काठमाडौं । एनपीएलको तेस्रो सिजनअन्तर्गत पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले निकै खराब सुरुवात गरेको छ। टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले पावरप्लेको ६ ओभरमा ३ विकेट गुमाउँदै मात्र २० रन जोडेको छ।

सुदूरपश्चिमका सुरुवाती ब्याटर क्रिजमा टिक्न सकेनन् । पहिलो बलमै ओपनर जर्ज मुन्से आउट भए । लुम्बिनीका रुबेन ट्रम्पेलमनले उनलाई गोल्डेन डकमा पभेलियन फर्काए । त्यस्तै, अर्का ओपनर विनोद भण्डारी पनि ९ बलमा ३ रन बनाएर आउट भए । पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमाउँदा एक चौका मात्रै प्रहार गर्न सक्यो।
हाल क्रिजमा इशान पाण्डे र कप्तान दीपेन्द्र सिंह ऐरी छन् । इशानले ११ बलमा एक चौकासहित ५ रन बनाएका छन् भने दीपेन्द्रले ७ बलमा ४ रन जोड्दै उनलाई साथ दिइरहेका छन्। यी दुईबीच चौथो विकेटका लागि १७ बलमा १२ रनको साझेदारी भएको छ।
यसअघि टस जितेको लुम्बिनीले पहिले बलिङ गर्ने निर्णय गरेको थियो । लुम्बिनीका बलरहरूले सुरुदेखि नै कसिलो बलिङ गर्दै सुदूरपश्चिमको रन गति प्रतिओभर ३.३३ मा सीमित राखेका छन्।


















