
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवा प्रदायकलाई गुणस्तरीय सेवा दिएर मात्रै नाफा कमाउन निर्देशन दिएका छन् । उनले दूरसञ्चार सेवाको गुणस्तरमा कुनै पनि सम्झौता स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार आयोजना गरेको दूरसञ्चार सेवाको वर्तमान अवस्था तथा गुणस्तरसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री तिमिल्सिनाले सेवा प्रदायकले लागत घटाउने र नाफा बढाउने नाममा उपभोक्तालाई गुणस्तरहीन सेवा दिन नपाउने बताए ।
राजधानी काठमाडौंमै फोन सम्पर्क स्थापित गर्न कठिन हुने र उपभोक्ताले तोकिएको इन्टरनेट गति प्राप्त गर्न नसक्ने अवस्था गम्भीर रहेको उल्लेख गर्दै उनले गुणस्तरीय दूरसञ्चार सेवा नागरिकको न्यूनतम आवश्यकता भएको बताए ।
उनले अनुमतिपत्र लिँदा गरेका प्रतिबद्धता पूरा गर्न र सरकारलाई बुझाउनुपर्ने बक्यौता तत्काल तिर्न सेवा प्रदायकलाई आग्रह गरे । अनुमतिपत्रको अवधि समाप्त हुँदासमेत व्यवसाय विस्तार गर्ने तर राज्यप्रतिको दायित्व पूरा नगर्ने प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ थियो ।
‘पहिला आफूले गर्नुपर्ने काम शतप्रतिशत पूरा गर्नुस्, त्यसपछि प्रश्न उठाउनुस् । आफैँ प्रश्नको घेरामा रहेको अवस्थामा अरूलाई प्रश्न गर्ने नैतिक आधार हुँदैन,’ उनले भने ।
मन्त्री तिमिल्सिनाले कानुन उल्लङ्घन गर्ने सेवा प्रदायकमाथि कारबाही गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पनि निर्देशन दिए । पत्राचार र अनुरोधले मात्रै सुधार नहुने भन्दै नियामकले आफ्नो कानुनी अधिकार र जिम्मेवारी प्रभावकारी रूपमा प्रयोग गर्नुपर्ने उनले बताए ।
‘अब मिलाएर कमाउने दिन गए । काम गरेर, जवाफदेहिता देखाएर र गुणस्तरीय सेवा दिएर मात्रै पैसा कमाउन सकिन्छ भन्ने स्थापित गर्नु छ,’ उनले भने ।
कार्यक्रममा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार सेवाको गुणस्तर सुधारका लागि सेवा प्रदायक, नियामक र सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए । उनले सेवा सुधारका समस्या, समाधानका उपाय र कार्यान्वयनको समयसीमासहित स्पष्ट कार्ययोजना बनाउनुपर्नेमा जोड दिए ।


















