Logo
Logo

आफ्नो र परिवारको सुरक्षा माग गर्दै चोलेन्द्रले दिए निवेदन


378
Shares

काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो र परिवारको शान्ति सुरक्षा माग गर्दै प्रहरीमा निवेदन दिएका छन् । चालेन्द्रका तर्फबाट छोरा सचिन्द्र शमशेर जबराले आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आवश्यक सुरक्षा व्यवस्था गरिदिन माग गर्दै निवेदन दिएका हुन् ।

निवेदनमा देशको पछिल्लो अवस्था तथा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका शान्ति सुरक्षासँग सम्बन्धित विषयका कारण आफू र परिवारको सुरक्षामा गम्भीर चुनौती महसुस भएको उल्लेख छ । जबराले विगतमा राज्यका विभिन्न अंगमा निर्वाह गरेको जिम्मेवारी तथा न्यायपालिकाको प्रमुखका रूपमा सम्पादन गरेका न्यायिक निर्णयका कारण आफूलाई थप असुरक्षा महसुस भएको निवेदनमा उल्लेख गरेका छन्।

आफूले केही विषयबारे पछिल्लो समय प्रहरी कार्यालयबाट जानकारी पाएपछि थप सुरक्षा आवश्यक देखिएको भन्दै उनले सुरक्षा थप गर्न माग गरेका हुन् । निवेदनमा जबराले आफ्नो सम्पूर्ण विवरण राज्यका सुरक्षा निकायलाई जानकारी नै रहेको उल्लेख गर्दै निवास, परिवार तथा जिउज्यानको सुरक्षामा राज्यको सम्पूर्ण ध्यान पुग्नुपर्ने माग गरेका छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी सुशीलसिंह राठौरले जबराको तर्फबाट निवेदन आएको पुष्टि गरे । सुरक्षा थ्रेट देखिएको भन्दै प्रहरीले शनिबार राति जबरालाई निवासबाटै नियन्त्रणमा लिएको थियो । करिब ११ घण्टा प्रहरीकहाँ रहेर उनी आइतबार दिउँसो छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्