Logo
Logo

कांग्रेसले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्छः पौडेल


- दृष्टि न्युज/संवाददाता


विराटनगर, १० माघ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने बताएका छन् ।

शनिवार प्रदेश १ को राजधानी विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै नेता पौडेलले कांग्रेसले मुख्य प्रतिपक्ष भएकोले संघ र प्रदेशमा प्रतिपक्षकै भूमिकामा रहने बताउँदै अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने बताएका हुन ।

कांग्रेसले प्रष्ट भएर जिम्मेवार रुपमा प्रतिपक्षीको भूमिका निभाउने बताउँदै नेता पौडेलले अविश्वासको प्रस्ताव दर्ता भएका प्रदेशमा सत्ताको विपक्षमा मतदान गर्ने बताए । उनले भने– ‘हामी भागवण्डामा लोभिँदैनौ, प्रतिपक्षको धर्म प्रष्ट निभाउँछौ, त्यसैले सत्ताको विपक्षमा मत हाल्छौं’ ।

नेता पौडेलले प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम अलोकतान्त्रिक, असंवैधानिक र सर्वसत्तावादी भएकोले नसच्चिएसम्म नेपाली कांग्रेस कुनै हालतमा चुनाव जान नसक्ने समेत बताए । ‘नेपाली कांग्रेसले संविधानले प्रदान गरेको कानूनको हक अनुसारको चुनावमा मात्र भाग लिने हो । लहडमा गरिएको राष्ट्रघाती कदमलाई साथ दिन चुनावमा जान सक्दैन ।’

पटक–पटक लहड र सनकका लागि अर्बौ खर्चेर चुनाव गराउँदा देश झन् गरिब हुने र राजनीतिक अस्थिरतामा फस्ने भएकोले कांग्रेसले त्यस्तो कदमलाई कदापि साथ दिन नसक्ने प्रष्ट नेता पौडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्