Logo
Logo

कन्सलटेन्सी सञ्चालक रातारात करोडपति, विद्यार्थीको विदेशमा बेहाल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । राजधानीका टोलटोलमा एजुकेशन कन्सलटेन्सी खुलेका छन् । पुतलीसडक तथा बागबजार क्षेत्रमा त एउटै घरमा दर्जन सम्म बोर्ड देखिन्छन् । भाषा प्रशिक्षण तथा परामर्शको अनुमति लिएका ती कन्सलटेन्सीको कमाई भने अचम्मको छ । कन्सलटेन्सी सञ्चालकहरु रातारात करोडपति बनिरहेका छन् । तर, उनीहरुलाई करोडपति बनाउने विद्यार्थीहरुको भने विदेशमा बिचल्ली भइरहेको छ ।

कन्सलटेन्सीका सञ्चालकहरुको कमाई आश्चर्यजनक छ । उनीहरुले भाषा पढाएर र परामर्श गरेर पैसा कमाएका होइनन् । विदेशका कलेजमा विद्यार्थीको ‘तस्करी’ गरेर कमाएका हुन् । जून कलेजमा उनीहरुले विद्यार्थी पठाउँछन्, ती कलेजबाट उनीहरुले पैसा लिने गरेका छन् । नेपाली विद्यार्थीहरु तान्नकै लागि अष्ट्रेलिया लगायत देशमा कमसल कलेजहरु खुलिरहेका छन् । उनीहरुको नेपालका कन्सलटेन्सीसँग साँठगाँठ रहेको छ ।

हालै अष्ट्रेलिया प्रकरणले कन्सलटेन्सीको ठगीलाई बाहिर ल्याएको छ । काठमाडौँका ठूला कन्सलटेन्सीहरुले दर्ता नै नभएको कलेजमा विद्यार्थी पठाएर गरीब नेपालीका छोराछोरीलाई ठगी गरेका छन् ।
‘हाम्रो टाइम त गयोगयो, बुबाआमाले दुःख गरेर पठाएको पैसासमेत खाइदिए’ गत मंगलबार बेलुका अष्ट्रेलियाबाट रुँदै एक नेपाली विद्यार्थीले टेलिभिजन कार्यक्रममा भनिन् । उनी जस्तै एक हजारभन्दा धेरै नेपाली विद्यार्थीहरु अष्ट्रेलियामा बिचल्लीमा परेका छन् । दर्ता नै नभएको कलेजमा भर्ना गरेर उनीहरुलाई ठगी गरिएको हो । जसमा नेपालका ठूला कन्सलटेन्सीहरु जोडिएका छन् ।
सिड्नीमा रहेको एआइबिटी (एसियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी) मा दर्ता नै नभइकन भर्ना भएका विद्यार्थीहरू कलेज खारेजीमा परेपछि एक हजारभन्दा धेरै नेपाली विद्यार्थीहरु बिचल्लीमा परेका हुन् ।

कसरी भयो ठगी ?
नेपालमा नर्सिङको प्रमाणपत्र तहमा उत्तीर्ण गरेका विद्यार्थीहरूलाई अस्ट्रेलियामा पढाइदिने भन्दै विद्यार्थीहरूलाई कन्सलटेन्सीहरुले विज्ञापन गरे । विज्ञापनको क्रममा एआइबिटी कलेज विश्वस्तरिय भएको बताए । २ वर्षमै नर्सिङको व्याचलर सकिने र एक वर्ष क्रेडिट पाउने पनि कन्सल्टेन्सीले बताए । विद्यार्थीहरूलाई ट्रान्सफर गर्न पनि सकिने कन्सलटेन्सीहरुले बताए । विद्यार्थीले पत्याए । पछि अफर लेटर आयो । उनीहरुले करिब २० लाख रुपैयाँ बुझाए । भिसा पनि आयो । उनीहरु अष्ट्रेलिया पुगे । तर, भर्ना भएको कलेज दर्ता नै नभएको थाहा भयो । कन्सलटेन्सीहरुले भने सेप्टेम्बर सम्ममा दर्ता भइसक्ने बताए । त्यही आशमा उनीहरु कलेजलाई फि बुझाउँदै गए ।
लाखौँ खर्च गरेर डेढ वर्ष पढेपछि समाचारबाट विद्यार्थीले थाहा पाए एआइबिटीको दर्ता खारेजी भयो । अर्थात् कलेज बन्द भयो । यो थाहा पाएपछि विद्यार्थीले कन्सलटेन्सीहरुलाई सोधे । कन्सलटेन्सीहरुले विद्यार्थीले नै राम्रो जानकारी नराखेर दर्ता नभएको भन्दै पन्छिए ।
यसरी विभिन्न कन्सल्टेन्सीहरुले ठगेका विद्यार्थीहरू चौतर्फी मारमा परेका छन् । एकातर्फ कसैको डेढ र कसैको एक वर्षको पढाइ, पैसा र समय सकियो । अर्कोतर्फ कलेजले विद्यार्थीलाई अर्को कलेज पढ्न जान आवश्यक रिलिज लेटर दिएको छैन । र, सबैभन्दा ठुलो समस्या चाहिँ अर्को कलेजबाट विद्यार्थीहरूलाई सिओइ (कन्फरमेसन अफ इनरोलमेन्ट)भनिने भर्नाको सुनिश्चितता पत्र नहुँदा भिजाको म्याद नै सकिनेछ । म्याद सकिएपछि विद्यार्थीहरू रित्तै हात ऋण बोकेर नेपाल फर्कनु पर्नेछ । जसकारण विद्यार्थीको रुवाबासी सुरु भएको छ । उक्त कलेजको समस्यामा करिब २८ हजार विद्यार्थी परेको र यसमध्ये करीब १८ सय नेपाली विद्यार्थी रहेको छ ।

ठूला कन्सेलेन्सीमाथि कारबाही होला ?
अस्टे«लियाको सिड्निमा एआइबिटी कलेज बन्द भएर अलपत्र परेका हजार बढी विद्यार्थीहरू अहिले अलपत्र छन् । उनीहरू आफन्त र मिडियासँग धुरुधुरु रोएर सहजिकरणको लागी याचना गरिरहेका छन् । यसरी विद्यार्थीलाई रुवाउने विभिन्न आठ वटा कन्सलटेन्सीहरु भएको विद्यार्थीहरूले बताएका छन् । यस्ता कन्सलटेन्सीहरुमा सबैभन्दा धेरै विद्यार्थी ठग्नेमा एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेस र मर्सि एजुकेसन भएको विद्यार्थीको भनाइ छ । यस्तै, ठगी गर्ने अन्य कन्सल्टेन्सीहरुमा अल्फाबिटा, कंगारु एजुकेसन, डल्फिन, एबिसी माइग्रेसन एन्ड एजुकेसन, काठमान्डु इन्फोसिस र कैलाश एजुकेसन लगायतका रहेका छन् । यी काठमाडौंका ठूला कन्सलटेन्सी हुन् । विद्यार्थीहरुलाई विदेश पठाएर उनीहरुले करोडौं कमाइसकेका छन् । तर, अहिले विद्यार्थी बिचल्लीमा परेपछि उनीहरु केही बोलेका छैनन् । यस्तो अवस्थामा इक्यान समेत चुप छ । किनकी इक्यानकै पूर्व अध्यक्षहरुको कन्सलटेन्सी समेत अहिले ठगी प्रकरणमा मुछिएको छ । पीडितका परिवारहरु प्रहरीमा जाने तयारीमा छन् ।


नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का ब्रान्ड एम्बेस्डर रहेको एक्सपर्ट भिसा एण्ड एजुकेशन सर्भिसले २ सय भन्दा धेरै विद्यार्थी सो कलेजमा पठाएको थियो । सो कन्लटेन्सीका सञ्चादलक सञ्जिव शर्मा हुन् । जो अष्ट्रेलियाका धनी नेपालीमध्येमा पर्दछन् ।
त्यस्तै मर्सी, कंगारु, अल्फाबिटा, काठमाडौं इन्फोसिस, इम्पल्स, सनराइज, एनमार्क पोखरा, मोडल ग्लोबल, एबीसीलगायत दर्जनौँ कन्सल्टेन्सीलाई छानबीन गर्नुपर्ने माग बढेको छ । मर्सि एजुकेशन कन्सल्टेन्सीबाट दर्जनौँ संख्यामा एआइबिटि कलेज पुगेको बताइन्छ । राम तन्डन क्षेत्री नामक व्यक्ति उक्त कम्पनिको अध्यक्ष रहेका छन् ।
इक्यानका नेता महेशबाबु तिमिल्सना सञ्चलक रहेको कंगारु एजुकेशनले पनि ठगी गरेको छ । काठमाडौं इन्फोसिस इक्यानकै नेता राजेन्द्र रिजालको कन्सलटेन्सी हो । त्यस्तै द्विराज शर्मा सञ्चालक रहेको अल्फाबिटाबाट अष्ट्रेलिया गएकाहरु समेत समस्यामा परेका छन् ।

करोडौं कमाई
कन्सलटेन्सीका सञ्चालकहरुको कमाई आश्चर्यजनक छ । उनीहरुले भाषा पढाएर र परामर्श गरेर पैसा कमाएका होइनन् । विदेशका कलेजमा विद्यार्थीको ‘तस्करी’ गरेर कमाएका हुन् ।
जून कलेजमा उनीहरुले विद्यार्थी पठाउँछन्, ती कलेजबाट उनीहरुले पैसा लिने गरेका छन् । नेपाली विद्यार्थीहरु तान्नकै लागि अष्ट्रेलिया लगायत देशमा कमसल कलेजहरु खुलिरहेका छन् । उनीहरुको नेपालका कन्सलटेन्सीसँग साँठगाँठ रहेको छ । विद्यार्थीसँग कलेजले चर्काे मूल्य लिने र त्यसको कमिसन कन्सलटेन्सीहरुलाई दिने गरेका छन् । यसरी करोडौं कमाउने कन्सलटेन्सीहरुले कर भने तिर्दैनन् । भाषा पढाईबाट मात्र आम्दानी भएको देखाएर उनीहरुले विदेशबाट आउने पैसा लुकाउने गरेका छन् ।

आईजिपीको अभियान रोकियो
सर्वेन्द्र खनाल महानगरीय अपराध महाशाखाको प्रमुख हुँदा दर्ता नभएका कन्सलटेन्सीमाथि कारबाही गरेका थिए । त्यसका सञ्चालकहरुलाई नै उनले पक्राउ गरे । त्यसपछि कन्सलटेन्सी क्षेत्रमा केही सुधार भएको थियो । धेरै कन्सलटेन्सी दर्ता पनि भए ।
तर, अहिले न प्रहरीले चासो दिएका छ न त शिक्षा मन्त्रलायले नै अनुगमनमा चासो दिएको छ । कतिसम्म भने अहिलेसम्म यससम्बन्धि कानून समेत बनेको छ । धरौटी राख्नुपर्ने लगायतको नयाँ निर्देशिका बनाइएकोमा कन्सलटेन्सीहरुले नै लबिङ गरेर त्यसलाई रोकेका थिए । सोही कारण यो क्षेत्रमा बिकृती बढेको छ । जसकारण गरिब नेपालीका छोराहरु लाखौं खर्च गरेर विदेश पुग्दा ठगिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्