
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकार अल्पमतमा परेको हो वा होइन भन्ने विवादमा सर्वोच्च अदालतमा शुक्रबार पनि सुनुवाइ हुन सकेन । एमालेले दायर गरेको रिट र प्रदेश सरकारले त्यसविरुद्ध दिएको भ्याकेट निवेदन दुवैको सुनुवाइ न्यायाधीश सपना प्रधान मल्ल र चन्द्रबहादुर सारूको संयुक्त इजलासमा तोकिएको थियो । तर हेर्न नभ्याइने सूचीमा परेपछि सुनुवाइ रोकियो ।
दुवै निवेदनको सुनुवाइ यसअघि पनि पटकपटक सर्दै आएको छ । एमालेले असोज २० गते सर्वोच्चमा रिट दायर गर्दै मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनुपर्ने माग गरेको थियो । त्यसको भोलिपल्ट न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो । नयाँ नियुक्ति गर्ने, कानुन संशोधन गर्ने र अध्यादेश जारी गर्नेजस्ता काम नगर्न अदालतले रोक लगाएको थियो ।
उक्त आदेश कानुनी र संवैधानिकरुपमा आधारविहीन रहेको जिकिर गर्दै प्रदेश सरकारले कात्तिक १८ गते भ्याकेट निवेदन दर्ता गराएको हो। सरकारले एकपक्षीय सुनुवाइका आधारमा जारी भएको अन्तरिम आदेश खारेज गर्न माग गरेको छ ।



















