Logo
Logo

रास्वपामा ‘अमरेश’ झट्का


6.2k
Shares

काठमाडौं । सत्तारुढ सांसद अमरेशकुमार सिंह अहिले सिंगो प्रतिपक्षको भूमिकामा छन् । सरकारको कडा र खरो आलोचनामा उत्रिएका सिंहको पछि कुन शक्ति लागेको छ भन्ने कुरामा पनि धेरैले शंका गरिरहेका छन् । रास्वपाकै कतिपय समर्थकहरुले पार्टी सभापति लामिछानेकै इसारामा उनले सरकारविरुद्ध आगो ओकलिरहेको आरोप लगाइरहेका छन् ।

सिंहको अहिलेको गतिविधिको सबैभन्दा ठूलो राजनीतिक प्रश्न उठेको छ । उनी पार्टीभित्रै असन्तुष्ट आवाजलाई संगठित गर्न खोजिरहेका छन् वा रास्वपाभन्दा बाहिरसमेत नयाँ राजनीतिक आधार विस्तार गरिरहेका छन ? सिंहले नयाँ शक्ति निर्माणको सम्भावना अस्वीकार गरे पनि विभिन्न दलका प्रभावशाली नेतासँगको भेटघाटले राजनीतिक वृत्तमा त्यससम्बन्धी अनुमान भने बढाएको छ ।

विशेषगरी सत्तारुढ दलको सांसद भएर सरकार र पार्टी नेतृत्वमाथि निरन्तर प्रश्न उठाउनु, त्यसपछि मधेश केन्द्रित लामो पदयात्राको घोषणा गर्नु र यात्राअघि विभिन्न दलका नेतासँग भेटघाट गर्नु सामान्य संगठनात्मक कार्यक्रमभन्दा फरक राजनीतिक गतिविधिका रूपमा हेरिएको छ । सत्ता सञ्चालन गरिरहेको पार्टीभित्रैबाट उठेको यो असन्तुष्ट आवाज मधेशमा कति गहिरोसम्म पुग्छ र त्यसले रास्वपाको आन्तरिक राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न भने अब छठपछिको पदयात्रासँगै परीक्षणमा जानेछ ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्व र सरकारको कार्यशैलीमाथि लगातार प्रश्न उठाइरहेका सांसद डा. अमरेशकुमार सिंहले मधेशलाई केन्द्रमा राखेर राजनीतिक सक्रियता तीव्र पारेका छन् । गत असार २४ गते ‘गोप्य’ रुपमा चीन भ्रमणमा पुगेर आएपछि उनले पार्टीभित्र फरक राख्दै तराई मधेश मिसनमा केन्द्रीत भएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी नेतृत्वको कार्यशैलीमाथि सार्वजनिक रूपमा असन्तुष्टि जनाउँदै आएका सिंहले छठपछि मेची–महाकाली पदयात्रा गर्ने घोषणा गरिसकेका छन् । त्यसको पूर्वतयारीका रूपमा उनी पछिल्ला दिनमा रुपन्देही, कपिलवस्तुलगायतका जिल्लामा पुगेर विभिन्न दलका नेता, सांसद तथा स्थानीय प्रभावशाली व्यक्तिसँग भेटघाट र अन्तरसंवाद गरिरहेका छन् ।

सिंहले भने यो अभियानलाई नयाँ पार्टी वा छुट्टै राजनीतिक शक्ति निर्माणसँग जोड्न अस्वीकार गरेका छन् । उनले आफ्नो उद्देश्य रास्वपालाई संगठनात्मक रूपमा बलियो बनाउनु र जनताको वास्तविक समस्या सुन्नु रहेको बताएपनि सरकारसँगको असन्तुष्टि तिब्र रहेको र त्यसलाई जनस्तरमा लान खोजिरहेको देखिन्छ ।

आफ्नै पार्टी सत्तामा रहेका बेला सरकार र नेतृत्वको आलोचना गर्दै सिंहले देशका विभिन्न क्षेत्रमा रहेका विपक्षी तथा असन्तुष्ट राजनीतिक पात्रसँग गरिरहेको भेटघाटले रास्वपाभित्र नयाँ राजनीतिक समीकरणको संकेत गरेको हो कि भन्ने प्रश्न भने उठेको छ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले नयाँ दिल्लीमा खुसुक्क भारतीय गुप्तचर भेटेको विषयदेखि सरकारका विभिन्न गतिविधिमा सिंहले संसदमै असन्तुष्टि राख्दै आएका छन् । उनको मेची–महाकाली पदयात्रा रास्वपा मिसनमात्रै होइन भन्ने उनका पछिल्लो अभिव्यक्तिले पनि संकेत गरेको छ ।

फागुन २१ को निर्वाचनमा सर्लाही–४ बाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पराजित गरेपछि सिंह रास्वपाभित्र प्रभावशाली मधेशी अनुहारका रूपमा चर्चामा आएका थिए । निर्वाचन परिणामअनुसार सिंहले ३५ हजार ६८८ मत पाएका थिए भने थापाले २२ हजार ८३१ मत पाएका थिए । तर सरकार गठनपछि भने सिंहको अभिव्यक्ति क्रमशः पार्टी नेतृत्व र सरकारप्रति आलोचनात्मक बन्दै गएको छ ।

मधेशमा गरिबी, महँगी, सीमा क्षेत्रमा नागरिकले भोगिरहेको समस्या तथा निर्वाचनअघि गरिएका प्रतिबद्धता र सरकारी ‘डेलिभरी’बीच तालमेल नभएको भन्दै आफूले जनतामा निराशा देखेको सिंहले हालै बताएका छन् । यही पृष्ठभूमिमा उनले मधेशमा लामो पदयात्राको घोषणा गरेका हुन् । पदयात्राको तयारीका क्रममा सिंहले रुपन्देही र कपिलवस्तुमा गरेको भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

कपिलवस्तुमा उनले कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा भारतका पूर्वराजदूत दीपकुमार उपाध्याय, कांग्रेस नेता तथा सांसद अभिषेकप्रताप शाह, नेकपाका नेता बृजेश गुप्ता, दानबहादुर चौधरी, ईश्वरदयाल मिश्र, मिर्जारसिद बेगलगायतसँग भेटघाट गरेका छन् । उपाध्यायले सिंहसँग भेट भएको र प्रस्तावित मधेश पदयात्राकै विषयमा छलफल भएको बताएका छन् ।

रुपन्देहीमा पनि सिंहले रास्वपाका नेता तथा सांसदसँगै अन्य राजनीतिक पृष्ठभूमिका व्यक्तिसँग भेट गरेका छन् । उनले रुपन्देही–५ का सांसद तौफिक खानसँग भेट गर्नुका साथै बुटवलमा आयोजित अन्तरसंवादमा समेत सहभागिता जनाएका थिए ।

एउटै दलको संगठन विस्तारभन्दा बाहिर गएर विभिन्न राजनीतिक दलका प्रभावशाली व्यक्तिसँग भइरहेको यस्तो भेटघाटले सिंहको अभियानको राजनीतिक दायरा कति फराकिलो हुन्छ भन्ने चासो बढाएको छ ।
सिंहको सामाजिक सञ्जालमा सार्वजनिक भएका पछिल्ला गतिविधिमा समर्थक र आलोचक दुवै प्रकारका प्रतिक्रिया देखिएका छन् ।

केही रास्वपा समर्थकले सरकारलाई खबरदारी गर्नु आवश्यक भए पनि त्यसले पार्टी र सरकारलाई कमजोर पार्ने अवस्था आउन नहुने बताएका छन् । केहीले भने सिंहलाई पार्टीको मूलधारसँग समन्वय गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा आएका कतिपय टिप्पणीमा सिंहको गतिविधिलाई व्यक्तिगत राजनीतिक विस्तारसँग जोडेर आलोचना गरिएको छ । तर यस्ता टिप्पणी सामाजिक सञ्जाल प्रयोगकर्ताका व्यक्तिगत धारणा हुन्, तिनलाई स्वतन्त्र तथ्यका रूपमा पुष्टि गरिएको छैन ।

सिंहको राजनीतिक सक्रियतासँगै उनको विगतको भूमिकालाई लिएर केही राजनीतिक व्यक्तिहरूले सार्वजनिक प्रश्नसमेत उठाएका छन् । जनता लोकतान्त्रिक पार्टीका अध्यक्ष अशोक यादवले सिंहको लुम्बिनी तथा सुदूरपश्चिममा बढ्दो सक्रियताको उद्देश्यबारे प्रश्न गरेका छन् । उनले सिंहमाथि विगतमा भारतीय स्वार्थसँग नजिक वा चिनियाँ प्रभावसँग जोडिएको आरोपहरू सार्वजनिक बहसमा पनि ल्याएका छन् । प्रश्न उठेपछि आफ्नो राजनीतिक दृष्टिकोण, राष्ट्रिय स्वार्थप्रतिको प्रतिबद्धता र राजनीतिक निर्णयबारे सिंहले स्पष्ट पार्नुपर्नेमा उनी मौन रहेका छन् ।

यस्ता आरोपको स्वतन्त्र प्रमाण भने सार्वजनिक रूपमा स्थापित भएको देखिँदैन । त्यसैले ती विषयलाई सिंहमाथिको प्रमाणित आरोपका रूपमा होइन, राजनीतिक बहसमा उठेका प्रश्नका रूपमा हेर्नुपर्ने हुन्छ । सिंहले प्रस्तावित पदयात्रालाई भने सत्ता समीकरण बदल्ने अभियानका रूपमा व्याख्या गरेका छैनन् ।

उनका अनुसार यात्राका क्रममा किसान, युवा, महिला, दलित, व्यापारी तथा सीमान्तकृत समुदायसँग प्रत्यक्ष संवाद गरिनेछ । मधेशको गरिबी, रोजगारी, कृषि, सीमा क्षेत्र, व्यापार र विकासका समस्याबारे जनताको धारणा संकलन गर्ने उनको भनाइ छ । उनले छठपछि मेची नदीको किनारबाट यात्रा सुरु गरेर महाकालीसम्म पुग्ने योजना सार्वजनिक गरेका छन् । यात्रालाई सामाजिक एकता र समृद्धिको सन्देशसँग जोड्ने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्