Logo
Logo

निरंकुश बन्दै ओली, एक्लौटी निर्णयमा सांसद र नेतालाई कारवाही गर्न सक्ने


दृष्टि संवाददाता


काठमाडौं । पार्टी भित्र एक्लौटी निर्णय गर्दै आएका नेकपा एमालेका अध्यक्ष तथा प्रधामन्त्री केपी शर्मा ओलीले सासंद र नेता हटाउन सक्ने गरी एक्लौटी अधिकार लिएका छन् ।

आफू निकट केन्द्रीय सदस्यहरुको बालुवाटारमा भएको बैठकमार्फत समानुपातिक सांसद र पार्टीका केन्द्रिय सदस्य एक्लौटी निर्णयबाट हटाउन सक्ने अधिकार लिएका छन् । बैठकमा प्रस्तुत अध्यक्षलाई अधिकार प्रत्यायोजन शीर्षकको एजेण्डाबामा समानुपातिक सांसद हटाउन दलको नेतालाई अधिकार दिने प्रस्तावमार्फत ओलीले अधिकार लिएका हुन् ।

अब ओलीले संघीय तथा प्रदेशसभाका समानुपातिक सांसदहरुको बन्दसूचीमा रहेको नाम एक्लौटी निर्णयबाट हटाउन सक्नेछन् । त्यति मात्र होइन पार्टीको केन्द्रीय सदस्य तथा मातहत कमिटीका सदस्य हटाउन सक्ने अधिकार पनि अध्यक्ष ओलीलाई नै दिइएको छ ।

राजनीतिक संकटको समय भएकाले केही अधिकार अध्यक्षलाई दिइएको केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङले दृष्टिन्यूजलाई बताए । उनले भने– ‘अहिलेको असहज अवस्थामा अध्यक्षले यस्तो अधिकार पाउनु स्वभाविक हो । पार्टी बनाउन सबै गाउँ–गाउँ जानुपर्नेछ । भनेको बेला सबै भेला हुन सकिन्न । स्थायी कमिटीले पनि पूर्णता पाएको छैन । त्यसैले अध्यक्षलाई अधिकार दिइएको हो ।’

बैठकले अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गर्ने सबै काम पिन अध्यक्षलाई दिने निर्णय गरेको छ  । प्रस्ताव पारित भएसँगै पार्टीमा ओली झनै शक्तिशाली बनेका छन् । र, चाहेकै भरमा कुनै पनि नेता तथा सांसदलाई एक्लौटी निर्णयबाट हटाउनसक्ने छन् ।

कतिपय नेताले भने असिमित अधिकार दिइदा अध्यक्ष निरंकुश बन्न सक्ने भन्दै उक्त प्रस्तावको विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्