
काठमाडौं । गत वैशाख १२ गते सरकारले काठमाडौंका थापाथली, मनोहरा र सिनामंगललगायतका नदी किनारमा डोजर चलाएको थियो । सार्वजनिक जग्गा अतिक्रमणमुक्त बनाउने र नदी किनार व्यवस्थित गर्ने सरकारी अभियानअन्तर्गत बस्ती हटाइयो । त्यसपछि विस्थापित परिवारलाई अस्थायी आश्रयस्थलमा राखियो । तत्कालीन व्यवस्थापनका क्रममा १५ दिनभित्र वैकल्पिक बसोबासको व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको थियो । तर, १५ दिनको समयसीमा सात महिनासम्म पनि पूरा भएन । सरकारको प्रतिबद्धता कागज र भाषणमै सीमित हुँदा विस्थापित भने होल्डिङ सेन्टरमै रोकिएका छन् । आज उनीहरू न घरमा छन्, न त आफ्नो भविष्यको कुनै टुंगोमा । कोही बिरामी भएर उपचारको प्रतीक्षामा छन् । कोही औषधि किन्ने पैसा नभएर छटपटाइरहेका छन् । बालबालिकाको पढाइ प्रभावित भएको छ । वृद्धवृद्धा र अशक्त नागरिकको दैनिक जीवन कष्टकर बनेको छ । तर, सात महिनासम्म व्यवस्थापन गर्न नसकेका परिवारलाई अहिले त्यही अस्थायी आश्रयस्थलबाट समेत हट्न आदेश दिइएको छ । अब जाने कहाँ रु बस्ने कसरी रु खाने के रु भन्ने चिन्ताले उनीहरूलाई पिरोल्न थालेको छ ।
बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार सुरुमा २ हजार ६ सय ८ घरधुरीका ११ हजार १ सय ५ जनाले कुसुमवासीका रूपमा नाम टिपाएका थिए । पछि डिजिटल लगत संकलन गर्दा २ हजार ८२ परिवारको विवरण प्राप्त भयो । अहिले समितिको सम्पर्कमा ३ सय ८८ घरधुरीका १ हजार ४ सय ८८ जना छन् । तीमध्ये इचंगुनारायणमा ४५, खरिबोटमा ३२ र बोडेमा १९ गरी ९६ परिवार होल्डिङ सेन्टरमा बसिरहेका छन् ।
तर, सुरुमा नाम टिपाएका हजारौँ मानिसमध्ये बाँकी परिवार अहिले कहाँ छन् ? कति परिवारको पुनःस्थापना भयो र कति अझै अस्थायी तथा असुरक्षित बसोबासमै छन् ? यसको यकिन विवरणसमेत सरकारसँग छैन । अर्थात्, सरकारले बस्ती त हटायो, तर विस्थापितको वास्तविक अवस्था कस्तो छ भन्ने पूर्ण विवरणसमेत सार्वजनिक गर्न सकेको छैन ।
सरकारले विस्थापित परिवारको व्यवस्थापनका लागि निर्णय नै नगरेको भने होइन । गत जेठ ५ गते बसेको मन्त्रिपरिषद् बैठकले आफैँ वैकल्पिक बसोबासको व्यवस्था गर्न चाहने परिवारलाई पुनःस्थापना खर्च र मासिक राहत दिने निर्णय गरेको थियो । पाँच जनासम्मको परिवारलाई एकमुष्ट २५ हजार रुपैयाँ र मासिक १५ हजार रुपैयाँ दिने व्यवस्था गरिएको थियो । पाँच जनाभन्दा बढी सदस्य भएको परिवारलाई थप प्रत्येक सदस्यबापत मासिक दुई हजार रुपैयाँ उपलब्ध गराउने भनिएको थियो । त्यस्तै, वृद्धवृद्धा, अशक्त, असहाय र आफ्नै व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरमा राख्ने तथा बालबालिकाको शिक्षा र स्वास्थ्य सेवा स्थानीय तहसँग समन्वय गरेर सुनिश्चित गर्ने निर्णय पनि भएको थियो । तर, निर्णय र कार्यान्वयनबीच ठूलो खाडल देखिएको छ । धेरै परिवारले घोषित राहतसमेत नपाएको गुनासो गरेका छन् । होल्डिङ सेन्टरमा बस्नेहरूका लागि स्वास्थ्य उपचार, पोषणयुक्त खाना र नियमित अनुगमनको व्यवस्था प्रभावकारी हुन सकेको छैन ।
विस्थापित नागरिकले घर मात्रै गुमाएनन्, सरकारले सुरक्षित भनेर राखेको अस्थायी आश्रयस्थलमा समेत जोखिम भोग्नुप¥यो । कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग भवनमा राखिएका विस्थापित परिवारले वैशाखमै वर्षाको पानीबाट सास्ती खेप्नुपरेको थियो । छतबाट पानी चुहिँदा ओढ्ने-ओछ्याउने भिजे । बालबालिकासमेत रातभर सुत्न पाएनन् ।
त्यसपछि असार २७ गते राति त अवस्था झन् भयावह बन्यो । बागमती नदीमा आएको बाढी होल्डिङ सेन्टरभित्रै पस्यो । घुँडासम्म पानी जम्दा विस्थापितका लत्ताकपडा र खाद्यान्न भिजे । मध्यरातमै उद्धार गर्नुपर्ने अवस्था आयो । बाढीबाट जोगाउने भन्दै नदी किनारका बस्तीबाट हटाइएका नागरिक सरकारी आश्रयस्थलमै बाढीको जोखिममा परे । सुरक्षित बसोबासको आश्वासनमाथि यस घटनाले गम्भीर प्रश्न उठायो ।
समस्या यतिमै रोकिएन । खानपान, खानेपानी र पुनःस्थापनाको व्यवस्था नभएको भन्दै विस्थापितहरूले पटकपटक विरोध गर्नुप¥यो । असार १२ गते वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिइएको भन्दै उनीहरू माइतीघरमा प्रदर्शन गर्न पुगे ।
होल्डिङ सेन्टरभित्रै पनि उनीहरूको आक्रोश बढ्दै गयो । कतिपय अवस्थामा खाना र पानीको अभाव भएपछि आफैँ पैसा उठाएर खानेकुरा किन्नुपर्ने अवस्था आयो । खानेपानीको गुणस्तरमाथि समेत प्रश्न उठ्यो । राष्ट्रिय सभाका सांसदहरूले इचङ्गुनारायणस्थित सेन्टरको अनुगमनपछि प्रदूषित पानी पिउन बाध्य पारिएको विषय उठाउँदै सरकारको व्यवस्थापनमाथि प्रश्न गरेका थिए ।
अहिले सात महिना बितिसक्दा पनि समस्या समाधान भएको छैन । बरु, भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा रहेका विस्थापितलाई मङ्सिर ११ गते दिउँसो २ बजेसम्म सेन्टर खाली गर्न सूचना टाँसिएको छ । जग्गा भएका परिवारलाई हट्न भनिएको छ भने जग्गा नभएकालाई घरभाडाको सुविधा लिन भनिएको छ । तर, स्थायी बसोबासको टुंगो नलागेका परिवार फेरि कहाँ जाने भन्ने अन्योलमा छन् । बोडेमा मात्रै होइन, अरु होल्डिङ सेन्टरमा रहेका परिवारसमेत आफूहरूलाई पनि हटाइने हो कि भन्ने त्रासमा छन् ।
यसरी हेर्दा प्रश्न केवल कुसुमवासी बस्तीमा डोजर चलाइएको विषयमा मात्रै सीमित छैन । विस्थापितलाई राख्ने भनिएको ठाउँ कति सुरक्षित थियो ? त्यहाँ पानी, खाना र स्वास्थ्य उपचारको व्यवस्था किन भएन रु पुनःस्थापनाको टुंगो नलाग्दै उनीहरूलाई सेन्टरबाट निकाल्न किन खोजिँदै छ ? यी प्रश्नको जवाफ सरकारले दिनुपर्ने देखिन्छ ।
यसको अर्को महत्त्वपूर्ण पाटो वास्तविक कुसुमवासी पहिचान हो । सरकारले विस्थापित सबै परिवारलाई एउटै आधारमा पुनःस्थापना गर्नुपर्छ भन्ने होइन । सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेका, अन्यत्र जग्गा भएका, वास्तविक भूमिहीन र लामो समयदेखि जीविकोपार्जनका लागि त्यहीँ आश्रित परिवारको अवस्था फरक हुन सक्छ । तर, वास्तविक कुसुमवासी पहिचान गर्ने नाममा सबैलाई अनिश्चिततामा राख्न पनि मिल्दैन ।
तर, अहिले सरकारी निकायहरूबीच जिम्मेवारीको अन्योल नै मुख्य समस्या बनेको छ । बागमती सभ्यता एकीकृत विकास समितिले बस्ती हटाएपछि होल्डिङ सेन्टर व्यवस्थापन र प्रारम्भिक विवरण सङ्कलनको काम आफ्नो जिम्मेवारीमा परेको बताउँछ । त्यसपछि पुनःस्थापनाको काम भूमि व्यवस्था मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयतर्फ देखाइएको छ ।
महिला मन्त्रालय आफ्नो जिम्मेवारी ज्येष्ठ नागरिक, महिला र बालबालिकाका लागि आवश्यक सामग्री व्यवस्थापन गर्नेसम्म रहेको बताउँछ । भूमि व्यवस्था मन्त्रालयले वास्तविक कुसुमवासी पहिचान र जग्गा वितरणको काम भूमि समस्या समाधान समितिको भएको जनाएको छ । उता, समितिले सङ्कलित विवरण स्थानीय तहमा पठाइएको र त्यहाँबाट वास्तविकता यकिन गर्ने प्रक्रिया चलिरहेको बताउँछ । अर्थात्, एउटा निकायले अर्को निकायलाई जिम्मेवारी देखाइरहेको छ । तर, विस्थापित परिवारको समस्या समाधान गर्ने ठोस नेतृत्व कसले लिने भन्ने स्पष्ट छैन ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई आवास, स्वास्थ्य र शिक्षासम्बन्धी हक सुनिश्चित गरेको छ । संविधानको धारा ३७ ले आवासको हक, धारा ३५ ले स्वास्थ्यसम्बन्धी हक र धारा ३१ ले शिक्षासम्बन्धी हकको व्यवस्था गरेको छ । अर्थात्, नागरिकको आवास, उपचार र शिक्षाको सुनिश्चितता राज्यको दायित्व हो । सार्वजनिक जग्गा अतिक्रमण हटाउने सरकारको अधिकार आफ्नै ठाउँमा छ । तर, त्यसक्रममा विस्थापित भएका नागरिकको आधारभूत अधिकार सुनिश्चित गर्ने जिम्मेवारीबाट सरकार उम्किन मिल्दैन ।
राष्ट्रिय मानवअधिकार आयोगले समेत वास्तविक कुसुमवासीको आवास र अन्य अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । तर, मानवअधिकारको विषयमा ध्यानाकर्षण गराउनु र व्यवहारमा नागरिकको अधिकार सुनिश्चित गर्नु फरक कुरा हुन् । सरकारले अब आश्वासन होइन, काम देखाउनुपर्ने बेला हो ।
सहर व्यवस्थित बनाउने अभियानमा सार्वजनिक जग्गा खाली हुनु उपलब्धि होला । तर, त्यही अभियानबाट विस्थापित नागरिकको जीवन झन् अव्यवस्थित बनेको छ भने त्यसलाई सफल व्यवस्थापन भन्न सकिँदैन । सरकारले सात महिनाअघि घर भत्कायो । अब उनीहरूको भविष्य बनाउने जिम्मेवारीबाट भाग्न पाउँदैन । किनकि, डोजरले टहरा भत्काउन सक्छ, तर नागरिकप्रतिको राज्यको दायित्व भत्काउन सक्दैन । डोजर चलाउन सरकारलाई केही घण्टा लाग्यो । तर, विस्थापित नागरिकलाई सम्मानपूर्वक बाँच्ने व्यवस्था गर्न सात महिना पनि पर्याप्त भएन । अब प्रश्न एउटै छ– बस्ती हटाउने सरकारसँग बास दिने योजना कहिले आउँछ ?



















