Logo
Logo

स्वास्थ्यका सबै मापदण्ड लागु गर्न गृहको मातहतलाई निर्देशन


दृष्टि संवाददाता


काठमाडौं । छिमेकी मुलुक भारतमा दोस्रो लहरको कोरोना संक्रमण फैलिन थालेपछि नेपालमा पनि सचेतना अपनाउने सरकारले तयारी गरेको छ । गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै स्वास्थ्यका सबै मापदण्ड अनिवार्य लागू गर्न निर्देशन दिएको हो ।

गृहले परिपत्रमा संक्रमण फैलिन नदिन भिडभाडमा रोक लगाउने, सभा, जुलुस गर्न नपाउने र आइसोलेसन तथा क्वारेन्टिनहरु तयार अवस्थामा राख्न भनेको छ ।

जिल्ला कोभिड व्यवस्थापन र रोकथाम तथा नियन्त्रणसम्बन्धी काम प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले गर्छ । संघमा भने संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) यससम्बन्धी निर्णय गर्न सरकारलाई सुझाव दिने उच्चस्तरीय संयन्त्र हो । तर यो केही समयदेखि निष्क्रिय जस्तै रहेको छ ।

कोरोना महामारी उच्च रहेका बेला विद्यालय, अन्य शैक्षिक संस्था, सरकारी भवन लगायतलाई क्वारेन्टिन र आइसोलेसन बनाइएको थियो । गृहले तयारी हालतमा राख्न सकिने क्वारेन्टिन र आइसोलेसनको विवरण पनि पठाउन जिल्ला प्रशासनलाई निर्देशन गरेको छ ।

गृहले होटल रेस्टुराँ, डान्सक्लब, पार्टीलगायत रात्रिकालीन व्यवसाय सञ्चालनमा जोखिम हेरेर मापदण्ड हेरफेर गर्ने अधिकार प्रशासनलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्