Logo
Logo

बम राखिएको धम्कीपछि इटालीका ३०० विद्यालय खाली, बेलायत र आयरल्यान्डमा पनि त्रास


0
Shares

काठमाडौं । इटालीका कम्तिमा ३०० विद्यालयमा बम राखिएको धम्की आएपछि बुधबार विद्यार्थी र शिक्षकहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

इमेलमार्फत एकै प्रकारको धम्की आएपछि इटालीका विभिन्न सहरमा विद्यालय खाली गराइएको हो। यस्तै धम्की बेलायत र आयरल्यान्डका विद्यालयमा पनि पुगेको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इटालीका शिक्षामन्त्री जुसेप्पे भाल्दिताराले कम्तिमा ३०० विद्यालय प्रभावित भएको र यो संख्या अझै बढ्न सक्ने बताएका छन्।

राजधानी रोमसहित मिलान, नेपल्स, पालेर्मो र बोलोन्याका विद्यालयमा धम्की आएपछि पढाइ रोकिएको थियो। सुरक्षाकर्मीले विद्यालय परिसरको जाँच गरेका छन्।

रोमको एउटा विद्यालयले अभिभावकलाई सन्देश पठाउँदै देशव्यापी बमको धम्कीपछि सबै विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको र उनीहरू शिक्षकहरूको निगरानीमा रहेको जानकारी दिएको थियो।

धम्कीपछि अभिभावकहरू आफ्ना बालबालिका लिन विद्यालय पुगेका थिए। इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले तत्काल कुनै ठोस खतरा नदेखिएको र विद्यार्थीहरू सुरक्षित रहेको बताएकी छन्।

इटालीका अधिकारीहरूले धम्की झूटो भएको आशंका गरेका छन्। तर यति धेरै विद्यालयलाई एकैपटक निशाना बनाइनुलाई उनीहरूले गम्भीरतापूर्वक लिएका छन्।

शिक्षामन्त्री भाल्दिताराले यस्तो धम्की दिनुको उद्देश्य मानिसमा डर फैलाउनु हुन सक्ने बताएका छन्। धम्की दिने व्यक्तिको पहिचानका लागि प्रहरी र गुप्तचर निकायले अनुसन्धान गरिरहेका छन्। धम्कीपूर्ण इमेलमा इटालीकी प्रधानमन्त्री मेलोनीलाई समेत निशाना बनाइएको थियो।

रोयटर्सका अनुसार इमेलमा आफूलाई ‘मिखाइल आन्द्रोपोभ’ बताउने व्यक्तिको नाम उल्लेख थियो। गत साता आयरल्यान्ड र बुल्गेरियाका सञ्चारमाध्यमलाई पठाइएका बमको धम्कीमा पनि यही नाम प्रयोग भएको थियो।

यो नाम प्रयोग गर्ने व्यक्ति को हो र विभिन्न देशमा पठाइएका धम्की एउटै समूहबाट आएका हुन् वा होइनन् भन्ने पुष्टि भएको छैन।

इटालीमा विद्यालय खाली गराइरहेका बेला बेलायत अन्तर्गत उत्तरी आयरल्यान्डका ३०० भन्दा बढी विद्यालयमा पनि धम्कीपूर्ण इमेल पुगेको थियो।

उत्तरी आयरल्यान्डको प्रहरीले ती इमेल बेलायत बाहिरबाट आएको र वास्तविक आक्रमणको विश्वसनीय खतरा नदेखिएको जनाएको छ। त्यसैले त्यहाँ विद्यालयहरूलाई पढाइ जारी राख्न भनिएको थियो।

स्कटल्यान्ड र आयरल्यान्ड गणतन्त्रका विद्यालयमा पनि यस्तै सन्देश पुगेका थिए। त्यहाँका सुरक्षाकर्मीले प्रारम्भिक जाँचपछि धम्की झूटो भएको निष्कर्ष निकालेका छन्। ती स्थानमा इटालीमा जस्तो व्यापक विद्यालय खाली गराउनु परेको थिएन।

उत्तरी आयरल्यान्डका प्रहरी अधिकारी एन्थोनी म्याकनालीले यस्ता घटनालाई गम्भीरतापूर्वक लिने गरिएको र विद्यार्थी, अभिभावक तथा विद्यालय समुदायमा उत्पन्न चिन्ताबारे प्रहरी सचेत रहेको बताएका छन्।

युरोपमा पछिल्लो समय विद्यालय मात्र होइन, हवाई सेवा, सुपरमार्केट, रक्तसञ्चार केन्द्र र टेलिभिजन प्रसारण संस्थाहरूलाई पनि धम्की दिने तथा साइबर आक्रमण गर्ने घटना बढेका छन्।

इटालीका रक्षामन्त्री गुइदो क्रोसेत्तोले बमको धम्कीहरू मानिसमा आतंक र असुरक्षाको भावना फैलाउने प्रयासको हिस्सा हुन सक्ने बताएका छन्।

यस्ता घटनालाई युरोपमा बढ्दो ‘हाइब्रिड युद्ध’ अर्थात् प्रत्यक्ष सैनिक आक्रमण नगरी साइबर हमला, धम्की र अन्य माध्यमबाट समाजमा अस्थिरता सिर्जना गर्ने रणनीतिसँग पनि जोडेर हेरिएको छ।

तर बुधबारका धम्कीका पछाडि कुनै विदेशी सरकार वा संगठित समूहको संलग्नता रहेको प्रमाण सार्वजनिक भएको छैन।

इटालीको प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000