काठमाडौँ । भारतले हिउँदयाममा नेपाललाई ३५० मेगावाटसम्म विद्युत् उपलब्ध गराउने भएको छ। भारतले नेपाललाई विद्युत् आयातको अनुमति दिनुका साथै थप ५६ मेगावाट विद्युत् निर्यात गर्न पनि स्वीकृति दिएको छ।

नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले मंगलबार ऊर्जा मन्त्रालयमा मन्त्री श्रेष्ठसँग भेट गरी भारतले हिउँदयाममा नेपाललाई आवश्यक विद्युत् उपलब्ध गराउने निर्णय गरेको जानकारी गराएका हुन्।
मन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सञ्जीव महर्जनका अनुसार राजदूत दलेलाले भोटेकोशी नदीमा आएको बाढीले नेपालको विद्युत् पूर्वाधारमा क्षति पुर्याएकाले हिउँदमा विद्युत्को माग व्यवस्थापन गर्न भारतले आवश्यक विद्युत् उपलब्ध गराउने निर्णय गरेको बताएका थिए।
गत भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले जलविद्युत् आयोजना तथा प्रसारण पूर्वाधारमा क्षति पुर्याउँदा ४३१ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ। त्यसपछि कालीगण्डकी र बुढीगण्डकी नदीमा आएको बाढीले पनि विद्युत् पूर्वाधारमा क्षति पुर्याएको थियो। विपद्का कारण विद्युत् उत्पादनमा आएको कमी र हिउँदयाममा माग बढ्ने अवस्थालाई ध्यानमा राख्दै मन्त्री श्रेष्ठले भारतबाट विद्युत् आयातका लागि पहल थालेका थिए।
उनले मन्त्रालय मातहतका निकाय, नेपाल विद्युत् प्राधिकरण र आफ्नो सचिवालयलाई परिचालन गरी भारतसँग संवाद अघि बढाएका थिए। हिउँदमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन मन्त्री श्रेष्ठले प्राधिकरणका सञ्चालक समिति सदस्यसहित सचिवालयका सदस्यलाई दुईपटक दिल्ली पठाएका थिए। उक्त संवादमा भारतबाट विद्युत् आयात गर्ने परिमाण र त्यसको कार्यविधिबारे सहमति जुटेको थियो।
केही दिनअघि नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिसरीसँग पनि मन्त्री श्रेष्ठले मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा विद्युत्को सहज आपूर्तिबारे छलफल गरेका थिए। त्यसअघि नेपाल आएका भारतीय ऊर्जा सचिवसँग पनि मन्त्रालयका अधिकारीले यस विषयमा संवाद गरेका थिए। विदेश सचिव मिश्री भारत फर्किएलगत्तै नेपाललाई ३५० मेगावाट विद्युत् उपलब्ध गराउने निर्णय भएको हो।
प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणमा मन्त्री श्रेष्ठ पनि नयाँदिल्ली जाने तयारीमा छन्। उक्त भ्रमणको पूर्वसन्ध्यामा भारतले नेपाललाई हिउँदयामको विद्युत् माग व्यवस्थापन गर्न सहयोग पुग्ने गरी आयात अनुमति दिएको हो।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले २०८३ मंसिर १ देखि २०८४ साउन १५ गतेसम्म भारतीय बजारबाट विद्युत् आयात गर्न अनुमति प्राप्त भएको बताए। ‘मन्त्रीज्यू र उहाँको टिम, मन्त्रालय तथा विद्युत् प्राधिकरणबाट चरणबद्ध संवाद भएपछि भारतले सुक्खायामको पिक आवरमा ३५० मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ। यसले हिउँदमा माग धान्न मद्दत गर्छ। आपूर्ति व्यवस्थापन सहज हुनेछ,’ उनले भने।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे-अहेड र रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न अनुमति दिएको हो। बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मबाहेक अन्य समयमा विद्युत् आयात गर्न सकिनेछ।
अनुमतिअनुसार कटैया-कुशाहा, रामनगर-सुरजपुरा र रक्सौल-परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत ३०० मेगावाट तथा न्यू नौतनिया-मैनहिया १३२ केभी प्रसारण लाइनमार्फत ५० मेगावाट विद्युत् आयात गर्न सकिनेछ।
कार्यकारी निर्देशक श्रेष्ठका अनुसार भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्ने अनुमतिसँगै नेपालले थप ५६ मेगावाट विद्युत् भारतीय बजारमा निर्यात गर्न पनि स्वीकृति पाएको छ। प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित उक्त विद्युत् २०८४ साउन १५ गतेसम्म भारतमा बिक्री गर्न सक्नेछ।
हिउँदयाममा आन्तरिक उत्पादन घट्ने र विद्युत् माग बढ्ने भएकाले नेपालले भारतबाट विद्युत् आयात गर्दै आएको छ। नयाँ अनुमतिले आगामी हिउँदमा विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउनुका साथै नेपालले आफ्नो उत्पादन क्षमता उपयोग गरी भारतीय बजारमा थप विद्युत् बिक्री गर्ने अवसरसमेत पाएको छ।


















