्षीले ती हजार पाँच सय रुपैयाँ मनोनयन शुल्क तिर्नुपर्ने निर्देशिकमा उल्लेख छ ।














