Logo
Logo

एमालेमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास भर्ने विद्याको संकल्प (पूर्णपाठ)


0
Shares

काठमाडौँ । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीलाई संगठनात्मक रूपमा सुदृढ, व्यवहारमा अनुशासित र जनतासँग आत्मीय सम्बन्ध भएको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा विकास गर्नुपर्ने बताएकी छन् ।

बुधबारदेखि काठमाडौंमा जारी एमालेको राष्ट्रिय कार्यकर्ता भेलामा बिहीबार प्रतिवेदन प्रस्तुत गर्दै उनले निर्वाचनमा पराजयबाट निराश नभई कमजोरी सच्याएर नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरेकी हुन् ।

भण्डारीले पार्टीमा पुनः सक्रिय हुने आफ्नो निर्णय पद, सुविधा वा अवसरका लागि नभई वैचारिक विकास, संगठनात्मक सुदृढीकरण, सामाजिक–आर्थिक रूपान्तरण र राष्ट्रिय जिम्मेवारीमा योगदान पुर्‍याउने उद्देश्यले भएको स्पष्ट पारेकी छन् ।

राष्ट्रपति जस्तो सर्वोच्च संवैधानिक पदमा पुगिसकेकाले अब कुनै पदप्रति आकांक्षा नरहेको उल्लेख गर्दै उनले पार्टी र आन्दोलनमा योगदान दिन फर्किएको बताएकी छन् ।

उनले मुलुकको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै महँगी, बेरोजगारी, बढ्दो व्यापार घाटा, कमजोर शान्ति सुरक्षा र सरकारप्रति जनताको असन्तुष्टि बढिरहेको उल्लेख गरेकी छन् । सरकारका गतिविधिले संविधान, लोकतान्त्रिक मूल्य, संसदीय प्रणाली र शक्ति सन्तुलनमाथि प्रश्न उठाएको भन्दै समयमै सुधार नभए मुलुक अस्थिरता र अनिश्चिततातर्फ धकेलिन सक्ने उनको भनाइ छ ।

भण्डारीले संविधान संशोधनका विषयमा राष्ट्रिय सहमति, पर्याप्त छलफल र राजनीतिक दलबीच समन्वय आवश्यक रहेको बताएकी छन् । संविधानका प्रावधान समय र आवश्यकताअनुसार संशोधन गर्न सकिने भए पनि यसको आधारभूत लोकतान्त्रिक चरित्र, प्रस्तावना र मूल मान्यतामाथि प्रतिकूल असर पर्ने गरी अघि बढ्न नहुने उनको धारणा छ ।

सरकारले राजनीतिक असहमति राख्ने नेता, सार्वजनिक व्यक्तित्व र सञ्चारमाध्यममाथि लक्षित गतिविधि गरेको भन्दै उनले कानुनलाई राजनीतिक प्रतिशोधको साधन बनाउन नहुने बताएकी छन् । निष्पक्ष छानबिन र न्यायिक प्रक्रियाबाट कानुनी विषय निरूपण हुनुपर्ने उल्लेख गर्दै भण्डारीले स्वतन्त्र प्रेस, अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक प्रतिस्पर्धाको सम्मानबिना लोकतन्त्र बलियो हुन नसक्ने बताएकी छन् ।

एमालेको वैचारिक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)लाई भाषण र दस्तावेजमा मात्र सीमित नराखी व्यवहार, निर्णय प्रक्रिया, संगठन सञ्चालन र जनतासँगको सम्बन्धमा लागू गर्नुपर्ने उनको जोड छ ।

पार्टीका जनसंगठनलाई समुदायका आवाज, समस्या र आकांक्षा पार्टीसम्म पुर्‍याउने प्रभावकारी माध्यम बनाउनुपर्ने भन्दै उनले युवामा बढ्दो निराशा, बेरोजगारी र विदेश पलायन सम्बोधन गर्न अनुसन्धान, उद्यमशीलता, बहस र रचनात्मक अभियान सञ्चालन गर्नुपर्ने बताएकी छन् ।

पार्टीका जनप्रतिनिधिले व्यक्तिगत प्रतिष्ठा र सुविधाभन्दा जनसेवालाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक, रोजगारी र विकास निर्माणमा जनताले अनुभूति गर्ने काम गर्नुपर्ने भण्डारीको सुझाव छ । नेता तथा कार्यकर्ताको जीवनशैली सरल, जनतासँगको सम्बन्ध आत्मीय र संगठनका गतिविधि परिणाममुखी हुनुपर्ने उनको भनाइ छ ।

भण्डारीले एमालेको पछिल्लो निर्वाचनमा भएको पराजयलाई संगठनात्मक कमजोरी, नेतृत्व तथा कार्यकर्ताको कार्यशैली र जनतासँगको सम्बन्धसँग जोडेर समीक्षा गर्नुपर्ने बताएकी छन् ।

कमिटीहरू औपचारिक बैठक, निर्णय र प्रतिवेदनमा मात्र सीमित नभई जिम्मेवारी पूरा गर्ने सक्रिय संरचना बन्नुपर्ने, आलोचना र आत्मालोचनाको अभ्यासलाई संस्थागत गर्नुपर्ने तथा नेता–कार्यकर्ताबीच सहिष्णुता, समन्वय र सहयोगको भावना विकास गर्नुपर्ने उनले उल्लेख गरेकी छन् ।

उनले एक निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने भन्दै विगतका संघर्ष र उपलब्धिबाट प्रेरणा लिएर पार्टीलाई एकताबद्ध, गतिशील र जनताको विश्वास जित्ने शक्तिका रूपमा पुनः स्थापित गर्न सकिने विश्वास व्यक्त गरेकी छन् ।

आगामी स्थानीय तहलगायत निर्वाचनलाई ध्यानमा राखेर जनताका आवश्यकता र अपेक्षासँग जोडिएका नीति, योजना र कार्यक्रम अघि बढाउनुपर्ने उनको आग्रह छ ।

जनताको बहुदलीय जनवादलाई वर्तमान चुनौती समाधान गर्ने र भविष्य निर्माण गर्ने जीवन्त मार्गदर्शक सिद्धान्तका रूपमा विकास गर्नुपर्ने उल्लेख गर्दै भण्डारीले जनताको विश्वास विचार, व्यवहार, कार्यशैली र जनजीवनमा ल्याउने सकारात्मक परिवर्तनबाट आर्जन हुने बताएकी छन् ।
पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्दै एमालेलाई जनताको सुख–दुःखमा साथ दिने भरोसायोग्य राजनीतिक शक्तिका रूपमा विकास गर्ने संकल्पसमेत उनले व्यक्त गरेकी छन् ।

विद्याका १० महत्त्वपूर्ण भनाइ

– अब म कुनै पनि पदप्रति निष्क्रियजस्तै भएको छु, किनकि मैले राष्ट्रपति जस्तो मुलुकको सर्वोच्च ओहोदा हासिल गरिसकेको छु ।’
– ‘पार्टीमा फर्किने निर्णय व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नभई वैचारिक विकास र संगठनात्मक सुदृढीकरणका लागि हो ।’
– ‘समयमै राष्ट्रिय समस्याको निराकरण नगर्ने हो भने मुलुक अस्थिरता र अनिश्चिततातर्फ धकेलिन सक्दछ ।’
– ‘संविधानका आधारभूत दृष्टिकोण, प्रस्तावना र लोकतान्त्रिक चरित्र प्रतिकूल हुनेगरी संशोधन गरिनु उचित हुँदैन ।’
– ‘जुनसुकै रूपमा प्रकट हुने निरंकुशता, स्वेच्छाचारिता र अराजकता एमालेलाई स्वीकार्य हुँदैन ।’
– ‘कानुनलाई राजनीतिक प्रतिशोधको साधन बनाउनु हुँदैन ।’
– ‘सिद्धान्तबिनाको व्यवहार अन्धो हुन्छ र व्यवहारबिनाको सिद्धान्त लङ्गडो ।’
– ‘जनप्रतिनिधि हुनु व्यक्तिगत प्रतिष्ठा वा सुविधा प्राप्त गर्ने अवसर होइन, जनताको सेवा गर्ने दायित्व हो ।’
– ‘एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन ।’
– ‘जनताको विश्वास नै हाम्रो सबैभन्दा ठूलो राजनीतिक पूँजी हो ।’

विद्या भण्डारीको भनाइको पूर्णपाठ

पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्ने सङ्कल्प गरौँ

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री र यस राष्ट्रिय कार्यकर्ता भेलाका अध्यक्ष
कमरेड केपी शर्मा ओलीज्यू,
नेकपा (एमाले) केन्द्रीय कमिटीका पदाधिकारीहरू, स्थायी समितिका सदस्यहरू र केन्द्रीय कमिटीका सदस्यहरू,
पार्टीको सल्लाहकार परिषद्का सदस्यहरू,
पार्टीको केन्द्रीय आयोगका सदस्यहरू,
प्रदेश तथा जिल्ला कमिटीका प्रतिनिधिहरू,
विभिन्न जनसंगठनका प्रतिनिधिहरू,
पार्टीको तर्फबाट प्रतिनिधि सभा तथा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सदस्यहरू,
पार्टीको तर्फबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सदस्यहरू,
जिल्ला विकास समन्वय समिति तथा विभिन्न पालिकामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरू,
स्वयंसेवक लगायत राष्ट्रिय भेलाका संपूर्ण सहभागीहरू,
हाम्रो गौरवशाली पार्टी नेकपा ९एमाले०ले आयोजना गरेको यस भव्य राष्ट्रिय कार्यकर्ता भेलामा अनेकौँ प्रतिकूलतालाई चिर्दै मुलुकका विभिन्न भाग र प्रवासबाट सहभागी हुन आउनु भएका यहाँ उपस्थित पार्टीका नेता तथा कार्यकर्ताहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएकोमा असाध्यै खुसी लागेको छ । यस गरिमामय राष्ट्रिय भेलामा सहभागी हुनुभएका सम्पूर्ण नेता तथा कार्यकर्ता कमरेडहरूलाई हार्दिक अभिवादन व्यक्त गर्दै संक्षिप्तमा आफ्ना भनाईहरू राख्न चाहन्छु । साथै, यस भेलाको भव्य सफलताको निम्ति भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिँदै भेलाको सफलताको शुभकामना व्यक्त गर्दछु ।

आजको यस महत्वपूर्ण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालसहित सम्पूर्ण संस्थापक सदस्यहरू, नविन विचारक जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रित, नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीसहित सम्पूर्ण ज्ञात अज्ञात सहिदरूप्रति उच्च सम्मान व्यक्त गर्दै श्रद्धासुमन अर्पण गर्दछु ।

यहाँहरूलाई अवगत नै छ, म लामो समयदेखि यस पार्टीको आन्दोलनसँग जोडिँदै आएको छु । सामाजिक परिवर्तनको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै पार्टीलाई थप सुदृढ बनाउने संकल्पका साथ यस बृहत् राष्ट्रिय भेलामा सहभागी हुनुभएका कमरेडहरू समक्ष पार्टीमा मेरो पुनः सक्रिय सहभागिताका सन्दर्भमा केही कुरा राख्नु सान्दर्भिक ठानेको छु ।

जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद ९जबज०लाई आत्मसात गरी अघि बढिरहेको नेकपा ९एमाले० नेपालको लोकतान्त्रिक आन्दोलन, सामाजिक–आर्थिक रूपान्तरण अभियान र राष्ट्रिय स्वाभिमानको संघर्षसँग जोडिएको राजनीतिक शक्ति हो । मेरो सांगठानिक तथा राजनीतिक जीवन अगाडि बढाउन, वैचारिक चेतना विकास गर्न र सामाजिक रूपान्तरणप्रतिको प्रतिबद्धता सुदृढ पार्नसमेत यही पार्टीको आन्दोलन र राजनीतिक संस्कारबाट भएको हो । त्यसैले, यस पार्टीप्रति मेरो लगाव, विश्वास र भरोसा सधैँ रहँदै आएको छ ।

मैले कलिलो उमेरदेखि आजको अवस्थासम्म यही पार्टीको संगठन निर्माण, लोकतान्त्रिक आन्दोलनको विकास र सुदृढीकरण, राष्ट्रियताको संवर्धन र राष्ट्रिय जिम्मेवारी निर्वाहमा बिताएको छु । पार्टीको सदस्यका रूपमा सुरु भएको मेरो राजनीतिक यात्रा विभिन्न जिम्मेवारी बहन गर्दै राष्ट्रपतिको सर्वोच्च संवैधानिक पदसम्म पुग्यो । पार्टीको निर्णय अनुसार नै मैले राष्ट्रपतिको निर्वाचनमा भाग लिएँ, प्रतिष्पर्धामा विजयी बनेँ र करिब सात वर्ष सो जिम्मेवारीमा रहेँ । म राष्ट्रपतिको भूमिकामा रहँदा संवैधानिक दायरा र मर्यादाभित्र रहेर देश र जनताको हितमा आफूले सम्पादन गरेका असल कार्यहरू सबैका सामू छर्लङ्ग छन् । राष्ट्रपतिको जिम्मेवारी सम्हालिरहँदा मैले देशको सार्वभौमसत्ताको संरक्षण, छिमेकी मुलुक तथा मित्रराष्ट्रहरूसँग सुमधुर सम्बन्ध विकास, संयुक्त राष्ट्रसंघसहितका अन्तर्राष्ट्रिय संगठनहरूसँगको सम्बन्ध प्रवर्द्धन, राष्ट्रिय स्वाभिमानको अभिवृद्धि, भौगोलिक अखण्डताको सुदृढीकरण तथा सामाजिक सद्‌भाव र सहिष्णुताको विकासजस्ता विषयमा ध्यान दिएँ । सफलतापूर्वक कार्यकाल पूरा गरेर राष्ट्रपतिको जिम्मेवारीबाट मुक्त भएपछि तपाईँहरूको माया, विश्वास र अपेक्षाको फलस्वरूप पुनः नेकपा ९एमाले० मार्फत सक्रिय राजनीतिमा फर्किएको छु । तपाईँहरूको अपेक्षा र विश्वासलाई जस्तोसुकै परिस्थितिमा पनि टुट्न दिनेछैन भन्ने कुरा आज म पुनः दोहोर्‍याउन चाहन्छु ।

साँच्चै भन्ने हो भने अब म कुनैपनि पदप्रति निष्पृह जस्तै भएको छु । किनकि मैले राष्ट्रपति जस्तो मुलुकको सर्वोच्च ओहोदा हासिल गरिसकेको छु । त्यसैले आज पुनः यहाँ भन्न चाहन्छु कि, फेरि पार्टी राजनीतिमा फर्किने निर्णय व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नभई आफूले लामो समय योगदान गरेको मातृ पार्टीसँग जोडिएर यसको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण, सामाजिक–आर्थिक रूपान्तरण र राष्ट्रिय जिम्मेवारीमा योगदान पुर्‍याउने उद्देश्यले लिएको हुँ । मेरो यस पवित्र उद्देश्य र लक्ष्यप्रति तपाईँहरूले देखाउनु भएको सद्‍भावका लागि आजको यस मञ्चबाट पुनः आभार प्रकट गर्दछु ।

अब म मुलुकले अहिले सामना गरिरहेको राष्ट्रिय परिस्थिति र त्यसले सिर्जना गरेका चुनौतीका बारेमा केही कुरा राख्न चाहन्छु । आज हाम्रो देश अनेकौँ आर्थिक, सामाजिक र राजनीतिक चुनौती सामना गर्दै अगाडि बढिरहेको छ । दैनन्दिनका उपभोग्य सामग्रीको बजार भाउ आकासिएर न्यून आय भएका गरिब नागरिकको चुलो नै ओसिलो हुँदैछ । रोजगारीका अवसरहरू खुम्चिँदै गएका छन् । आयात प्रतिस्थापन हुन नसक्दा व्यापार घाटा बढिरहेको छ । शान्ति सुरक्षामाथि गम्भीर प्रश्नहरू खडा हुँदैछन् । सरकारप्रति जनताका गुनासाहरू बढिरहेका छन् । यति मात्र होइन, पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका कतिपय गतिविधिले संविधान, लोकतान्त्रिक मूल्य र संसदीय प्रणालीको अभ्यासका सम्बन्धमा गम्भीर प्रश्न उठेका छन् । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बीचको शक्ति सन्तुलनमा प्रतिकूल प्रभाव परिरहेको छ । यसबाट हाम्रो मुलुकको अन्तर्राष्ट्रिय छविमासमेत आँच आउन थालेको देखिन्छ । समयमै यसको निराकरण नगर्ने हो भने मुलुक अस्थिरता र अनिश्चिततातर्फ धकेलिन सक्दछ । त्यसकारण नेकपा ९एमाले० सहित देश र जनताप्रति जिम्मेवार सम्पूर्ण राजनीतिक दल, देशभक्त र राष्ट्रवादी शक्ति तथा व्यक्तिहरूले आफ्नो भूमिकालाई थप प्रभावकारी तुल्याएर संविधान र कानुनले निर्दिष्ट गरेको दिशामा मुलुकको राजनीतिलाई लयमा लिएर आउनु पर्दछ । पार्टीहरूले सानातिना राजनीतिक मतभेदहरूलाई थाति राखेर मुलुकको बृहत्तर हितका निम्ति संवाद, सहकार्य र पहलकदमी लिनु पर्दछ ।

हाम्रो संविधान लामो राजनीतिक संघर्ष, राजनीतिक शक्तिहरूबीचको सहमति, जनताको आकांक्षा र अत्यन्तै लोकतान्त्रिक विधि अपनाएर जननिर्वाचित संविधासभाबाट जारी भएको ऐतिहासिक दस्तावेज हो । हामीले २०७२ सालमा नयाँ संविधान जारी गरेको घटना विश्वका निम्ति नै एक अविश्मणीय क्षणको रूपमा रहेको कुरा सर्वविधितै छ । संघीय लोकतान्त्रिक गणतन्त्र, बहुलवाद, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, मौलिक अधिकार, समावेशिता र विधिको शासन यसका आधारभूत स्तम्भहरू हुन् । यी ऐतिहासिक उपलब्धि कुनै एउटा दल वा सरकारको मात्र नभई सम्पूर्ण नेपाली जनताका साझा उपलब्धि हुन् । जनताको बलिदानीपूर्ण संघर्ष र असंख्य सहिदहरूको सहादतबाट प्राप्त भएको यस संविधानको रक्षा र समयानुकूल समृद्ध बनाउनु हाम्रो गहन दायित्व हुन आएको छ ।

अहिले संविधानका कतिपय धारा र प्रावधानहरू परिमार्जन गर्नुपर्ने चर्चा सार्वजनिक सञ्चार माध्यममा चलिरहेको छ । त्यसो त यो लिखित दस्ताबेज सधैँ स्थिर रहने विषय पनि होइन । अर्थात् मुलुकको संविधान समय, माग र आवश्यकताअनुसार संशोधन गर्न सकिन्छ । तर संशोधनका नाममा संविधानका आधारभूत दृष्टिकोण, प्रस्तावना र लोकतान्त्रिक चरित्र नै प्रतिकूल हुनेगरी विषय अघि सारिनु उचित हुँदैन । यस्तो दूरगामी महत्वको विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच पर्याप्त छलफल, परामर्श र राष्ट्रिय सहमति आवश्यक हुन्छ । संविधान संशोधन जस्तो विषयमा मुलुकप्रति जिम्मेवार राजनीतिक शक्तिहरूसँग समन्वय नगरी एकपक्षीय ढङ्गले अघि बढ्दा राजनीतिक अविश्वास र अन्योल बढ्न सक्छ । त्यसैले यस विषयमा सरकार र सम्पूर्ण राजनीतिक दलहरूको पर्याप्त ध्यान पुग्नुपर्दछ भन्ने मलाई लागेको छ ।
सर्वविधितै छ, लोकतान्त्रिक व्यवस्थामा संसद, संसदीय प्रक्रिया, प्रतिपक्षको भूमिका तथा संवैधानिक निकायहरूको स्वतन्त्रता र मर्यादाको सम्मान हुनुपर्दछ । राज्यका अंग तथा निकायहरू संविधानभन्दा माथि हुन सक्दैनन् । सरकारका निर्णय र गतिविधि संविधान, कानुन र लोकतान्त्रिक उत्तरदायित्वको सीमाभित्र रहनुपर्छ । जुनसुकै रूपमा प्रकट हुने निरंकुशता, स्वेच्छाचारिता र अराजकता नेकपा ९एमाले० लाई स्वीकार्य हुँदैन ।

केही समय यता राजनीतिक दलका नेता तथा सार्वजनिक जीवनमा क्रियाशील व्यक्तिहरू र सञ्चारमाध्यमप्रति सरकारद्वारा लक्षित कतिपय गतिविधिले ठुलो चिन्ता उत्पन्न गराइरहेका छन् । कानुनी प्रक्रिया पूरा नगरी प्रतिशोधपूर्ण व्यवहार गर्ने, राजनीतिक असहमतिका आधारमा व्यक्तिलाई निशाना बनाएर प्रहरी नियन्त्रणमा लिने वा सञ्चारमाध्यमको स्वतन्त्रता संकुचित गर्ने प्रवृत्ति लोकतान्त्रिक संस्कार अनुकूल हुन सक्दैनन् । कानुन उल्लङ्घन भएको भए निष्पक्ष छानबिन र न्यायिक प्रक्रियाबाट निरूपण हुनुपर्छ, तर कानुनलाई राजनीतिक प्रतिशोधको साधन बनाउनु हुँदैन । राष्ट्रसेवक कर्मचारी, सम्पूर्ण सुरक्षा निकाय र नागरिक समाजको मनोबल गिराउने कार्य कहिँ कतैबाट हुनु हुँदैन ।

लोकतन्त्रमा सरकारको आलोचना गर्ने र असहमति राख्ने अधिकार सबैलाई हुन्छ र यसो हुने अवस्था सृजना गर्नु नै लोकतन्त्रको मूल्यबोध हो । स्वतन्त्र प्रेस, अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक प्रतिस्पर्धाको सम्मान बिना लोकतन्त्र बलियो हुन सक्दैन । त्यसैले अहिलेको आवश्यकता प्रतिशोध र निषेध होइन, संवाद, सहकार्य र राष्ट्रिय सहमति हो । संविधानको रक्षा, कानुनको शासनको प्रवर्द्धन र लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरणमा नेकपा ९एमाले० ले सधैँ स्पष्ट, दृढ र जिम्मेवार भूमिका निर्वाह गर्दै आएको छ । हाम्रो पार्टी आफ्नो यस गहन दायित्वबाट कहिल्यै पनि विचलित हुनेछैन । बरु राष्ट्रियता र राष्ट्रिय स्वाभिमान, लोकतान्त्रिक गणतन्त्रको संरक्षण तथा सम्बर्द्धन, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण, सामाजिक न्यायको प्रवर्द्धन र जनजीविकाको विकासका लागि आन्दोलन गर्न अग्रसर हुनेछ ।

सहभागी कमरेडहरू,

अब म हाम्रो पार्टीको वैचारिक प्रतिबद्धता र व्यवहारबीचको सम्बन्धका बारेमा केही कुरा राख्न चाहन्छु । नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादले लोकतन्त्र, जनताको सार्वभौम अधिकार, बहुदलीय प्रतिस्पर्धा, बहुलवाद, मानवअधिकार, सामाजिक न्याय र राष्ट्रिय स्वाभिमानजस्ता मूल्यहरूलाई आफ्नो वैचारिक आधारका रूपमा आत्मसात् गरेको छ । तर यी मूल्यहरूको वास्तविक सार्थकता तिनलाई व्यवहारमा रूपान्तरण गर्न सक्दा मात्र स्थापित हुन्छ । एउटा प्रख्यात भनाइ छ– सिद्धान्तबिनाको व्यवहार अन्धो हुन्छ र व्यवहारबिनाको सिद्धान्त लङ्गडो । त्यसैले हामी कम्युनिष्टहरूले सिद्धान्त र व्यवहारबीचको एकरूपता कायम गर्दै आफ्ना वैचारिक मान्यतालाई व्यवहारमा उतार्न सधैँ प्रयत्नशील रहनुपर्छ ।

हाम्रा यी वैचारिक मूल्य र मान्यताहरू दस्तावेज तथा भाषणमा मात्र सीमित हुनुहुँदैन । ती हाम्रो दैनिक व्यवहार, निर्णय प्रक्रिया, संगठन सञ्चालन र जनतासँगको सम्बन्धमा समेत स्पष्ट रूपमा प्रतिबिम्बित हुनुपर्छ । हामीले भन्ने कुरा र गर्ने कामबीच एकरूपता हुन आवश्यक छ । जनताको अधिकारको कुरा गर्ने तर उनीहरूका समस्याप्रति संवेदनशील नहुने र सुशासनको कुरा गर्ने तर पारदर्शिता तथा जवाफदेहिता कायम नगर्ने प्रवृत्तिले राजनीतिक दलको विश्वसनीयता कमजोर बनाउँछ । त्यसैले आफ्ना वैचारिक प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्दै देश र जनताको हितमा इमानदारीपूर्वक क्रियाशील हुनु हाम्रो दायित्व हो ।

त्यसैगरी, पार्टीका जनसंगठनहरूको भूमिकाको बारेमा पनि हामीले गम्भीरतापूर्वक सिंहावलोकन गर्नुपर्छ । नेकपा ९एमाले०को शक्ति पार्टी संगठनमा मात्र सीमित छैन । यससँग आबद्ध युवा, विद्यार्थी, महिला, मजदुर, किसान, पेसागत तथा अनेकौँ जनसंगठनहरू पार्टी र जनताबीच सम्बन्ध स्थापित गर्ने महत्वपूर्ण आधार हुन् । हाम्रो पार्टीको आधारको रूपमा रहेका यी वर्गीय र जनसंगठनहरू वैचारिक रूपमा पार्टीसँग आबद्ध छन् भने आन्दोलनको विकासका निम्ति सांगठानिक रूपमा स्वतन्त्र समेत छन् । यही दृष्टिकोणको जगमा जनसंगठनको सशक्त विकासमा हामीले जोड दिनु पर्दछ ।

जनसंगठनहरू पार्टीका निर्णय कार्यान्वयन गर्ने माध्यम मात्र नभई सम्बन्धित समुदायका आवाज, आकांक्षा र समस्यालाई पार्टीसम्म पुर्‍याउने प्रभावकारी संयन्त्र पनि हुन् । तिनलाई नियमित, गतिशील, सिर्जनात्मक र जनमुखी बनाउनुपर्छ । विशेषगरी युवापुस्तामा बढ्दो निराशा, बेरोजगारी र विदेश पलायनको अवस्थालाई सम्बोधन गर्न जनसंगठनहरूले अनुसन्धान, उद्यमशीलता विकास, बहस, पैरवी र रचनात्मक अभियान सञ्चालन गर्नुपर्छ । जनसंगठनको प्रभावकारिता कमिटी विस्तार र सदस्य संख्या वृद्धि पनि हो, तर यति मात्र होइन, बरु यसको मापन सम्बद्ध समुदाय र जनताले हासिल गरेको उपलब्धी, लाभ र विश्वासबाट हुन्छ । त्यसैले जनसंगठनहरू आफ्नो फाँटको काममा सधैँ चनाखो, सक्रिय र अद्यावधिक हुँदै पार्टीले सुम्पिएको दायित्व पूरा गर्न निरन्तर लाग्नु पर्दछ । राज्यले जनताका जायज आशा, अपेक्षा र मागलाई सम्बोधन गर्न सकेन भने आन्दोलनको विकास गर्नसमेत तम्तयार हुनुपर्दछ ।

सहभागी मित्रहरू,

पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको भूमिका र जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण छ । नेपालको कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिरणको जग बसालेको पार्टी नेकपा (एमाले) जनताको विश्वास र समर्थन प्राप्त गर्दै जनविश्वास र जनमत प्राप्त गरेर निर्दिष्ट उद्देश्य तथा लक्ष्य हासिल गर्न सधैँ कृतसंकल्पित छ । संसदीय मोर्चा हाम्रो पार्टीको महत्वपूर्ण कार्यक्षेत्र हो । निर्वाचनमार्फत विभिन्न तहका सरकार संचालन गरेर विकास निर्माणलाई तीब्रता दिने, लोककल्याणकारी कार्यहरू संचालन गर्ने, समतामूलक सामाजिक आर्थिक विकासमा जोड दिएर गरिबी र असमानता समाप्त पार्ने पार्टीको घोषित उद्देश्य हो । पार्टी प्रतिपक्षमा रहेको अवस्थामा जनताका आवाजलाई सशक्त ढंगले सम्बन्धित जनप्रतिनिधिमूलक संयन्त्रमा उठाउनु प्रतिपक्षको धर्म नै हो । त्यसैले पार्टीबाट निर्वाचित स्थानीय तह, प्रदेशसभा र संघीय संसदका जनप्रतिनिधिहरूले जनताको विश्वास र जिम्मेवारीलाई सधैँ आत्मसात् गर्नुपर्छ । जनप्रतिनिधि हुनु व्यक्तिगत प्रतिष्ठा वा सुविधा प्राप्त गर्ने अवसर होइन, जनताको सेवा गर्ने दायित्व हो । यसो गर्न सक्दा नै पार्टीलाई थप मजबूत र विस्तार गर्न सकिन्छ । समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने राष्ट्रिय अभिभारा यस्तै कामबाट पूरा गर्न सकिन्छ । अनि जबजको मार्गदर्शन रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प हासिल गर्न योगदान पुग्दछ ।

जनप्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक, विकास निर्माण र रोजगारीजस्ता विषयलाई सधैँ प्राथमिकता दिनुपर्छ । यस्ता कार्यबाट जनतासँग हाम्रो पार्टीको सम्बन्ध सुमधुर हुन्छ र पार्टी विस्तार तथा विकासमा समेत ठोस योगदान पुग्दछ । प्रदेश तहका प्रतिनिधिले समग्र विकास र क्षेत्रीय सन्तुलनमा तथा संघीय संसदका सदस्यले राष्ट्रिय नीति निर्माण, कानुन निर्माण र सरकारको निगरानीमा प्रभावकारी भूमिका खेल्नुपर्छ । सबै जनप्रतिनिधिले पारदर्शिता, इमानदारीता, मितव्ययिता र जवाफदेहितालाई कार्यशैलीको आधार बनाउनुपर्छ । पार्टीले पनि उनीहरूको कामको नियमित समीक्षा गर्ने प्रणाली विकास गर्नुपर्छ ।

हाम्रो देश अथाह प्राकृतिक स्रोत र सम्पदाले भरिपूर्ण छ । यी सम्पदाहरूको विवेकपूर्ण र दिगो उपयोग गर्न सके विकास र समृद्धिको यात्रालाई तीव्रता दिन सकिन्छ । प्रकृतिलाई बिगारेर होइन, प्रकृतिलाई सिँगारेर विकास निर्माणका काम अघि बढाउनुपर्दछ । जलवायु परिवर्तनले निम्त्याएका प्राकृतिक विपत्तिहरूले हाम्रो विकास र जनजीवनमा गम्भीर चुनौती थपिरहेका छन् । हालै मात्र रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढी र गोरखाको बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो परिमाणमा जनधनको क्षति भएको छ । विपत्तिबाट प्रभावित र घरबारविहीन नागरिकको पुनर्स्थापना तथा जीविकोपार्जनको व्यवस्था राज्यको प्राथमिक दायित्व हुनुपर्दछ । जलवायु परिवर्तनमा हाम्रो भूमिका नगण्य भए पनि यसको दुष्परिणाम हामीले नै बढी भोग्नुपरिरहेको छ । यस्तो अन्यायपूर्ण अवस्थाको अन्त्यका लागि जलवायु न्यायको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा सशक्त रूपमा उठाउँदै परिणाममुखी पहल गर्न सरकारले नेतृत्वदायी भूमिका खेल्नुपर्दछ । साथै, विकासका हरेक योजना र कार्यक्रम तर्जुमा गर्दा जलवायु जोखिमको आकलन र न्यूनीकरणलाई अनिवार्य सर्तका रूपमा आत्मसात् गर्नुपर्दछ ।

अब हाम्रो संगठनात्मक अभ्यास, पार्टी कार्यकर्ताको जीवनशैली र जनतासँगको सम्बन्धबारे पनि केही कुरा राख्न चाहन्छु । संगठन सुदृढीकरण र नेता तथा कार्यकर्ताको शैली एक अर्कासँग सम्बन्धित विषय हो । पार्टीले लिएको सिद्धान्त ठीक भएर मात्र हुँदैन सो सिद्धान्तले लिएको उद्देश्य र लक्ष्य हासिल गर्न नेता तथा कार्यकर्ताको कार्यशैली पनि सिद्धान्त अनुरूपको हुनुपर्दछ । सही सिद्धान्त, विचार र दृष्टिकोणको रटानले मात्र पार्टीलाई व्यापक, विस्तारित, लोकप्रिय र निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्न सकिँदैन । प्रगतिशील र लोकतान्त्रिक शैलीको अवलम्बनले मात्र पार्टीको भविष्य सुनिश्चित हुनसक्दछ । सधैँ वर्गीय हित र राष्ट्रिय भावनालाई उच्च प्राथमिकता दिएर निःस्वार्थ ढंगले अग्रसर हुँदा नै कम्युनिष्ट आन्दोलनलाई गन्तव्यमा पुर्‍याउन सकिन्छ ।

अहिले आवश्यकताका आधारमा भन्दा पनि मागका आधारमा कमिटी ठुला र भद्दा बनाउने तथा कमिटीमा राख्ने प्रवृत्ति बढ्दो छ । वास्तवमा पार्टीका विभिन्न तहका कमिटीहरू मानार्थ होइनन्, कार्यार्थ हुन् । कमिटीमा निर्वाचित वा मनोनीत हुनु भनेको निश्चित जिम्मेवारी प्राप्त गर्नु हो । बैठक बस्ने, निर्णय गर्ने र प्रतिवेदन तयार गर्ने औपचारिकतामा मात्र संगठन सीमित हुनुहुँदैन । निर्णय कार्यान्वयन, संगठन विस्तार, कार्यकर्ता परिचालन र जनतासँगको सम्बन्ध विस्तारमा प्रत्येक कमिटी सक्रिय हुनुपर्छ । केन्द्रीय कमिटीदेखि वडा तथा टोल तहसम्मका सबै संरचना क्रियाशील र परिणाममुखी बन्नुपर्छ ।

केही समय अगाडि सम्पन्न आम निर्वाचनमा हाम्रो पराजयलाई समेत संगठन सुदृढीकरण तथा नेता कार्यकर्ताको शैलीसँग जोडेर हेर्नुपर्दछ । अब हामीले आफ्नो कार्यशैलीलाई पुर्नजागृत गर्नुपर्दछ । जबजले माग गरेबमोजिमको संगठन सुदृढीकरण प्रक्रियालाई तीब्रता दिन हाम्रो शैलीलाई परिष्कृत तुल्याउनु पर्दछ । पार्टीको पुनर्जागरणका लागि नेता तथा कार्यकर्ताको जीवनशैली र जनतासँगको सम्बन्धमा सुधार ल्याउनु पनि उत्तिकै आवश्यक छ । साथै, नेता र कार्यकर्ताबीचको सम्बन्ध पनि सहिष्णुतायुक्त, समन्वयात्मक, सहयोगी र एउटै परिवारको सदस्य भएजस्तै रूपमा विकास गर्नुपर्दछ । पार्टी काम गर्ने शिलशिलामा कमीकमजोरी हुन सक्दछ, त्यसका लागि आलोचना र आत्माआलोचनाको पद्धत्तिलाई अपनाउनै पर्दछ । पार्टीमा कसैको स्वस्थ आलोचना समाप्त पार्नको लागि गरिएको हुँदैन र आत्मालोचना हिनताबोधको पर्याय पनि होइन । असल कम्युनिष्ट पार्टीमा सही प्रवृत्तिले उचित स्थान प्राप्त गर्न सकेन भने पार्टी जीवन्त, प्रभावकारी र निर्णायक उद्देश्य हासिलका लागि सफल हुन सक्दैन । यस सन्दर्भमा जननेता मदन भण्डारी र जीवराज आश्रितको जीवनबाट हामीले सादगी, निष्ठा, सहिष्णुता, अनुशासन, अध्ययनशीलता र जनतासँगको आत्मीय सम्बन्धको प्रेरणा लिन सक्छौँ ।

राजनीति व्यक्तिगत सुविधा र प्रतिष्ठा आर्जन गर्ने माध्यम होइन, जनताको सेवा गर्ने पवित्र जिम्मेवारी हो । जनताका दुःख, समस्या र कठिनाइमा साथ दिने, बिरामी पर्दा, विपद् आइपर्दा वा कुनै अप्ठ्यारो परिस्थितिमा उनीहरूसँगै उभिने राजनीतिक संस्कारको विकास गर्नुपर्छ । जनताको जीवन, भावना र दैनिक समस्याबाट टाढिएको नेतृत्वले उनीहरूको विश्वास र भरोसा आर्जन गर्न सक्दैन ।

सहयोद्धा साथीहरू,

यस भेलाले आगामी दिनका लागि कस्तो संकल्प र कार्यदिशा तय गर्नुपर्छ भन्ने विषयमा केही कुरा राख्न चाहन्छु ।
पार्टीका कामकारबाहीको समय–समयमा सिंहावलोकन गर्दै कमी–कमजोरी सुधार्ने, असल परम्पराको जगेर्ना गर्ने र बदलिँदो परिस्थितिअनुरूप उचित निर्णय लिँदै अघि बढ्नु कम्युनिष्ट पार्टीका लागि अपरिहार्य हुन्छ । स्थापना कालदेखि नै हाम्रो पार्टीले विभिन्न राजनीतिक घटनाक्रममा आफूले अवलम्बन गरेका नीति, दृष्टिकोण, व्यवहार र कार्यशैलीको जिम्मेवार एवं संयमित ढङ्गले समीक्षा गर्दै आफूलाई समयानुकूल अद्यावधिक गर्ने परिपाटी बसाउँदै आएको छ ।

हालै सम्पन्न निर्वाचनमा व्यहोर्नुपरेको गम्भीर धक्काको सम्बन्धमा पार्टीले व्यापक छलफल र समीक्षा समेत गरिसकेको छ । समीक्षाबाट निकालिएका निष्कर्षहरूलाई नेतृत्वदेखि कार्यकर्तासम्म सबै तहमा इमान्दारितापूर्वक व्यवहारमा कार्यान्वयन गरिनु पर्दछ ।
नेता तथा कार्यकर्ताबीच जिम्मेवारीको उचित र व्यावहारिक कार्यविभाजन गर्ने, कार्यकर्ताको योगदान र क्षमताको यथोचित मूल्याङ्कन गर्ने तथा पार्टीका सबै तहलाई साझा उद्देश्य र एउटै लयमा अघि बढाउने वातावरण निर्माण गर्नुपर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिमा विकसित भइरहेका चुनौतीहरूलाई सामना गर्न पार्टीलाई थप सुदृढ, एकताबद्ध एवं गतिशील बनाउनु पर्ने आवश्यकता रहेको छ ।

हाम्रो पार्टीले विगतमा पनि अनेकौँ चुनौतीहरूको सामना गर्दै आएको छ । निरंकुश निर्दलीय पञ्चायती व्यवस्थाले लादेको दमन, धरपकड र यातनाले पार्टीका नेता तथा कार्यकर्तालाई विचलित तुल्याउन सकेन । सन् १९९० को दशकमा विश्व कम्युनिष्ट आन्दोलनले गम्भीर धक्का व्यहोरेको अवस्थामा पनि हामीले पलायनताको बाटो रोजेनौँ, बरु आन्दोलनलाई थप लोकप्रिय, सशक्त र व्यापक बनाउँदै अघि बढ्यौँ । हाम्रा महान् नेताहरू मदन–आश्रितको रहस्यमय हत्याबाट सिङ्गो राष्ट्र शोकाकुल बनेको कठिन घडीलाई पनि हामीले शक्तिमा रूपान्तरण गर्‍यौँ । त्यसपछि पार्टीलाई अझ मजबुत, एकताबद्ध र विस्तारित बनाउन सफल भयौँ ।

हो, गत वर्ष भदौ २३ र २४ गते मुलुकमा घटेका घटनाक्रम तथा गत फागुन २१ गते सम्पन्न आमनिर्वाचनमा पार्टीले व्यहोर्नुपरेको धक्काले नेता तथा कार्यकर्तामा केही निराशा उत्पन्न गरेको हुन सक्छ । तर यस सन्दर्भमा म के कुरा स्मरण गराउन चाहन्छु भने अनेकौँ हन्डर, ठक्कर र धक्का सहँदै हामीले आन्दोलनलाई जोगाएर मात्र राखेनौँ, यसलाई नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहका रूपमा स्थापित गर्‍यौँ । साथै, लोकतान्त्रिक आन्दोलनको निर्णायक हिस्साका रूपमा पार्टीलाई विकास गर्न सफल भयौँ । यो हाम्रो गौरवशाली इतिहास हो ।

त्यसैले अहिलेको परिस्थितिबाट हतोत्साहित हुनुपर्ने कुनै कारण छैन । विगतका संघर्ष र सफलताबाट प्रेरणा लिँदै वर्तमानका चुनौतीको सामना गर्न हामीले अझ बढी सक्रियता, पहलकदमी र आत्मविश्वासका साथ अघि बढ्नुपर्छ । यिनै आधारमा आन्दोलनलाई थप सुदृढ, एकताबद्ध र गतिशील बनाउन सकिन्छ ।

फेरि पनि म आफ्नो भावना मात्र होइन, संकल्प दोहोर्‍याउन चाहन्छु कि, एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन । तर हारबाट सही पाठ सिक्नु र कमजोरीहरू सच्याउँदै अघि बढ्नु हाम्रो दायित्व हो । यस दिशामा पार्टी अगाडि बढिरहेको छ । अहिले हामीले भोगेको धक्का अस्थायी हो । सही कार्यदिशा र दृढ प्रतिबद्धताका साथ अघि बढ्ने हाम्रो पार्टीको भविष्य जनताको विश्वास र समर्थनसँग जोडिएको छ । त्यसैले निराश भएर निष्क्रिय बस्ने होइन, विगतका अनुभव र ऐतिहासिक विरासतबाट शिक्षा लिँदै नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्नुपर्छ ।

निकट भविष्यमा हुने स्थानीय तह सहितका निर्वाचनलाई समेत ध्यानमा राख्दै हाम्रा नीति, योजना र कार्यक्रम जनतासमक्ष पुर्‍याउनुपर्छ । जनताका आवश्यकता र अपेक्षालाई आत्मसात् गर्दै उनीहरूको विश्वास र समर्थन आर्जन गर्ने दिशामा हामीले आफूलाई केन्द्रित गर्नुपर्छ ।
‘राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन’ भन्ने जननेता मदन भण्डारीको भनाईलाई यस सन्दर्भमा हामीले मनन गर्नै पर्दछ । यस राष्ट्रिय कार्यकर्ता भेलाले यी सबै विषयमा गम्भीर ध्यान पुर्‍याउनु पर्दछ र आफूलाई थप परिष्कृत बनाउनु पर्दछ । पार्टीलाई सबल र सुदृढ बनाउने स्पष्ट कार्यदिशालाई सबैले अपनाउनु पर्दछ । पार्टीलाई संगठनात्मक रूपमा सुदृढ, व्यवहारमा अनुशासित र जनतासँगको सम्बन्धमा आत्मीय बनाउन आवश्यक अग्रसरता देखाउनु पर्दछ ।

राज्यले युवापुस्ताका आकांक्षालाई बुझ्दै देशभित्रै सम्मानजनक रोजगारी, उद्यमशीलता र सिर्जनाका अवसर निर्माणमा जोड दिनुपर्छ । कृषि, पर्यटन, जलविद्युत्, उद्योग, प्रविधि, नवप्रवर्तन र उत्पादनका क्षेत्रमा नयाँ सम्भावना खोज्नुपर्छ । शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र सुशासनका क्षेत्रमा जनताले अनुभूति गर्नसक्ने परिवर्तन ल्याउनुपर्छ । पार्टीका नीति तथा कार्यक्रम जनताका वास्तविक आवश्यकता र राष्ट्रिय प्राथमिकतासँग जोडिनुपर्छ । कार्यकर्ताको क्षमता विकास, वैचारिक प्रशिक्षण र नयाँ पुस्ताको सहभागिता विस्तारमा पनि विशेष ध्यान दिनुपर्छ ।

जनताको बहुदलीय जनवादलाई विगतको गौरवका रूपमा मात्र होइन, वर्तमानका चुनौती समाधान गर्ने र भविष्य निर्माण गर्ने जीवन्त मार्गदर्शक सिद्धान्तका रूपमा बुझ्नुपर्छ । यसको सिर्जनात्मक विकास र प्रभावकारी कार्यान्वयनबाट नै नेपाली विशेषताको समाजवाद निर्माणको राष्ट्रिय लक्ष्य हासिल गर्न सकिन्छ ।

म सबै नेता तथा कार्यकर्ता साथीहरूलाई आग्रह गर्न चाहन्छु, विगतका उपलब्धिप्रति गर्व गरौँ, कमजोरीबाट पाठ सिकौँ र भविष्यप्रति आत्मविश्वास जगाऔँ । जनताको विश्वास नै हाम्रो सबैभन्दा ठुलो राजनीतिक पूँजी हो । त्यो विश्वास हाम्रो विचार, व्यवहार, कार्यशैली र जनताको जीवनमा ल्याउने सकारात्मक परिवर्तनबाट अवश्य आर्जन गर्न सकिन्छ ।

आउनुहोस्, हामी सबै मिलेर बदलिएको समयमा सामाजिक(आर्थिक रूपान्तरणको जबज जस्तो सही सिद्धान्त अंगीकार गरेको नेकपा (एमाले) लाई संगठनमा सुदृढ, व्यवहारमा अनुशासित र जनताको सुख–दुःखमा साथ दिने भरोसायोग्य निर्णायक राजनीतिक शक्तिका रूपमा विकास गर्ने फेरि एकपटक संकल्प गरौँ ।
धन्यवाद !

श्रीमती विद्यादेवी भण्डारी

वरिष्ठ नेता‚ नेकपा (एमाले)
तथा सम्माननीय पूर्वराष्ट्रपति
२ मङ्सिर २०८३ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000