Logo
Logo

एमालेमा ‘कुमाइको घुमाइ’पछि नयाँ समीकरण


630
Shares

काठमाडौं । नेकपा एमालेभित्र पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा सक्रिय राजनीतिमा फर्किएकी छन् । बिहीबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टी नेतृत्वको दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेतामा मनोनयन गरेसँगै एमालेको आन्तरिक शक्ति समीकरणमा नयाँ बहस सुरु भएको छ ।

पूर्वराष्ट्रपति भण्डारीको पार्टी प्रवेशलाई एमालेभित्र लामो समयदेखि चल्दै आएको नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र संगठन पुनर्गठनको बहससँग जोडेर हेर्न थालिएको छ । विशेषगरी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई निरन्तरता दिने वा नयाँ नेतृत्वको प्रक्रियामा जाने भन्ने विषयमा पार्टीभित्र मतभेद देखिएको बेला भण्डारीको पुनरागमनले समीकरणलाई थप जटिल बनाउने आकलन नेताहरूको छ ।

एमालेका दोस्रो र तेस्रो तहका केही नेताहरूले लामो समयदेखि पार्टी पुनर्गठनको आवश्यकता औँल्याउँदै आएका छन् । उनीहरूले नेतृत्व, संगठन र पार्टी सञ्चालनको शैलीमा परिवर्तन आवश्यक रहेको बताउँदै आएका छन् । यही पृष्ठभूमिमा भण्डारीको पुनरागमनलाई कतिपय नेताले एमालेभित्र वैकल्पिक राजनीतिक केन्द्र निर्माणको सम्भावनासँग जोडेर हेरेका छन् ।

यद्यपि, एमालेभित्र भण्डारीको प्रवेशपछि तत्कालै औपचारिक रूपमा दुई समूह वा दुई लाइन निर्माण भइसकेको अवस्था भने छैन । तर पार्टीभित्र नेतृत्वको भविष्य, पुनर्गठनको स्वरूप र आगामी महाधिवेशनमा शक्ति सन्तुलनका विषयमा नयाँ बहसको आधार बनेको नेताहरू बताउँछन् ।

बदलिएको समीकरण

एमाले अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २६ गते पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न बालुवाटारस्थित उनको निवासमा पुगेका थिए । करिब साढे दुई घण्टा भएको उक्त भेटलाई एमालेभित्रको तत्कालीन राजनीतिक परिस्थितिसँग जोडेर हेरिएको थियो ।

पार्टीभित्र अध्यक्ष ओलीमाथि नेतृत्व हस्तान्तरणको दबाब बढिरहेका बेला भएको उक्त भेटले एमालेको आन्तरिक राजनीतिमा चासो बढाएको थियो । पार्टीका बहुमत पदाधिकारीसमेत नेतृत्व परिवर्तनको विषयमा छलफलमा रहेको अवस्थामा ओलीले भण्डारीसँग गरेको लामो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको थियो ।

भेटका क्रममा पार्टीभित्र चलिरहेको पुनर्गठनको बहस, कार्यदलको प्रतिवेदन, एमालेको आगामी राजनीतिक दिशा तथा नेतृत्व व्यवस्थापनका विषयमा छलफल भएको बताइएको छ । त्यसै क्रममा भण्डारीलाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिएर सक्रिय राजनीतिमा फर्काउने विषयमा समेत सहमति बनेको नेताहरूको दाबी छ । भदौ २४ गते प्रदर्शनकारीले आगजनी गरेपछि भण्डारीको बूढानीलकण्ठ भंगालस्थित निवासमा क्षति पुगेको थियो । त्यसपछि उनी छोरीको बालुवाटारस्थित घरमा बस्दै आएकी थिइन् । त्यही समयमा ओलीले भण्डारीसँग भेट गरेका थिए ।

ओली–भण्डारी भेटलाई कतिपय एमाले नेताहरूले पार्टीभित्रको तत्कालीन संकट व्यवस्थापनसँग जोडेर हेरेका थिए भने कतिपयले यसलाई आगामी शक्ति समीकरण निर्माणको प्रयासका रूपमा बुझेका थिए । अब एमालेमा भण्डारीको प्रवेशले कुन रुप लिन्छ भन्ने कुरासँग एमालेको भावी नेतृत्वको प्रश्न जोडिएको छ । यदि, ओलीपछि भण्डारी एमालेको अधयक्ष हुने हो भने अहिलेदेखि विशेष महाधिवेशनको तयारी जुट्नुपर्छ अन्यथा ‘कुमाइको घुमाइ’ले एमाले संकटमा पर्न सक्छ ।

ओलीकै प्रस्तावमा शंका

एमाले सचिवालयको गत सोमबारको बैठकमा अध्यक्ष ओली आफैंले भण्डारीलाई पार्टीमा जिम्मेवारी दिने प्रस्ताव अघि सारेपछि पार्टीभित्रको शक्ति समीकरणबारे थप बहस सुरु भएको थियो ।

ओलीको यो चतु¥याइँलाई भण्डारीले नजिकबाट बुझेकी छिन् । पार्टी सदस्यता नवीकरणपछि भण्डारी नै एमालेको निर्विकल्प अध्यक्ष बन्ने कुरामा दुईमत छैन । भण्डारीलाई पार्टीमा ल्याउने विषयमा एमालेका एकथरि नेताहरूले लामो समयदेखि असहमति जनाउँदै आएका थिए । विशेषगरी महासचिव शंकर पोखरेल भण्डारीलाई पुनः सक्रिय राजनीतिमा आउन नदिन उनको सदस्यता नवीकरण नगर्न ओलीलाई उक्साएका थिए ।

तर पार्टीभित्र पुनर्गठनको बहस तीव्र बन्दै गएको अवस्थामा ओली स्वयंले भण्डारीलाई जिम्मेवारी दिने प्रस्ताव राखेपछि नेतृत्व तहमा नयाँ समीकरणको सम्भावनाबारे छलफल हुन थालेको हो । ओलीको प्रस्तावपछि उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पक्षका नेताहरू पनि थप सचेत भएको एमालेभित्रका नेताहरू बताउँछन् । उनीहरूका लागि भण्डारीको पुनरागमन केवल एउटा व्यक्तिको पार्टी प्रवेश नभएर आगामी नेतृत्व समीकरणसँग जोडिएको विषय बन्न पुगेको छ ।

ओलीसँग भेट गरेपछि महासचिव शंकर पोखरेलले पनि भण्डारीसँग भेट गरेको विषय एमालेभित्र चर्चामा आएको छ । भण्डारीलाई पार्टी सदस्यता दिन नहुने र सक्रिय राजनीतिमा ल्याउन नहुने धारणा राख्दै आएका महासचिव पोखरेल स्वयं ओलीपछि अध्यक्ष बन्न दाउमा थिए, तर ओलीको यो निर्णयले महासचिव पोखरेललाई ‘मुटुमििाथ टुंगा राखी’ हाँस्नु प¥याछ भन्ने अवस्थामा पु¥याइदिएको छ ।

विष्णु–शंकरको समीकरणमा धक्का

एमालेभित्र अध्यक्ष ओलीपछि नेतृत्वका लागि उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई प्रमुख दाबेदारका रूपमा हेर्ने गरिएको थियो ।

तर भण्डारीको पुनरागमनसँगै उनीहरूको राजनीतिक समीकरणमा नयाँ चुनौती थपिएको छ । विशेषगरी एमालेको पुनर्गठनलाई समर्थन गर्ने दोस्रो तथा तेस्रो तहका नेताहरूको एउटा हिस्सा भण्डारीसँग नजिक देखिएकोले आगामी नेतृत्वको गणित बदलिन सक्ने आकलन गरिएको छ ।

एमालेको ११औँ महाधिवेशनमा छुट्टै प्यानल निर्माण गरी नेतृत्वलाई सहयोग गरेका प्रभावशाली नेताहरूमध्ये केही अहिले भण्डारीसँग नजिक रहेको बताइन्छ । यही समूहको राजनीतिक प्रभावलाई ध्यानमा राख्दा भण्डारी पार्टीभित्र सक्रिय हुँदा नेतृत्वको समीकरणमा असर पर्न सक्ने नेताहरूको बुझाइ छ ।

तर भण्डारीले तत्कालै कुनै छुट्टै समूह वा प्यानल निर्माण गर्ने विषयमा सार्वजनिक रूपमा स्पष्ट धारणा राखेकी छैनन् । त्यसैले उनको आगामी राजनीतिक भूमिका कस्तो हुन्छ भन्ने विषय अहिले नै निश्चित भइसकेको छैन ।एमाले केन्द्रीय कमिटीको पछिल्लो बैठकमा पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनमाथि विस्तृत छलफल नभए पनि पार्टीका विभिन्न तहमा पुनर्गठनको बहस भने जारी छ ।

दोस्रो र तेस्रो तहका नेताहरूले पार्टीलाई नयाँ राजनीतिक परिस्थिति अनुकूल बनाउने, संगठनलाई पुनर्संरचना गर्ने तथा नेतृत्व हस्तान्तरणको प्रक्रिया अघि बढाउने विषय उठाउँदै आएका छन् ।पुनर्गठनको बहसमा नेतृत्व परिवर्तन मात्रै होइन, पार्टीको संगठनात्मक संरचना, निर्णय प्रक्रियाको शैली, सरकार र पार्टीबीचको सम्बन्ध तथा नयाँ पुस्ताको भूमिकालगायत विषय पनि जोडिएका छन् ।

यही बहसबीच भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन भएकाले उनको भूमिकालाई केवल वरिष्ठ नेताको जिम्मेवारीमा सीमित गरेर हेर्ने वा आगामी नेतृत्व निर्माणको प्रक्रियासँग जोडेर हेर्ने भन्ने विषयमा एमालेभित्र मतभिन्नता देखिएको छ ।

ओलीले भण्डारीसँग गरेको भेट र त्यसपछि उनलाई पार्टीमा जिम्मेवारी दिने प्रस्तावलाई एमालेभित्र फरक–फरक ढंगले व्याख्या गरिएको छ ।एकसरी नेताहरूका अनुसार ओलीले पार्टीभित्र बढिरहेको असन्तुष्टि व्यवस्थापन गर्न र पुनर्गठनको बहसलाई आफ्नो पक्षमा उपयोग गर्न भण्डारीलाई पार्टीमा सक्रिय गराउन खोजेका हुन् ।

अर्कोथरीको बुझाइमा भने भण्डारीको पुनरागमन ओलीपछिको नेतृत्व समीकरणलाई व्यवस्थापन गर्ने रणनीतिक प्रयास पनि हुन सक्छ । तर भण्डारी स्वयंले पार्टीमा सक्रिय भूमिका लिएपछि उनको राजनीतिक प्राथमिकता र संगठन निर्माणको शैलीले आगामी समीकरण निर्धारण गर्ने देखिन्छ ।

भण्डारी राष्ट्रपति हुनुअघि एमालेको उपाध्यक्ष थिइन् । राष्ट्रपति पदमा निर्वाचित भएपछि उनले पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भएकी थिइन् । लामो समयपछि सक्रिय राजनीतिमा फर्किँदा उनको पुरानो साङ्गठनिक सम्बन्ध, पार्टीभित्रको प्रभाव र पूर्वसहकर्मी नेताहरूसँगको सम्बन्धलाई समेत अहिलेको एमाले राजनीतिमा महत्वपूर्ण मानिएको छ ।

अबको बाटो महाधिवेशनतिर

विद्या भण्डारीको पुनरागमनपछि एमालेको तत्कालीन राजनीतिक केन्द्रमा तीनवटा प्रश्न प्रमुख बनेका छन् । पार्टी पुनर्गठन कसरी हुन्छ ? अध्यक्ष ओलीको आगामी भूमिका के हुन्छ ? र त्यसपछि नेतृत्वको दाबेदारी कसरी अगाडि बढ्छ ?

उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसँगै एमालेका अन्य प्रभावशाली नेताहरूले पनि आगामी शक्ति सन्तुलनमा आफ्नो स्थान खोज्ने देखिन्छ । भण्डारीको पार्टी सक्रियताले यसअघि नेतृत्व हस्तान्तरणको बहसमा रहेका नेताहरूलाई नयाँ राजनीतिक विकल्प र समीकरणबारे सोच्नुपर्ने परिस्थिति सिर्जना गरेको छ ।

अहिलेका लागि भने एमालेभित्रको पुनर्गठन बहसले नयाँ चरण प्रवेश गरेको छ । ओलीको नेतृत्व, पौडेल–पोखरेलको भावी भूमिका र भण्डारीको सक्रियताबीच बन्ने समीकरणले एमालेको आगामी राजनीतिक दिशा प्रभावित गर्ने सम्भावना देखिएको छ । पार्टीभित्रको शक्ति संघर्ष अब केवल नेतृत्व परिवर्तनको बहसमा सीमित नरही कसको नेतृत्वमा, कुन राजनीतिक एजेन्डासहित र कुन साङ्गठनिक संरचनाबाट एमाले अघि बढ्ने भन्ने प्रश्नतर्फ केन्द्रित हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्