Logo
Logo

राष्ट्रिय भेलामा ओलीले राखे सुरक्षा चासो, शतर्क रहन स्वयंसेवकलाई निर्देशन


0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलामा अपरिचित व्यक्तिहरूको प्रवेश र सुरक्षा व्यवस्थापनप्रति चासो व्यक्त गरेका छन् । काठमाडौंमा आयोजित राष्ट्रिय भेलाको दोस्रो दिन आज सम्बोधन गर्दै उजले कार्यक्रमस्थलमा कसले प्रवेश गरिरहेको छ र को कहाँसम्म पुगिरहेको छ भन्ने विषयमा स्वयंसेवकहरू सचेत हुनुपर्ने बताए । ओलीले आफूहरू बसिरहेको स्थानसम्म एक अपरिचित व्यक्ति आएर पत्र बुझाएको प्रसंग सुनाउँदै सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरे ।

ती व्यक्तिले आफूलाई सामान्य नेपाली मतदाता भएको बताएको उल्लेख गर्दै ओलीले कार्यक्रमस्थलमा अपरिचित व्यक्तिको सहज पहुँच हुन नहुने बताए । पार्टीका नेता तथा प्रतिनिधिहरूलाई भेट्न नचिनेका व्यक्तिहरू सहजै पुग्दा महत्वपूर्ण समय खेर जाने भन्दै उनले स्वयंसेवकहरूलाई प्रवेश व्यवस्थापन चुस्त बनाउन निर्देशन दिए । उनले भेलामा सहभागी सबै नेता तथा कार्यकर्तालाई परिचयपत्र लगाउन पनि आग्रह गरे ।

परिचयपत्रले सहभागीको पहिचान स्थापित गर्ने र स्वयंसेवक तथा सुरक्षाकर्मीलाई व्यक्ति चिनाउन सहज हुने उनको भनाइ छ । बैठकका बेला अनावश्यक कुराकानी नगर्न र पूर्ण शान्त वातावरण कायम गर्न पनि ओलीले निर्देशन दिए । भेटघाट र कुराकानीका लागि खाना, खाजा तथा विश्रामको समय उपयोग गर्न आग्रह गर्दै अध्यक्ष ओलीले राष्ट्रिय भेलालाई अनुशासित कार्यक्रमका रूपमा सम्पन्न गर्नुपर्ने बताए ।


उनले भने, ‘बैठकलाई पूर्ण रूपमा शान्त, अनुशासित र मर्यादित बनाउनुपर्छ । आपसी भेटघाट र कुराकानीका लागि खाना खाने, खाजा तथा विश्रामको समय प्रयोग गरौँ, बैठकको समय होइन । सुरक्षाका दृष्टिले स्वयंसेवक साथीहरूले पनि विशेष ध्यान दिनुपर्छ। अपरिचित व्यक्तिको प्रवेश, भेटघाट र आवतजावतलाई व्यवस्थित गर्नुपर्छ। साथै, सबै प्रतिनिधि तथा नेताहरूले आफ्नो परिचयपत्र अनिवार्य रूपमा लगाउनुपर्छ । सांस्कृतिक वा अन्य कारणले लगाउन नमिल्ने साथीहरूले परिचयपत्र साथमा राख्नुपर्छ र आवश्यक पर्दा देखाउनुपर्छ । आजको कार्यक्रम दिउँसो २ बजेसम्म सम्पन्न गर्ने लक्ष्य राख्दै सबैलाई अनुशासित, जिम्मेवार र मर्यादित रूपमा सहभागी हुन आग्रह गर्दछु । कार्यक्रमलाई अनुशासनको नमूना बनाउँदै निर्धारित कार्यसूचीअनुसार अघि बढौँ ।’

ओलीले निर्धारित समयभित्र कार्यक्रम सम्पन्न गर्नेगरी अनुशासित भएर अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000