Logo
Logo

बडादशैँमा पनि रोकिएन विदेशिने युवाको लर्को


63
Shares

काठमाण्डौ । नेपालीहरूको प्रमुख पर्व बडादशैँमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेशिने क्रम जारी छ।

दशैँको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि आफ्नो भविष्य निर्माण र परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सयौँ नेपाली युवायुवती विदेश प्रस्थान गरिरहेका छन्। काठमाण्डौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि विदेश जाने यात्रुको भिडभाड त्यत्तिकै देखिन्छ।

विमानस्थल हुँदै विभिन्न देशका लागि प्रस्थान गर्ने नेपालीमध्ये अधिकांश रोजगारीको खोजीमा विदेश जाने युवायुवती देखिन्छन्। यसका साथै उच्च शिक्षा हासिल गर्न, परिवारका सदस्यलाई भेट्न तथा अन्य व्यक्तिगत कामका लागि विदेश जाने नेपाली पनि विमानस्थलमा देखिएका छन्। चाडपर्वका बेला परिवारसँग बसेर खुसी साटासाट गर्ने, आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने र मान्यजनबाट आशीर्वाद लिने नेपाली परम्परा छ। तर केही वर्षदेखि रोजगारी, आर्थिक अवसर र सुनौलो भविष्यको खोजीमा विदेशिने युवाको सङ्ख्या बढ्दो छ।

अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने युवाको भीडले नेपाली समाजको बदलिँदो आर्थिक तथा सामाजिक अवस्थालाई चित्रण गर्छ। आफ्नै गाउँघर, सहर–बजार अर्थात् स्वदेशमा अध्ययन तथा पेसा–व्यवसाय गर्न छोडेर विदेशतर्फ आकर्षित हुने आम प्रवृत्तिका कारण गाउँघर रित्तो भई खेतबारी बाँझिएको अवस्था छ।

यसैबीच, रोजगारीका लागि विदेसिन लागेका सिरहाका लखनकुमार यादवले नेपालमा पर्याप्त रोजगारीका अवसर नहुँदा विदेश जान बाध्य भएको बताए। उनले भने, ‘योग्यता र क्षमताअनुसारको काम स्वदेशमै पाउने सुनिश्चित भइदिएको भए दशैँको बीचमा परिवार छाडेर विदेश जाने मन थिएन। आफूसहित परिवारको भविष्यका लागि विदेश जाँदैछु।’ शिक्षा, स्वास्थ्यको व्यवस्थासहित परिवारको दैनिकी चलाउने, आर्थिक अवस्था सुधार्ने र भविष्यका लागि केही बचत गर्ने उद्देश्यले नेपाली युवा विदेशिने गरेको उनको भनाइ छ।

विमानस्थलमै भेटिएका गुल्मीका प्रकाश खत्री स्वदेशमा पर्याप्त रोजगारीका अवसर सिर्जना नहुँदा आफ्नो भविष्य निर्माणका लागि युवा पुस्ताको विदेश रोजाइ हुने गरेको बताउँछन्। ‘नेपालमा रोजगारीको अवसर नभएको, भए पनि सेवा सुविधा न्यून रहेको र एकाधबाहेक विदेश जानेहरूको आर्थिक, शैक्षिक तथा सामाजिक हैसियत राम्रो देखिएकाले चाडपर्वमा रमाउने भन्दा पनि सुनौलो भविष्यका लागि विदेशलाई नै रोज्नुपर्ने अवस्था छ,’ उनले भने।

यसैगरी, छोरालाई विदेश पठाउन विमानस्थल आएका कैलालीका ठक्कर कलेल वैदेशिक रोजगारीले परिवारको आर्थिक अवस्था सुधार्न तथा जीवनस्तर उकास्न सहयोग पुर्‍याए पनि देशभित्रको सक्रिय जनशक्ति यसरी विदेसिँदा मुलुकमा दीर्घकालीन चुनौती उत्पन्न हुनसक्ने बताउँछन्। दक्ष तथा मेहनती युवा विदेश पलायन हुँदा कृषि, उद्योग, निर्माण, पर्यटन र उत्पादनमूलक क्षेत्रमा आवश्यक जनशक्तिको अभाव हुन सक्ने उनको चिन्ता छ।

प्रतिक्रिया दिनुहोस्