Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : नेपालमा पुनः कोरोनाको त्रासदेखि संसदलाई विजनेश नदिएकोमा सांसदको आक्रोशसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. भारतमा कोरोना संक्रमण फैलिएसँगै नेपालमा पनि बढ्यो दोस्रो लहरको संक्रमणको जोखिम, कञ्चनपुरमा कोरोना भाइरसको त्रास बढेसँगै आंशिक निषेधाज्ञा, होली लगायत कुनै मेला, पर्व, जात्राका अवसरमा महोत्सव, भीडभाड वा जुलुस गर्न नपाइने, वीरगञ्जमा पनि २५ जनाभन्दा बढी जम्मा नहुन प्रशासनको निर्देशन, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन ७७ वटै जिल्लालाई गृह मन्त्रालयको परिपत्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा १० बुँदे निर्देशन जारी ।

२. नेकपा एमाले महासचिव ईश्वर पोखरेलले पठाएको स्पष्टीकरण पत्रबाट नतर्सिएको माधव नेपाल समूहका नेताको तर्क, कुनै पनि हालतमा अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसमर्पण नगर्ने नेपालको अडान, सक्कली एमाले आफू भएको दावी, राजतन्त्र फर्काउन ओली गुपचुप ढंगले अघि बढीरहेको नेपालको आरोप ।

३. प्रतिनिधिसभालाई काम नदिएकोप्रति सांसदहरूको आक्रोश, शुन्य समयमा सरकारले प्रतिनिधिसभा सँग ‘बदला लिएको’देखि ‘घाँटी निमोठेको’सम्मको टिप्पणी, संसदको समस्याबारे छलफल गरी समाधानतर्फ अघि बढ्नुपर्नेमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको भनाइ ।

४. सत्ता सहकार्यको विषयलाई लिएर सत्तारुढ नेकपा एमाले र जनता समाजवादी पार्टीबीच मंगलबार छलफल, सहमति जुटाउन गठिन कार्यदलका सदस्यसमेत सहभागी छलफल बिना निष्कर्ष बिहीन, जसपाले राखेको मागका विषयमा छलफल भए पनि सहमति भने जुटिनसकेको नेताहरुको भनाइ, एमालेका अध्यक्ष केपी शर्मा ओली जसपाको मागप्रति सकारात्मक भएको दावी ।

५. बंगलादेशको दुई दिने राजकीय भ्रमण सकाएर राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता, भ्रमण फलदायी भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको दावी, ऊर्जा व्यापारको लागि द्विपक्षीय सहकार्यलाई अघि बढाउने, द्विपक्षीय व्यापारको प्रवर्द्धन गर्ने र व्यापारलाई सन्तुलित बनाउने विषयमा छलफल भएको जानकारी ।

६. सरकारको पछिल्लो गतिविधि पुनः प्रतिनिधिसभा विघटन उन्मुख रहेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकको निष्कर्ष, संविधान र संसदको रक्षा गर्नुपर्नेमा नेताहरूको जोड, नेकपा खारेजको फैसलाविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने, कानूनविद्ले सोही किसिमको राय दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाइ ।

७. संवैधानिक परिषदको बैठक बस्न नसक्दा आजदेखि लोक सेवा आयोगको पदाधिकारीको पद रिक्त, आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीसहित पाँचजना पदाधिकारीको मंगलबार पदावधि सकियो, पद रिक्त भएसँगै आयोगको सूचना, विज्ञापन, लिखित नतिजा प्रकाशन, अन्तर्वार्ता, सिफारिस, बढुवा लगायतका काम ठप्प, बैठक बस्ने अझै कुनै टुंगो छैन ।

८. मंगलबार शेयर बजारमा नेप्से परिसूचक १४.५७ अंकले बढ्यो, ३४ अंकले घटेको बजारमा नेप्से परिसूचक दोहोरो अंकले वृद्धि, एक करोड २७ लाख ६ हजार ७ सय १० कित्ताको किनबेचमा ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १ सय ६९ रुपैयाँ बराबरको कारोबार, सिंगटी हाइड्रो इनर्जी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओमा अन्तिम दिन मंगलबार साँझ सम्ममा ९ गुणा भन्दा धेरै आवेदन, २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन ।

९. थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलमा बंगलादेशले विजयी सुरुवात, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार किर्गिस्तानको यू–२३ टिमलाई १–० ले पराजित गर्दै बंगलादेश विजयी, नेपालले बिहीबार पहिलो खेल खेल्ने, नेपाली खेलाडीको ३० गोलको मद्दतमा मासा युनाइटेडले पाकिस्तानमा जारी नेसनल वुमन्स च्याम्पियनसिपमा कराँची एफसीको पोष्टमा गर्यो ३५ गोल ।

१०.र, भारतमा थप ४० हजारमा कोरोना संक्रमण, दुई सातामा डेढ लाख सक्रिय संक्रमित बढे, मध्यप्रदेशका मुख्य शहरमा पुनः लकडाउन, अनावश्यक काम बाहेक घरबाट निस्किए पक्राउ गर्नेसम्मको प्रहरीलाई अधिकार, अमेरिकाको कोलोराडोमा अन्धाधुन्ध गोली प्रहार, एक प्रहरीसहित १० जनाको मृत्यु, यमनमा जारी युद्ध अन्त्यका लागि साउदीद्वारा शान्तिको प्रस्ताव, म्यानमार जारी सैन्य कु विरुद्धको प्रदर्शनमा ज्यान गुमाएकाको सम्झनामा मैनबत्ती जुलुस निकालियो ।

 

प्रतिक्रिया दिनुहोस्