Logo
Logo

संसदको तिरस्कार र अपमानको बदला जनताले लिनेछन् : गगन थापा


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदसँग बदला लिइरहेको आरोप नेपाली कांग्रेस नेता गगन थापाले लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै थापाले भने, ‘जति दिन यो सरकार रहन्छ, संसद्को तिरस्कार, अपमान र उपेक्षा गर्ने काम बढ्दै जान्छ । किनकि, प्रधामनामन्त्रीलाई यो संसदसँग बदला लिनु छ।’

आफूले गरेको प्रतिनिधि सभा विघटन ठीक रहेको स्थापित गर्न उनले अनेक प्रपञ्च गरिरहेको आरोप प्रनिनिधि सभा बैठकमा बोल्दै थापाले लगाए। उनले भने, ‘अहिले प्रतिनिधी सभा भंग गर्ने सनक सही थियो भन्ने स्थापित गर्न संसदलाई कामविहीन बनाउने प्रपञ्च उहाँले गर्नुभएको छ।’

आफू संसद्‍मा काम गर्न तयार रहेको तर सरकारले काम नदिएको तथ्य उनले उजागर गरे। उनको प्रश्न छ, ‘एसिड आक्रमण गर्नेलाई सजाय दिन कानुन बनाउन दिइएन भनेर हल्ला गर्ने तर संसदलाई एउटा पनि विधेयक नदिने? कानुन बनाउनका लागि चाहिने राष्ट्रिय सभाको बैठक पनि नबोलाउने?’

उनले कहिले प्रश्न छल्न हठात् बैठक स्थगित गर्ने गरेको र कहिले पार्टीभित्रको विरोधी तह लगाउन प्रतिनिधि सभा विघटन गरेका उदाहरण पनि प्रस्तुत गरे। सांसदहरु संसद्को गरिमा कायम राख्न डट्नुपर्ने उनको भनाइ छ। त्यसपछिको जिम्मा जनतामा छाड्नुपर्ने उनले बताए।

‘जनताले यसको हिसाबकिताब गर्नेछन्,’ उनले भने, ‘ यो संसद् र सांसदको अपमान यो लोगो लगाउने केहीको अपमान तिरस्कमार र उपेक्षा होइन । यो ती जनताको अपमान हो जसले संसद बनाए, जसले सांसद बनाएको छ हामीलाई । यसको बदला जनताले लिनेछन् ।’

प्रतिक्रिया दिनुहोस्