खोटाङ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले संविधान संशोधनको पूर्व सर्तमा मात्र सरकारमा जाने बताएका छन् ।
मंगलबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा राईले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राज्यको सबै अंगमा पूर्ण समानुपातिक समावेशी, पूर्णअधिकार सहितको स्थानीय तह, पहिचानसहितको प्रदेश तथा स्थानीय तह, धर्म निरपेक्षताको विषय स्पष्ट व्याख्या, भाषा, संस्कृतिमा समानता लगायतका विषय समेटेर संविधान संशोधनको पूर्व सर्त नगरी सरकारमा नजाने बताएका हुन् ।
जनता समाजवादी पार्टी सरकारमा गए एमसीसीको पक्षमा कि विपक्षमा रहन्छ भन्ने प्रश्नमा आधिकारिक निर्णय नभइसकेको राईको भनाइ थियो ।
जनता समाजवादीभित्रको विवादले पार्टीलाई जिवन्त राख्न मद्दत गरेको समेत राईले दाबी गरे । राई दुई सातादेखि गृह जिल्ला खोटाङमा पार्टी विस्तारमा छन् ।












