
नेपालको राजनीतिमा दल फेरिए, झण्डा फेरिए, चुनाव चिह्न फेरिए, नारा फेरिए । तर, एउटा कुरा भने फेरिएन– अन्धभक्ति ।
हिजो पुराना दलका कार्यकर्ता नेतृत्वले जे गरेपनि ताली बजाउँथे । आज नयाँ दलका केही कार्यकर्ता त्यही काम गर्दैछन् । हिजो नेताले गल्ती गर्दा ‘रणनीति’ भनिन्थ्यो, आज आफ्ना नेताले त्यही गल्ती गर्दा ‘मास्टरस्ट्रोक’ भनिन्छ । हिजो आफ्ना नेताको आलोचना गर्नेलाई ‘विरोधी’ भनिन्थ्यो, आज नयाँ दलका कार्यकर्ताले पनि आलोचकलाई त्यही उपमा दिइरहेका छन् । त्यसैले, प्रश्न दलको होइन, कार्यकर्ताको चेतनाको हो । नेता फेरिँदैमा राजनीति बदलिँदैन । राजनीति बदलिन कार्यकर्ताको सोच बदलिनुपर्छ ।
प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगे । भोटेकोशीको विनाशकारी बाढी, जलवायु परिवर्तन, जलवायु न्याय र विपद्का मुद्दा बोकेर एउटा गरिब देशको प्रधानमन्त्री विश्वमञ्चमा पुग्नु आफैँमा गम्भीर विषय हो । त्यहाँ उनले के बोले ? नेपालका लागि के मागे ? कुन देशसँग के संवाद भयो ? जलवायु वित्त, पूर्वसूचना प्रणाली, विपद् व्यवस्थापन र क्षति–नोक्सानीका विषयमा के प्रगति भयो ? यी प्रश्नहरूमा बहस हुनुपर्ने थियो ।
तर, सामाजिक सञ्जालमा बहसको अर्को रमिता देखिन्छ । कसैले एआईबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नै बालेनको स्वागतमा विमानस्थलमा उभ्याइदिएको छ । कसैले न्युयोर्क सडकमा हजारौँ मानिस ‘बालेन–बालेन’ भन्दै नारा लगाइरहेको भिडियो बनाएको छ । कसैले अमेरिकी सेनाको सुरक्षा घेरा हालिदिएको छ । हेर्दा लाग्छ– नेपालका प्रधानमन्त्री न्युयोर्क पुग्दा संसारका सबै शक्ति राष्ट्र प्रमुखहरू नेपालका प्रधानमन्त्री बालेनको स्वागत गर्न लाइन लागेका छन् ।
यो देशप्रेम होइन, आत्मरति हो । आफ्नो प्रधानमन्त्रीलाई सम्मान मिलोस् भन्ने चाहना जुनसुकै देशका नेपालीहरुको स्वाभाविक हो । तर, सम्मानको चाहनाले आफ्नो औकात पनि भुल्न मिलेन । बरु यस्ता झुटा सामग्रीले अन्ततः आफ्नै देश र आफ्नै नेतृत्वको विश्वसनीयता कमजोर बनाउँछन् ।
अझ रमाइलो ‘घण्टी’को कथा छ । संयुक्त राष्ट्रसंघको हलमा बजाइएको ‘पिस बेल’लाई लिएर रास्वपाका केही कार्यकर्ताले आफ्नो पार्टीको चुनाव चिह्नसँग जोडेर प्रचार गरे । शान्तिको प्रतीकका रूपमा बज्ने एउटा अन्तर्राष्ट्रिय घण्टीलाई राजनीतिक दलको प्रचार सामग्री बनाइदिनु कति हास्यास्पद कुरा हो !
तर, समस्या घण्टीमा छैन, कार्यकर्ताको मानसिकतामा छ । जसले संसारलाई आफ्नो पार्टीको चस्माबाट मात्र हेर्छ । घण्टी बज्यो– आफ्नै पार्टी सम्झियो । कसैले सरकारको प्रशंसा ग¥यो– आफ्नो पार्टी विश्वकै उत्कृष्ट ठान्ने । कसैले आलोचना ग¥यो– षड्यन्त्र देख्यो । नेताले केही राम्रो गरे– इतिहासकै महान् काम भयो । गल्ती गरे– त्यसको बचाउ गर्न तुरुन्तै सामाजिक सञ्जालमा सेना तयार हुने ।
हिजो एमालेका केही कार्यकर्ताको अवस्था यस्तै थियो । नेतृत्वले जे गरेपनि सही । पार्टीले निर्णय ग¥यो– रणनीतिक निर्णय । नेतृत्वले आलोचकलाई गाली ग¥यो– राजनीतिक प्रतिरोध । नेतृत्वले गल्ती ग¥यो– परिस्थितिको बाध्यता ।
कांग्रेसमा पनि यस्तै प्रवृत्ति देखियो । माओवादीमा पनि देखियो । मधेसकेन्द्रित दलमा पनि देखियो । अहिले सबैभन्दा नयाँ पार्टी श्रम संस्कृति पार्टीमा पनि यस्तै देखिएको छ । अर्थात्, समस्या कुनै एउटा पार्टीको डीएनए होइन । समस्या नेपाली राजनीतिक संस्कृतिको एउटा पुरानो रोग हो ।
नेता बदलिन्छन्, तर अन्धभक्त कार्यकर्ता उही रहन्छन् । हिजो पुरानो दलको झण्डा बोकेर नेताको बचाउ गर्ने मानिस आज नयाँ दलको झण्डा बोकेर त्यही शैली दोहो¥याइरहेका छन् । हिजो अरूको अन्धभक्तिलाई गाली गर्ने पनि आज आफ्नै नेताको अन्धभक्त बनेका छन् । त्यसैले प्रश्न फेरि उही हो– कार्यकर्ता कहिले सुध्रिने ?
कार्यकर्ता सुध्रनु भनेको पार्टी छाड्नु होइन । नेताको विरोध गर्नु पनि होइन । कार्यकर्ता सुध्रनु भनेको आफ्नो पार्टी र नेताप्रति समर्थन राख्दै गर्दा पनि गलतलाई गलत भन्न सक्ने क्षमता विकास गर्नु हो ।
लोकतन्त्रमा कार्यकर्ता भनेको ताली बजाउने कारिन्दा होइन, प्रश्न गर्ने नागरिक पनि हो । नेताले राम्रो काम ग¥यो भने समर्थन गरौँ । गलत ग¥यो भने प्रश्न गरौँ । तथ्य सही छ भने बचाऔँ । तथ्य गलत छ भने आफ्नै नेताको नाम जोडिएको भएपनि सच्याऔँ । किनभने नेताको सबैभन्दा ठूलो दुश्मन आलोचक होइन, अन्धभक्त समर्थक हो ।
आलोचकले गल्ती देखाइदिन सक्छ । तर, अन्धभक्तले गल्तीलाई पनि उपलब्धि बनाएर प्रस्तुत गर्छ । त्यसपछि नेता आफ्नै प्रचारको भ्रममा पर्न थाल्छ । वरिपरिका मानिसले वास्तविकता सुनाउन छाड्छन् । सामाजिक सञ्जालको लाइकलाई जनताको समर्थन र डिजिटल नारालाई राष्ट्रिय जनमत ठान्न थालिन्छ ।
हामीले पुराना दलहरूबाट पाठ सिकेका छौँ । वर्षौँसम्म कार्यकर्ताले नेतृत्वका कमजोरीमाथि प्रश्न गरेनन् । नेताका वरिपरि जयजयकार गर्ने घेरा बन्यो । परिणाम– जनताको असन्तुष्टि बढ्दै गयो । र, नयाँ विकल्पको रुपमा रास्वपा आयो । तर नयाँ विकल्प आएपछि पुरानै गल्ती दोहो¥याउने हो भने त्यसको अर्थ के ? पुरानो पार्टीको अन्धभक्ति खराब, अनि नयाँ पार्टीको अन्धभक्ति पवित्र ? अन्धभक्ति जुन पार्टीको भए पनि अन्धभक्ति नै हो ।
आज बालेनको पक्षमा ‘फेक’ सामग्री बनिरहेका छन् । बालेनकै कमजोरी लुकाउने कसरत भइरहेको छ । आलोचनालाई शत्रुता मानिएको छ । अनि नयाँ भनिएको राजनीति पनि पुरानै बाटोमा हिँड्न थालेको छ । त्यसैले रास्वपा र बालेनलाई समर्थन गर्ने हो भने उनको प्रत्येक फोटोमा भगवान् खोज्नु पर्दैन । उनको प्रत्येक कदममा चमत्कार देखाउनु पर्दैन ।
राष्ट्रसंघमा प्रधानमन्त्रीले सम्बोधन गर्दा चन्द्रमामै पुगेजस्तो गर्नुपर्दैन । बरु प्रश्न गर्न सक्नुपर्छ– प्रधानमन्त्रीले देशका लागि के लिएर फर्किए ? पुराना नेता ओली, प्रचण्ड र देउवाको पालाभन्दा बढी के उपलब्धि भयो ? जलवायु न्यायमा के भयो ? भोटेकोशीजस्ता विपद्का पीडितका लागि अन्तर्राष्ट्रिय सहयोग जुट्यो कि जुटेन ? जलवायु वित्तका लागि के पहल भयो ? विपद् पूर्वसूचना प्रणालीमा के सहकार्य भयो ? यिनको जवाफ खोज्ने कार्यकर्ता चाहिएको छ । ‘वाह नेता !’ भन्दै हरेक दिन सामाजिक सञ्जाल रंगाउने कार्यकर्ता होइन । लोकतन्त्रलाई ताली बजाउने भीड होइन, प्रश्न गर्ने नागरिक चाहिन्छ ।
पुराना दलहरू अन्धभक्त कार्यकर्ताकै कारण कमजोर भए । नयाँ दलले पनि त्यही अन्धभक्त संस्कारलाई आफ्नो शक्ति ठान्न थाले भने इतिहास दोहोरिन समय लाग्दैन । हिजो अरूको अन्धभक्तिलाई देखेर हाँस्नेहरू आज आफ्नै अन्धभक्तिमा रमाउन थाले भने उनीहरूबीच फरक के रह्यो ? दल नयाँ हुँदैमा राजनीति नयाँ हुँदैन । चुनाव चिह्न नयाँ हुँदैमा चेतना नयाँ हुँदैन ।
नेता नयाँ हुँदैमा कार्यकर्ता नयाँ हुँदैनन् । नयाँ राजनीति चाहिएको हो भने पहिले नयाँ राजनीतिक कार्यकर्ता चाहिन्छ । त्यस्तो कार्यकर्ता, जो नेताको भक्त होइन, नागरिक होस् । जो प्रचारको उपभोक्ता होइन, तथ्यको खोजकर्ता होस् । जो ताली बजाउन मात्रै होइन, आवश्यक पर्दा प्रश्न गर्न पनि जान्दछ । नत्र झण्डा फेरिन्छ, चुनाव चिह्न फेरिन्छ, नारा फेरिन्छ– तर देश उही पुरानो अन्धभक्तिको चक्रमा घुमिरहन्छ ।
पुरानाको अन्धभक्तिले देश यहाँसम्म आइपुग्यो, अब नयाँको अन्धभक्तिले देशलाई अझै कति तल गिराउने हो ? साइबर स्यालहरूको भ्रमको खेती बन्द होस् । कार्यकर्ताहरू अब ‘भक्त’ होइन, सचेत ‘नागरिक’ बन्न सिकून् । नेतृत्वले जे गर पनि ठीक भन्ने रोगबाट मुक्त नभएसम्म न दल सुध्रिन्छन्, न त देश नै ।













