Logo
Logo

सिआइबीको ध्यान कमिसनमा


दृष्टि संवाददाता


काठमाडौं । गम्भीर किमिसका अपराधको अनुसन्धान गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) पछिल्लो समय चेक बाउन्सका मुद्दामा केन्द्रीत भएको छ । चेक बाउन्ससम्बन्धि मुद्दामा अदालतले दोषी ठहर गरेकाहरुलाई पक्राउ गर्नु सिआइबीको धन्दा हुँदै आएको छ ।

चेक बाउन्स लेनदेनसम्बन्धि मुद्दा भएपनि पछिल्लो समय बैंकिङ कसुरमा अभियोग दर्ता हुने गरेको छ । यस्ता मुद्दामा चेक नै सबैभन्दा ठूलो प्रमाण हुने गरेको छ । ९९ प्रतिशत मुद्दामा उच्च अदालतले दोषी ठहर गरेको तथ्याङक छ । उपत्यकामै हरेक दिन यस्ता २÷३ वटा मुद्दा दर्ता हुने गरेको छ । हाल पुराना मुद्दाको धमाधम फैसला भइरहेको छ । ती फैसला खोज्दै सिआइबीले यस्ता मुद्दामा अभियुक्तहरुलाई धमाधम पक्राउ गरिरहेको छ ।

सिआइबीले आइतबार मात्र ललितपुरका पूर्ण लामालाई पक्राउ गरेको छ । उनलाई २० लाख जरिवाना र १५ दिन कैद सजाय भएको थियो ।

गत साता महेन्द्रनारायण श्रेष्ठ र लाक्पा लामालाई पक्राउ ग¥यो । श्रेष्ठलाई २० लाख तथा लामालाई १० लाख ३५ हजार जरिवाना तोकिएको थियो । दुवैलाई ४÷४ दिन मात्र कैद सजाय भएको छ ।

त्यस्तै एक महिना कैद र एक करोड ८६ लाख जरिवाना सुनाइएका उपेन्द्र ढुंगाना पनि गत साता पक्राउ परे । ९ लाख ५० हजार जरिवाना र दुई दिन कैद सजाय सुनाइएका विजयकुमार श्रेष्ठलाई ब्यूरोले २ चैतमा पक्राउ गरेको थियो ।

अदालतले दोषी ठहर गरी फरार रहेका अपराधी पक्राउ गर्ने अभियान अन्र्तगत सिआइबीले उनीहरुलाई पक्राउ गरेको हो । जबकि अदालतले दोषी गरेका गम्भीर मुद्दाका अपराधी पक्राउ पर्न सकेका छैनन् । चेक बाउन्स मुद्दामा परेकाहरु नभाग्ने भएकाले उनीहरुलाई पक्राउ गर्न प्रहरीलाई सजिलो छ । अझ सिआइबीले यसमा चासो दिनुका पछाडी कमिसन मुख्य कारण भएको बताइन्छ । यसरी फरारलाई पक्राउ गर्दा उनीहरुलाई तोकिएको जरिवानाको २५ प्रतिशत कमिशन प्रहरीले पाउँछ । सोही कमिसनका लागि सिआइबी गम्भीर मुद्दा छाडेर पछिल्लो समय चेक बाउन्सका मुद्दाको पछि लागेको छ । यसले सिआइबीको छवीमा भने धक्का लागेको छ ।

प्रतिक्रिया दिनुहोस्