Logo
Logo

‘कांग्रेसले देउवाको फोटो हटाउनुपर्ने अवस्था नआओस्’ (भिडियोसहित)


लेखनाथ पोखरेल, युवा नेता, नेपाली कांग्रेस

126
Shares

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन कसरी भइरहेको छ ?
कांग्रेस देशभर नयाँ उभारका साथ आफ्ना चरणवद्ध अधिवेशनहरु सकेर केन्द्रीय महाधिवेशनको क्रम जारी छ । वडा तहबाट तहगत संरचना पार गर्दै महाधिवेशन प्रतिनिधिहरु आउनुभएको छ । क्रियाशील सदस्यहरुबाट क्षेत्रिय प्रतिनिधिहरु चयन गर्ने, क्षेत्रिय प्रतिनिधिहरुमार्फत् पालिकाको नेतृत्व चयन गर्ने, प्रदेश सभा निर्वाचन क्षेत्रको नेतृत्व चयन गर्ने र प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट संघीय महाधिवेशन प्रतिनिधि चयन भएर आएका छन् । विदेशस्थित जनसम्पर्क समितिबाट त्यही ढंगले अधिवेशन गरेर क्रियाशिल सदस्य संख्याको आधारमा क्षेत्रिय प्रतिनिधि चयन हुने र ति प्रतिनिधिमार्फत् महाधिवेशन प्रतिनिधि चयन भएरै वैधानिक व्यवस्था अनुसार आउनुभएको छ ।

नयाँ प्रतिनिधिमा युवाको संख्या कस्तो छ ?
कांग्रेसको वैधानिक व्यवस्थालाई वैज्ञानिक बनाउन लागेका छौँ । गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि हाम्रो विधानले खोजेको कुरा के हो ? देशमा नयाँ युवाहरुले राजनीतिक स्थान कहाँ खोजिरहेका छन् र आफ्नो भूमिका कहाँ निर्वाह गर्न खोजिरहेका छन् भन्ने कुरा कांग्रेसको विधानमा झल्किनुपर्छ र कांग्रेसको नेतृत्वमा युवा अनुहार देखिनुपर्छ भन्ने हामीलाई लागेको छ ।

विभिन्न जातजाति, भाषाभाषीले भरिपूर्ण देशमा ति सबैको प्रतिनिधित्व कसरी हुनसक्छ ? विभिन्न क्षेत्रमा काम गरेर विज्ञता हासिल गरेकाहरुलाई पनि ‘ल्याटरल इन्ट्री’ मार्फत् कांग्रेस प्रवेशमा खुला गरेका छौँ । कम्तीमा ४१ हजार जना ३५ वर्ष मुनिका नेतृत्वहरु हाम्रो महाधिवशेन प्रक्रियामा आउनुभएको छ । करिब २ हजारको हाराहारीमा महिलाहरु महाधिवेशनमा सहभागि हुनुहुन्छ । फरक क्षमता भएकाहरु, टे«ड युनियन, अल्पसंख्यक लगायतसहित सबैको समावेशि सहभागिता छ ।

कांग्रेसको यो महाधिवेशनले नयाँ के देला जस्तो लाग्छ ?
कांग्रेसको विधानभित्र सबैको अधिकार र कर्तब्य झल्किने व्यवस्था छ । जन्मिदै कांग्रेस भएकाहरु मात्रै होइन, फरक पार्टीमा लागेका र फरक विचार बोकेकाहरुलाई पनि आकर्षण गर्ने खालको वैधानिक व्यवस्था छ । गत वर्ष माघमा सम्पन्न विशेष महाधिवेशनले अब नेपाली कांग्रेसलाई फरक ढंगले लान सकिएन र पुरानै शैलीमा लान थालियो अगाडि बढ्न सम्भव छैन भन्ने निष्कर्ष निकालेको थियो । त्यसकारणले परिमार्जित, सुधारिएको र सच्चिएको कांग्रेस कसरी बनाउन सकिन्छ, आम जनताको प्रतिनिधित्व हुने कांग्रेस कसरी बनाउन सकिन्छ भन्ने विषयमा यो महाधिवेशनमा घनिभुत चिन्तन भइरहेको छ ।

यो महाधिवेशन कांग्रेस नयाँ मार्गबाट यात्रा गर्ने सुरुवाती बाटो बन्छ भन्ने ध्येयका साथ अघि बढेका छौँ । ७ हजार बढी महाधिवेशन प्रतिनिधि सहभागि महाधिवेशनबाट हामी नयाँ संकल्प लिदैछौँ ।

पूर्वसभापति शेरबहादुर देउवाले नेतृत्व गरेको एउटा समूह यो महाधिवेशन प्रक्रियाबाट बाहिर छ । विग्रहमा गएको देखिन्छ, कसरी सुधारिएको कांग्रेस हुनसक्छ ?
अहिले कता, कता चोइटिन लागेको कांग्रेस भनेर पनि बुझिएको छ । गत वर्ष पार्टी विधानको धारा १७(२) अनुसार विशेष महाधिवेशन आव्हान भयो । अहिले इतर पक्षमा रहेको देउवा नेतृत्वले विधानलाई लत्याउने प्रयास ग¥यो । तर हामीले कांग्रेसलाई वैधानिक बाटोमा अगाडि बढायौँ । कतिपय पुराना नेतृत्वले यो कुरालाई स्वीकार्न सक्नुभएन । कांग्रेसलाई परिवारभन्दा माथि उठाउनुपर्छ, जनताको पार्टी बनाउनुपर्छ, दाई र भाउजुमा सिमित पार्टी बनाउन थालियो भने गुटबन्दीभन्दा माथि उठ्न सकिदैन । परिवारभन्दा माथि नउठेको पार्टी र गुटबन्दी भन्दा माथि निस्किन नसकेको पार्टी नबनोस् भन्नका लागि विशेष महाधिवेशन ग¥यौँ । विशेष महाधिवेशनको सन्देश, अब तीन करोड नेपालीलाई मन छुने कांग्रेस बनाउनुपर्छ । मुलुकमा उभार ल्याउन सक्ने कांग्रेस बनाउनुपर्छ भन्ने थियो । निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दियो । सर्वोच्च अदालतले पनि गगन थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दियो । यसअर्थमा मुल कांग्रेस यही नै हो ।

उहाँहरुले पार्टीभित्र ठाउँ खोजिरहनु भएको छ । आर्यघाट जाने बेलासम्म नेतृत्वमा रहिरहनु पर्छ भन्ने उहाँहरुको मानसिकता हो । युवाहरु हाम्रो सेवक हुन्, उनीहरु नेतृत्वमा आउने होइन कि हाम्रो सेवा गरिरहनुपर्छ भन्ने मानसिकताबाट ग्रसित हुनुहुन्छ । उहाँहरुले नयाँ नेतृत्वलाई स्वीकार गर्न नसक्दा बिग्रह जस्तो देखिएको हो । चार तारे झन्डा र चुनाव चिन्ह रुख भएको नेपाली कांग्रेस यहीँ हो । र, कांग्रेस एउटै छ ।

पुराना नेताहरुलाई कांग्रेसले सम्मान गरेन भन्ने आरोप छ । कांग्रेसको विरासत बोक्ने नेताहरु पनि तपाईहरुसँग हुनुहुन्न । यो त विभाजन नै होइन र ?
श्रद्धय नेताहरु प्रति हामीलाई वैरभाव छैन । उहाँहरुलाई सम्मान गर्ने कुरामा टुडिखेल जत्रो छाती बनाएर, फराकिलो मन बनाएका छौँ । विशेष महाधिवेशन शेरबहादुर देउवा वा पूर्णबहादुर खड्काबाटै उद्घाटन गर्न खोजेका थियौँ तर समयको बेगलाई उहाँहरुले बुझ्न सक्नुभएन । जुन नेतृत्वले समयको बेगलाई बुझ्न सक्दैन उसलाई समयले किनारा लगाउँदै जान्छ । उहाँहरु समय सापेक्ष नचलेका कारण यो परिस्थिति बनेको छ । अहिले १५ औँ महाधिवेशनमा पनि पूर्व सभापति देउवालाई उद्घाटनका लागि आउन निम्तो दिएका थियौँ तर आउनुभएन । कांग्रेस पार्टी फुटेको पनि होइन । उमेरको कारण पनि उहाँहरु यो पार्टीबाट विदाई हुने अवस्थामा हुनुहुन्छ । वृद्धभत्ता बुझ्ने उमेरको हुनुहुन्छ । उहाँहरुको अर्ति, बुद्धि लिन्छौँ । क्षमता लिन्छौँ । उहाँहरुको कठिन संघर्षलाई सम्मान, सत्कार गर्छौ । विरासतलाई लिन्छौँ । तर उहाँहरुलाई क्रियाशील हुन भौतिक रुपमा शरिरले पनि साथ दिएको छैन । अझैपनि उहाँहरु पार्टी नेतृत्वमा ओगटिएर बस्ने कुरा व्यवहारिक हुँदैन । उहाँहरुलाई बर्हिगमन गराउन खोजेको र यो नेतृत्वले ‘बाइपास’ गराउन खोजेको होइन ।

महाधिवेशनले पार्टी नेतृत्वमा कसलाई ल्याउँदैछ ?
गगन थापा नेतृत्वको कांग्रेसले मुलुकको अभिभारा वहन गर्नेगरी महाधिवेशन सम्पन्न गर्दै छौँ । हामीले निकट भविष्यमा आउँदै गरेको स्थानीय तह र प्रदेशको निर्वाचनलाई अर्जुन दृष्टिले हेरेका छौँ । आगामी संघीय चुनावपछि प्रधानमन्त्री बनाएर यो मुलुकको अभिभारा गगन थापालाई दियौँ भने देशको संकटलाई छिचोल्नेगरी उहाँले नेतृत्व गर्न सक्नुहुन्छ भन्ने हाम्रो ठम्याई छ । यसकारण, महाधिवेशनले उहाँलाई नै पार्टी सभापति निर्वाचित गर्छ र उहाँकै नेतृत्वमा कांग्रेस अगाडि बढ्छ । कांग्रेस चलाउन मात्रै होइन, मुलुक चलाउन पनि गगन थापाको नेतृत्व चाहियो भन्ने जनताको पनि माग छ ।

महाधिवेशनपछि पार्टी फुट्छ कि एकतावद्ध हुन्छ त ?
धेरै नेताहरु मुलधारमा फर्किइसक्नु भएको छ । यो महाधिवेशनलाई एकताको सन्देश दिने महाधिवेशन बनाउँदै छौँ । गगन थापा नेतृत्वको पार्टी आधिकारिक त हो नै, यसैलाई आशा र भरोसाको पार्टी पनि बनाउँछौँ । अहिले विचलित हुनुभएका नेताहरु पनि पार्टीको मुलधारमा निश्चित रुपमा आउनुहुन्छ । इतर पक्षका लाई पनि पुनः शेरबहादुर देउवाको नेतृत्वमा अघि बढ्नुपर्छ र देउवाबाट यो मुलुकलाई कायापलट गर्न सकिन्छ भनेर कसैलाई विश्वास छैन । विधानत्ः देउवा पुनः नेतृत्वमा आउने पनि होइन । त्यसकारण गगन थापाको विकल्प छैन । छुट्टै बसेर पोजिशन बनाएर त्यही पोजिशनमा कांग्रेसमा जाने भन्ने दिवा सपना उहाँहरुले देख्नुभएको छ । यो दिवा सपना कदापी पुरा हुन सक्दैन । देउवाले पार्टी फुटाउन लाग्नुभयो भने कांग्रेस पार्टीमा शेरबहादुर देउवाको फोटो हटाउनुपर्ने स्थिति आउन सक्छ । त्यस्तो स्थिति आउन नदिने गरि उहाँले भुमिका निर्वाह गर्नु जरुरी छ ।

कांग्रेसभित्र अदालती र अन्तर्राष्ट्रिय चलखेल छ भन्ने टिकाटिप्पणी पनि हुने गर्छ नि ?
न्यायालयप्रति म धेरै प्रश्न उठाउन चाहान्न । न्यायालयले गरेको कुरा हामीले शिरोधार्य गर्नुपर्छ । गत वर्ष नै शेरबहादुर देउवाले पार्टीबाट बिदा भएर पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापति दिइसक्नु भएको थियो । तर पछि उहाँलाई एकाएक सुनियोजित ढंगबाट नेपाल ल्याउने र राजनीतिमा सक्रिय बनाउने कोसिस भयो । कांग्रेसमा वृद्धहरुले नेतृत्व गरिरहे राजनीतिमा आफ्नो उचाइ बढाउन सहज हुन्थ्यो भनेर कसैलाई मनोभाव जागेको शंका गर्ने ठाउँ प्रशस्त देखिन्छ । कार्यबाहक सभापति दिएर विदेश गइसकेको मान्छे फेरि चुनदेवी गएर सभापति हुँ भनेर बसिसकेपछि उहाँको कद घट्यो । उहाँले समानान्तर गतिविधि गरेपछि हामीसँग रहेको सद्भाव, सम्मानमा ह्रास आउने काम उहाँकै कदमबाट भयो ।

राजनीतिक चलखेल छ भन्न सकिन्छ । गगन थापाको उदयलाई कटाक्ष गर्नका लागि, उहाँको कद घटाउनका लागि र कांग्रेसाम भाडभैलो सिर्जना गराउन देउवाको पुनरागमन गराउने प्रयास भएको हो । यो कुरालाई कांग्रेसले नजिकबाट बुझेको छ । हाम्रो नेतृत्व यो चतु¥याइलाई नबुझ्ने पनि छैन ।

देशको लोकतन्त्रमाथि खतरा भएको विभिन्न कोणबाट प्रश्न उठ्ने गरेका छन् । सरकार कत्तिको लोकतान्त्रिक रुपमा चलेको देख्नुहुन्छ ?
सरकारको कतिपय गतिविधिमा अपरिपक्वता देखिएको छ । कतिपय गतिविधिहरु अवान्छित पनि छन् । विभिन्न व्यक्तिहरुको पक्राउको सन्दर्भमा आलोकाँचो काम भइरहेको छ । सरकारले लिएको निर्णयमा पछि हट्नु नपर्ने गरी अघि बढ्नुपथ्र्यो । सरकारको प्रत्येक पटक, आज व्यक्ति समात्ने, भोलि छोड्ने गर्नाले सरकार स्वयंलाई कमजोर बनाएको छ । सरकारले जनताको अपेक्षा अनुरुपको काम पनि गर्न सकेको छैन ।

वित्तिय रुपमा सरकार कमजोर देखिन्छ । भौतिक रुपमा पनि सरकारले राम्रो काम गरेको देखिएको छैन । संविधानमा बलमिच्याँइ गरेको छ । विभिन्न निकायको नियुक्तिमा पारदर्शिता छैन । चुनावमा गरेको प्रतिवद्धता उहाँहरुले बिर्सिनुभयो कि जस्तो लाग्छ । सरकार पुरानै ढर्रामा हिडेको छ । दूरदर्शिता पनि छैन । जनमतको कदर गर्नेगरी कार्य सम्पादन गर्न सकेन भनेर प्रश्नहरु उठ्न थालेको छ । सरकार जवाफदेही र उत्तरदायी पनि हुन सकेन । सरकारमा दम्भ र अहंकार पलाएको देखिन्छ ।

सत्तारुढ रास्वपाले पनि आफुलाई लोकतान्त्रिक पार्टी भन्छ । कांग्रेस र रास्वपाका बिचमा भिन्नता के हो ?
उहाँहरु आफुलाई लोकतान्त्रिक पार्टी भन्नुहुन्छ तर लोकतान्त्रिक गतिविधि देखिदैन । उहाँहरुका सांसदहरु लाई कसैसँग बोल्न नसक्ने टिठलाग्दो अवस्थामा देखिन्छ । मन्त्रिपरिषद्मा भएकाहरुले आफ्ना कुरालाई प्रधानमन्त्री समक्ष उजागर गर्न नसकेको देखिन्छ । सरकारभित्र घनिभुत सम्वाद हुने लोकतान्त्रिक विधिबाट गएको छैन । सचिवालयको आदेशको भरमा भूमिगत शैलीले सरकार चलेको हो कि भन्ने अनुभुति भएको छ । सांसदहरु निरिह देखिन्छन् । जनताको पक्षमा बाहिर बोलेजस्तो संसदभित्र बोल्न नसकेको जस्तो, आफ्नो कुरा आफ्नै सरकारले नसुनेजस्तो भएर सांसदहरुमा हिनताबोध देखिएको छ । लोकतान्त्रिक रुपमा कांग्रेससँग तुलना गर्नेगरी यो पार्टी जान्छ भन्ने कुरामा मलाई विश्वास लागेको छैन ।

प्रधानमन्त्रीले पार्टी सभापतिलाई टेरेको अवस्था छैन । प्रधानमन्त्रीको चाहाना र पार्टीका बिचमा तालमेलको अवस्था छैन । प्रधानमन्त्रीको सांसद र मन्त्रीहरुसँगको सम्वाद कमजोर देखिन्छ । राज्य संयन्त्रमार्फत् नभइ प्रधानमन्त्रीको सचिवालयले सरकार चलाउने अवस्था छ । लोकतन्त्रको सन्दर्भमा हामीसँग तुलना हुन सक्दैन ।

पछिल्लो समय कांग्रेस भित्रको आन्तरिक लोकतन्त्र पनि कमजोर छ भन्ने आवाजहरु उठ्ने गरेको छ नि ?
हाम्रा पुराना नेताहरुले पार्टीभित्रको लोकतन्त्रको अवस्थालाई बिगारेका हुन् । त्यसैकारण त हामी विशेष महाधिवेशनको बाटो हुँदै यहाँसम्म आउनुप¥यो । दाई, भाउजुले भनेपछि हुने तर विधिले भनेपछि नहुने पार्टी थियो । त्यसकारण लोकतन्त्र कमजोर भयो । तर अहिले सबैलाई अनुभुति हुनेगरी लोकतान्त्रिक पद्धतीमा अगाडि बढेका छौँ । १५ औँ महाधिवेशनसँगै पार्टी भित्र झनै पूर्ण रुपमा लोकतन्त्रिक अवस्था बन्नेछ ।

महाधिवेशनबाट कस्तो नीति र विधि बनाउँदै हुनुहुन्छ ?
कांग्रेसको आगामी बाटोको सन्दर्भमा राजनीतिक दस्तावेज प्रस्तुत भएको छ । कांग्रेसको आगामी बाटो, जनजिविकाको सवाल लगायतको विषयमा कांग्रेसले स्पष्ट दिशा लिन्छ । व्यवहारिक रुपमा आम जनतालाई कांग्रेसप्रति आकर्षित गर्नेगरी अघि बढ्ने नीति लिदैछौँ ।

(छत्रदेव गाउँपालिका अर्घाखाँचीका पूर्व अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका सल्लाहकार समेत रहेका नेपाली कांग्रेसका युवा नेता लेखनाथ पोखरेलसँग दृष्टिका लागि हिरेन्द्र शाहीले गरेको कुराकानी)

प्रतिक्रिया दिनुहोस्