
काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) आगामी पुस ५ गतेदेखि अनिवार्य अवकाशमा जाँदै छन् । ३० वर्षे सेवा अवधि पूरा हुन लागेसँगै एआईजीहरू सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकले एकैसाथ अवकाश पाउन लागेका हुन् ।
उनीहरू पाँचै जना २०५३ पुस ५ गते राष्ट्रिय अनुसन्धान विभागमा सेवा प्रवेश गरेका थिए । पछि नेपाल प्रहरीमा स्थानान्तरण भए पनि सेवा अवधि गणना गर्दा सुरुमा भर्ना भएको मितिलाई आधार मानिने भएकाले उनीहरू पुस ५ गतेदेखि सेवाबाट बाहिरिन लागेका हुन् ।
हाल शाह प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत छन् । राठौर उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा, चतुर्वेदी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा, श्रेष्ठ प्रहरी प्रधान कार्यालयको कार्य विभागमा र विक प्रशासन विभाग प्रमुखका रूपमा कार्यरत छन् ।
प्रहरीमा एआईजीका लागि आठवटा दरबन्दी रहेकामा यसअघि नै एउटा पद रिक्त छ । गत कात्तिक १८ गते एआईजी मनोज केसी प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त भएपछि उक्त पद रिक्त भएको हो । अब पाँच एआईजीले अवकाश पाएसँगै पुस ५ देखि एआईजीका ६ वटा दरबन्दी खाली हुनेछन् ।
त्यसपछि प्रहरीमा राजन अधिकारी र ईश्वर कार्की मात्रै एआईजीका रूपमा रहनेछन् । उनीहरू दुवै जना वर्तमान आईजीपी केसीकै ब्याची हुन् । उनीहरू २०५४ चैत १८ गते प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।
काे काे छन् प्रतिस्पर्धामा ?
एकैपटक ठूलो संख्यामा एआईजी पद रिक्त हुने भएपछि नेपाल प्रहरीमा बढुवाको प्रतिस्पर्धा तीव्र बन्ने देखिएको छ । रिक्त हुने पदमा बढुवाका लागि विभिन्न ब्याचका डीआईजीहरू आकांक्षी छन् । यसले आगामी प्रहरी नेतृत्वको समीकरणसमेत प्रभावित पार्ने देखिन्छ ।
वर्तमान आईजीपी केसीकै ब्याचका डीआईजीहरू राजेन्द्र भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल, गोविन्द थपलिया र दीपेन्द्र घर्ती एआईजी बढुवाका प्रतिस्पर्धी छन् । त्यस्तै, सुदर्शन कोइराला, दीपककुमार बस्नेत र जयराज सापकोटा पनि बढुवाका आकांक्षीका रूपमा छन् ।
उनीहरू एआईजीमा बढुवा भए पनि वर्तमान आईजीपी केसीसँगै २०८४ चैतमा अवकाशमा जानेछन् । त्यसपछि २०५६ सालमा प्रहरी सेवामा प्रवेश गरेको समूहबाट पनि एआईजी बढुवाको प्रतिस्पर्धा अघि बढ्नेछ । यो समूहबाट डीआईजीहरू भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल, अभिनारायण काफ्ले र विश्व अधिकारी दाबेदारका रूपमा देखिएका छन् ।
यस समूहमा डीआईजी खत्री पहिलो वरीयतामा छन् । उनी हाल लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा छन् । त्यसपछि क्रमशः भट्टराई, अधिकारी, खनाल, काफ्ले र विश्व अधिकारी रहेका छन् ।
भट्टराई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, ओम अधिकारी मधेश प्रदेश प्रहरी कार्यालय र शेखर खनाल कोसी प्रदेश प्रहरी प्रमुखका रूपमा कार्यरत छन् । काफ्ले प्रहरी प्रवक्ता छन् भने विश्व अधिकारी प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा कार्यरत छन् ।
यो समूहबाट हुने बढुवालाई भावी प्रहरी नेतृत्वको दृष्टिले पनि महत्त्वपूर्ण मानिएको छ । सरकारले वर्तमान आईजीपी केसीकै ब्याचीहरूलाई प्राथमिकता दिएमा २०५६ सालमा भर्ना भएका अधिकारीहरूको बढुवा केही समय पछाडि धकेलिन सक्छ । तर, यही समूहका डीआईजीहरू एआईजीमा बढुवा भएमा उनीहरूमध्येबाटै भविष्यमा प्रहरी महानिरीक्षक बन्ने बाटो खुल्नेछ ।
यसकारण आगामी एआईजी बढुवालाई रिक्त पदपूर्तिमा मात्र सीमित नभई नेपाल प्रहरीको भावी नेतृत्व चयनसँग जोडेर समेत हेरिएको छ ।


















