काठमाडौं । हिन्दु धर्माबलम्बीहरु यमपञ्चक पर्व हर्षोल्लासपूर्वक मनाई रहँदा जनकपुरधाममा आज हनुमान जयन्ती मनाइँदै छ । हनुमान जयन्तीको अवसरमा मिथिलाञ्चल सांस्कृतिक कला परिषद्ले जनकपुरधामस्थित युगलजोडी मन्दिर विहार कुञ्जमा हनुमान चालिसा पाठ, भजन कीर्तन लगायतको कार्यक्रमको आयोजना गरेको छ ।

यसअघि परिषद्ले हनुमान जयन्तीको अवसरमा जनकपुरधामस्थित रेल्वे स्टेशनबाट शोभा यात्रा निकाली नगर परिक्रमा समेत गरेको छ । शोभा यात्रामा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवको पनि सहभागिता रहेको थियो । सभामुख यादवले भगवान हनुमान हिन्दु धर्माबलम्बीहरुको घर घरमा पुजिने देवता रहेको र उनको जन्मोत्सवको अवसरमा निकालिएको शोभा यात्राले सनातन संस्कृति संरक्षणमा बल पुर्याउने बताए ।
परिषद्का अध्यक्ष शम्भु साहले हिन्दु धमाबलम्बीहरु पर्व यमपञ्चककाबीच हनुमान जयन्ती पर्ने भएकोले ओझेलमा परिरहेको समयमा आफूहरू भगवान हनुमानको जयन्ती भव्यतापूर्वक मनाउन लागेको बताए । उनका अनुसार विगत २० वर्षदेखि परिषद्ले हनुमान जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै आई रहेको छ ।
यता जनकपुरधामस्थित संकटमोचन मन्दिरमा समेत श्रद्धालु भक्तजनहरुको बिहानैदेखि घुइचो लागेको छ । भगवान हनुमानको पूजा अर्चना एवं मन्त्र स्तोत्र पाठ गर्नाले शुभ फल मिल्ने, शनिग्रहको दोष नलाग्ने देखी भूतप्रेत पिसाचको दुःख नहुने जनविश्वास रहेको छ । हनुमानको पूजा गरेमा वैवाहिक सुख मिल्ने र पती पत्नी बीचको कलह हट्ने विश्वास रहँदै आएको छ ।
चैत्र शुक्ल पूर्णिमालाई पनि हनुमान जयन्तीको रुपमा व्याख्या गरिएपनि कार्तिक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथीलाई हनुमान जयन्तीकै रुपमा लिइने गरिन्छ । शास्त्रमा मतैक्य नहुनाले चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानजीको जन्म दिवस मनाउने त गरिन्छ, यद्यपि वायु पुराणादिका अनुसार कार्तिक महिनाको शुक्ल चतुर्दशीका दिन हनुमान जयन्ती अधिक प्रचिलित छ, तर पहिलो जन्म दिवस हो भने दोस्रो विजय अभिनन्दन महोत्सव हो ।


















