Logo
Logo

‘केपी ओलीको कार्यशैली गलत छ, आत्मसमर्पण गरेको छैन’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीसामु आत्मसमर्पण नगरेको बताएका छन् । शनिबार अध्यक्ष ओलीले बोलाएको पार्टी संसदीय दलमा सहभागी भएका गौतमको शनिवार राति नै यस्तो धारणा सार्वजनिक भएको हो ।

गौतमले ओलीको कार्यशैली गलत रहेको र उनीसामु आफूले आत्मसमर्पण नगरेको बताएका छन् । ओलीले फागुन २८ गते प्रधानमन्त्री निवास बालुवाटारमा राखेको बैठक केन्द्रीय कमिटीको बैठक नभएको गौतमको भनाई छ । गौतमले भने, ‘त्यसले गरेका निर्णय फिर्ता लिनै पर्छ,’ ।

गौतमले भने ‘पार्टीभित्र रहेका कमरेडहरुलाई उहाँहरुको अनुपस्थितिमा कुनै कारवाही गर्न मिल्दैन’ । शनिबार बेलुका नै गौतमले उनका प्रेस सल्लाहकार विश्वमणि सुवेदीमार्फत् बेलुका आफ्नो चारबुँदे धारणा सार्वजनिक गरेका हुन्।

नेता गौतम पार्टी विभाजित हुँदा कुनै पक्षतर्फ नलागी एकता अभियान भनेर सुरु गरेका थिए । केपी ओली एमाले अध्यक्ष भएको हुँदा उनले नेतृत्व गर्ने पक्षलाई समूह भन्न नमिल्ने गौतमको भनाई छ । गौतमले भनेका छन्, ‘तर उहाँको कार्यशैली गलत छ, उहाँकाअगाडि मैले आत्मसमर्पण गरेको छैन, गर्ने पनि छैन,।’

पार्टीका वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल नेतृत्वको पक्षले फागुन २८ गते ओलीले आफूनिकटका नेताहरुलाई मात्र बोलाएर आफूअनुकूलका निर्णय गरेको हुँदा त्यसलाई स्वीकार नगर्ने बताउँदै आएका छन् । पार्टीका बैठकमा सहभागिताका लागि पहिले फागुन २८ गतेका निर्णय बदर गर्नुपर्ने उनीहरुको अडान छ ।

शनिबार ओली पक्षले वरिष्ठ नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई कारबाहीका लागि स्पष्टीकरण सोध्ने निर्णय गरेपछि नेकपा एमालेमा थप विवाद बढेको छ । आफू पार्टी एकता राष्ट्रिय अभियानमै रहेको र सो उद्देश्य पूरा नहुँदासम्म अभियान जारी राख्ने गौतमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्