Logo
Logo

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी


315
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि भइरहेका अधिवेशनमार्फत ३५ वर्षमुनिका झण्डै ४४ हजार युवाले पार्टीका विभिन्न पदमा जिम्मेवारी पाउनेछन् ।

The current image has no alternative text. The file name is: Nepali-congress-logo-1024x500-1.jpg

कांग्रेसको विधान मस्यौदा समितिका सदस्यसचिव प्रताप पौडेलले नेपालका कुनै पनि राजनीतिक दलमा एकैपटक यति ठूलो संख्यामा युवाले पदाधिकारी तथा सांगठनिक जिम्मेवारी पाएको इतिहासमै पहिलो पटक भएको दाबी गरेका छन् ।

नयाँ विधानमा हरेक वडाबाट ३५ वर्षमुनिका एक महिलासहित कम्तीमा तीन जना युवालाई क्षेत्रीय प्रतिनिधि निर्वाचित गराउनुपर्ने व्यवस्था गरिएको छ। सो व्यवस्थाअनुसार देशभरका ६ हजार ७४३ वडाबाट कम्तीमा तीन जनाका दरले २० हजार २२९ जना युवा क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन्।

वडामा रहेका क्रियाशील सदस्यको संख्याका आधारमा कम्तीमा तीनजनादेखि बढीमा सातजनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन सक्ने व्यवस्था छ। त्यसअनुसार औसतमा पाँचजना निर्वाचित हुने मान्दा ३३ हजार ७१५ जना ३५ वर्षमुनिका युवा क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएका छन् ।

त्यसैगरी, हरेक गाउँपालिकाको वडाबाट एकजना र नगरपालिकाको वडाबाट दुईजनाका दरले कार्यसमिति सदस्य निर्वाचित हुने व्यवस्था छ। नेपालमा गाउँपालिकातर्फ ३ हजार २१५ वडा र नगरपालिकातर्फ ३ हजार ५२ वडा छन् ।

यसअनुसार गाउँपालिकाका वडाबाट ३ हजार २१५ जना तथा नगरपालिकाका वडाबाट दुई जनाका दरले ६ हजार १०४ जना युवा वडा कार्यसमिति सदस्य निर्वाचित भएका छन् ।

यसरी कुल ३३ हजार ७१५ जना क्षेत्रीय प्रतिनिधि र ९ हजार ३१९ जना वडा कार्यसमिति सदस्य गरी ४३ हजार ३४ जना युवाले पार्टीमा पदाधिकारी तथा सांगठनिक जिम्मेवारी पाएका छन् ।

ती पदमा निर्वाचित हुन कम्तीमा दोब्बर संख्यामा प्रतिस्पर्धी रहेको भन्दै कांग्रेसको अधिवेशनमा झण्डै एक लाख युवाले उम्मेदवारी दिएको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले बताएका छन् ।

निर्वाचित क्षेत्रीय प्रतिनिधिमध्येबाट गाउँपालिका तथा नगरपालिकाको कार्यसमितिमा एक महिलासहित कम्तीमा तीन जना चयन भइसकेका छन्। त्यसैगरी प्रदेश निर्वाचन क्षेत्रको कार्यसमितिमा एक जना, प्रतिनिधिसभा निर्वाचन क्षेत्रको कार्यसमितिमा दुई जना तथा जिल्ला कार्यसमितिमा एक महिलासहित तीन जना युवा निर्वाचित हुँदैछन् ।

क्षेत्रीय प्रतिनिधिमध्येबाट प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा एक महिलासहित तीनजनाका दरले देशभरबाट ४९५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा एक/एक जनाका दरले १६५ जना महासमिति सदस्य चयन हुन लागेको पनि निर्वाचन समितिका सदस्यसचिव कटुवालले जानकारी दिए ।

नयाँ विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित दुई जना प्रदेश प्रतिनिधि हुनेछन् भने सातै प्रदेशमा दुई महिलासहित कम्तीमा पाँच जना प्रदेश कार्यसमिति सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ ।

केन्द्रीय कार्यसमितिमा पनि पहिलोपटक प्रत्येक प्रदेशबाट एक युवा र एक युवतीसहित कुल १४ जना युवा प्रवेश गर्ने भएका छन् । कांग्रेसको संगठनमा युवाको दबदबा ह्वात्तै बढेको विधान मस्यौदा समितिका सदस्यसचिव पौडेलले बताए । कांग्रेस अब पूर्ण रूपमा युवामय पार्टी भइसकेको उनको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्