
काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टीको वैचारिक विकास र संगठनात्मक सुदृढीकरणमा योगदान पु¥याउने उद्देश्यसहित पुनः सक्रिय राजनीतिमा फर्किएको बताएकी छन् । एमालेको राष्ट्रिय कार्यकर्ता भेलालाई बिहीबार सम्बोधन गर्दै नेता भण्डारीले व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नभई आफूले लामो समय योगदान गरेको मातृपार्टीसँग जोडिएर काम गर्ने उद्देश्यले राजनीतिमा फर्किएको स्पष्ट पारिन् ।
उनले आफू कुनै पनि पदप्रति निर्लिप्त रहेको उल्लेख गर्दै राष्ट्रपति जस्तो मुलुकको सर्वोच्च संवैधानिक पदमा रहेर जिम्मेवारी पूरा गरिसकेको बताइन् । पार्टीका नेता तथा कार्यकर्ताले देखाएको माया, विश्वास र अपेक्षाका कारण पुनः सक्रिय राजनीतिमा फर्किएको उनको भनाइ थियो ।
भण्डारीले पछिल्लो समय मुलुकले आर्थिक, सामाजिक र राजनीतिक चुनौती सामना गरिरहेको बताउँदै महँगी, बेरोजगारी, व्यापार घाटा, शान्ति सुरक्षाको अवस्था र सरकारप्रति बढ्दो जनगुनासोले गम्भीर परिस्थिति सिर्जना गरेको उल्लेख गरिन् ।
उनले पछिल्ला राजनीतिक घटनाक्रम र सरकारका कतिपय गतिविधिले संविधान, लोकतान्त्रिक मूल्य तथा संसदीय प्रणालीको अभ्यासमाथि प्रश्न उठाएको बताइन् । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा समेत प्रतिकूल प्रभाव पर्न थालेको उनको भनाइ थियो ।
संविधान संशोधन समय र आवश्यकताअनुसार गर्न सकिने भए पनि त्यसका आधारभूत मान्यता र लोकतान्त्रिक चरित्रमा प्रतिकूल असर पर्ने गरी अघि बढ्न नहुने उनले बताइन् । संविधान संशोधनजस्तो विषयमा सबै राजनीतिक दलबीच पर्याप्त छलफल, परामर्श र राष्ट्रिय सहमति आवश्यक रहेको उनको धारणा थियो ।
सरकारले राजनीतिक असहमति राख्ने व्यक्ति, दलका नेता तथा सञ्चारमाध्यमलाई लक्षित गरी प्रतिशोधपूर्ण व्यवहार गर्न नहुनेमा पनि उनले जोड दिइन् । कानुन उल्लंघन भएको भए निष्पक्ष छानबिन र न्यायिक प्रक्रियाबाट निरूपण हुनुपर्ने भन्दै कानुनलाई राजनीतिक प्रतिशोधको साधन बनाउन नहुने उनले बताइन् ।
भण्डारीले एमालेले आफ्नो वैचारिक प्रतिबद्धतालाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याउँदै पार्टीका नेता तथा कार्यकर्ताको कार्यशैली, जीवनशैली र जनतासँगको सम्बन्धमा सुधार गर्नुपर्ने बताइन् । पार्टीका जनसंगठनलाई पनि समुदायका आवाज, आकांक्षा र समस्या पार्टीसम्म पु¥याउने प्रभावकारी माध्यमका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।
उनले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक, विकास निर्माण र रोजगारीलाई प्राथमिकता दिनुपर्ने बताइन् । जनप्रतिनिधि हुनु व्यक्तिगत प्रतिष्ठा र सुविधा प्राप्त गर्ने अवसर नभई जनताको सेवा गर्ने जिम्मेवारी भएको उनले उल्लेख गरिन् ।
जलवायु परिवर्तनले निम्त्याएका विपद्का कारण मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै उनले रसुवाको भोटेकोशीमा आएको हिमबाढी र गोरखाको बूढीगण्डकीमा आएको बाढीबाट प्रभावित नागरिकको पुनःस्थापना तथा जीविकोपार्जनको व्यवस्था राज्यको प्राथमिक दायित्व हुनुपर्ने बताइन् । जलवायु न्यायको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउन पनि उनले सरकारलाई आग्रह गरिन् ।
एमालेको पछिल्लो निर्वाचनमा भएको पराजयबारे बोल्दै भण्डारीले त्यसलाई संगठनात्मक कमजोरी र नेता–कार्यकर्ताको कार्यशैलीसँग जोडेर समीक्षा गर्नुपर्ने बताइन् । निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने भन्दै कमजोरी सच्याएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
उनले पार्टीका कमिटीहरूलाई पद र प्रतिष्ठाको माध्यम नभई जिम्मेवारी पूरा गर्ने कार्यस्थलका रूपमा विकास गर्नुपर्ने बताइन् । केन्द्रदेखि वडा र टोल तहसम्मका सबै संगठनात्मक संरचनालाई सक्रिय, परिणाममुखी र जनतासँग जोडिएको बनाउनुपर्नेमा उनले जोड दिइन् ।
आगामी दिनमा पार्टीलाई थप एकताबद्ध, अनुशासित र गतिशील बनाउँदै नयाँ पुस्ताको सहभागिता विस्तार गर्नुपर्ने बताउँदै भण्डारीले युवाका लागि स्वदेशमै रोजगारी, उद्यमशीलता र सिर्जनाका अवसर निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
उनले विगतका उपलब्धिप्रति गर्व गर्दै कमजोरीबाट पाठ सिक्न र भविष्यप्रति आत्मविश्वासका साथ अघि बढ्न एमालेका नेता तथा कार्यकर्तालाई आग्रह गरिन् । ‘जनताको विश्वास नै हाम्रो सबैभन्दा ठूलो राजनीतिक पुँजी हो,’ उनले भनिन्, ‘त्यो विश्वास हाम्रो विचार, व्यवहार, कार्यशैली र जनताको जीवनमा ल्याउने सकारात्मक परिवर्तनबाट मात्रै आर्जन गर्न सकिन्छ ।’
भण्डारीले बदलिएको परिस्थितिमा एमालेमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्दै संगठनात्मक रूपमा सुदृढ, व्यवहारमा अनुशासित र जनताको सुखदुःखमा साथ दिने भरोसायोग्य राजनीतिक शक्तिका रूपमा विकास गर्न सबैलाई संकल्प गर्न आह्वान गरिन् ।


















